सरकारी भवनभित्र बसेका ट्रेड युनियनमाथि प्रशासनको कडा प्रहार ! ७ दिनभित्र कार्यालय खाली नगरे कानुनी कारबाही हुने चेतावनी
वि.सं.२०८३ असार २ मंगलवार
shares
काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी तथा सार्वजनिक निकायभित्र जरा गाडेर बसेका कर्मचारीसम्बद्ध ट्रेड युनियन तथा पेशागत संघसंस्थामाथि कडा कदम चाल्दै सात दिनभित्र कार्यालय खाली गर्न र साइनबोर्ड हटाउन अल्टिमेटम दिएको छ।
सोमबार जारी गरिएको सूचनामार्फत प्रशासनले सरकारी भवन तथा संरचनालाई गैरसरकारी प्रकृतिका संगठनहरूको कार्यालयका रूपमा प्रयोग गर्न नपाइने स्पष्ट गर्दै केन्द्रीय, प्रदेश, जिल्ला तथा सम्पर्क कार्यालय सञ्चालन गरिरहेका सबै संघसंस्थालाई तत्काल स्थान खाली गर्न निर्देशन दिएको हो।
प्रशासनले सरकारी सम्पत्तिको दुरुपयोग कुनै हालतमा सह्य नहुने भन्दै तोकिएको समयसीमाभित्र कार्यालय अन्यत्र स्थानान्तरण गर्न र भवनभित्र राखिएका साइनबोर्डसमेत हटाउन आदेश दिएको छ।
सूचनामा सात दिनभित्र निर्देशन कार्यान्वयन नभए कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
सरकारी कार्यालयभित्र वर्षौंदेखि सञ्चालन हुँदै आएका कर्मचारी संगठनहरूलाई लक्षित गर्दै आएको यो निर्णयलाई प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनी व्यवस्थाको कार्यान्वयनतर्फको कडा कदमका रूपमा प्रस्तुत गरेको छ।




























