कक्षा १२ को नतिजा सार्वजनिक: ६९.७५% विद्यार्थी उत्तीर्ण, १७ हजार ७८६ जनाले ल्याए ३.६१–४.० जीपीए
वि.सं.२०८३ असार ५ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहान सार्वजनिक गरिएको हो।
बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन्। यससँगै नियमिततर्फको उत्तीर्ण प्रतिशत ६९.७५ पुगेको छ।
यस्तै, नियमिततर्फ १ लाख ४ सय ७१ विद्यार्थीले एनजी (नन ग्रेडेड) प्राप्त गरेका छन्, जुन कुल परीक्षार्थी संख्याको ३०.२५ प्रतिशत हो।
यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० विद्यार्थीले सफलता हासिल गरेका छन्। दुवैतर्फको समग्र उत्तीर्ण प्रतिशत ६४.३१ रहेको बोर्डले जनाएको छ।
परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न ४० जनाको परीक्षा रद्द गरिएको छ।
जीपीए अनुसार विद्यार्थी संख्या
- ३.६१ देखि ४.० जीपीए: १७,७८६ जना
- ३.२१ देखि ३.६० जीपीए: ६४,८२१ जना
- २.८१ देखि ३.२० जीपीए: ९४,२४९ जना
- २.४१ देखि २.८० जीपीए: ५०,५९७ जना
- २.०१ देखि २.४० जीपीए: ४,३०८ जना
- १.६१ देखि २.०० जीपीए: ९ जना
सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जीपीएको समूहमा रहेका छन्।
बोर्डले सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। दुई विषयसम्म एनजी प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन्। पूरक परीक्षाको समयतालिका छिट्टै सार्वजनिक गरिने बोर्डले जनाएको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सक्नेछन्।




























