सिंहदरवारका कर्मचारीले दिन थाले राजीनामा
वि.सं.२०८३ असार २ मंगलवार
shares
काठमाडौं । सरकारले लागू गरेका नयाँ व्यवस्था तथा कर्मचारीप्रति गरिएको व्यवहारले सिंहदरबारमा कार्यरत केही कर्मचारीले राजीनामा दिन थालेका छन् । विशेषगरी उमेरहद, सेवाको उत्तरार्धमा परेको प्रभाव तथा प्रशासनिक व्यवस्थापनका कारण कर्मचारीहरू जागिर छाड्ने निर्णयमा पुगेको सम्बन्धित कर्मचारीहरूको भनाइ छ ।
केही कर्मचारीले दलीय राजनीतिक गतिविधिमा संलग्न कर्मचारीमाथि सरकारले कडाइ गरेपछि आफूहरू असुरक्षित महसुस गरेको र संरक्षणको अभाव देखिएको भन्दै पनि राजीनामा दिन थालेको हुन् ।
सरकारले केही दिन अघि दलीय संगठनमा आवद्ध भएका बीस जना भन्दा धेरै कर्मचारीलाई डाँडा कटाएको थियो । सरुवा गर्न पनि सहमति चाहिने संगठनको नियमावली भएको भन्दै केही कर्मचारीले अटेर गरेका थिए । तर, उनीहरुको केही जोड चलेन । त्यसकारण पनि संरक्षकको अभाव भएका भन्दै राजीनामा दिन वाध्य भएको उनीहरुले बताउने गरेका छन् ।
प्राप्त जानकारीअनुसार हालै विभिन्न मन्त्रालय र निकायका एक दर्जनभन्दा बढी कर्मचारीले सरकारसमक्ष राजीनामा बुझाएको बताइएको छ । राजीनामा दिनेहरूमा किताबखानामा कार्यरत उपसचिव शोभाकर न्यौपाने, एकराज कोइराला, अतिरिक्त दरबन्दीमा रहेका कास रामबहादुर कार्की, नासु पूर्णकुमारी शर्मा तथा नासु मञ्जु रेग्मी रहेका छन् ।
यसैबीच, स्थानीय तहका नगरपालिका तथा गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृतहरू पनि राजीनामा दिने तयारीमा छन् ।




























