असारदेखि भदौसम्म सडक खन्न रोक, सडक विभागको कडा निर्देशन

228
shares

काठमाडौँ वर्षायाममा सडक खन्ने कार्यका कारण सडकको अवस्था थप बिग्रिने र सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने भएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले शनिबार सार्वजनिक सूचना जारी गर्दै वर्षायामभर सडक खन्न रोक लगाउने निर्णय गरेको जनाएको हो।

कार्यालयका अनुसार धारा, ढल, विद्युत्, टेलिफोनलगायतका पूर्वाधार विस्तार वा मर्मतका लागि सडक खनेपछि वर्षायाममा तत्काल पुनः मर्मत गरी पूर्वावस्थामा फर्काउन कठिन हुने भएकाले सडकमा थप क्षति पुग्ने जोखिम बढ्छ।

जारी सूचनाअनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गतका सडक डिभिजनहरूको कार्यक्षेत्रमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति प्रदान गरिने छैन।

कार्यालयले अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। सडक संरक्षण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न सबै सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग आवश्यक रहेको पनि कार्यालयले जनाएको छ।

civil hospital
Hams Hospitals