एनआईसी बैंकका पूर्व सिईओ रोशन न्यौपाने पनि अनुसन्धानको घेरामा

522
shares

 

काठमाडौं ।बैंक तथा वित्तीय क्षेत्रमा भएका विकृति एकपछि अर्को सार्वजनिक हुन थालेको छ । बैंकको उच्च निकायमा बसेर अवैध काम गर्नेहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यसैवीच एनआइसी एसिया बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेमाथि अनुसन्धान तीव्र बनाइएको छ । वित्तीय, बैंकिङ तथा व्यावसायिक कारोबारसँग सम्बन्धित विषयमा उनको बदमाशी यसअघि पनि छरपष्ट भएको थियो । न्यौपानेमाथि भएका छानबिनका आधारहरू गहिरिँदै जाँदा उनी पक्राउ पर्ने सम्भावनासमेत बढेको चर्चा नियामकीय तथा वित्तीय वृत्तमा हुन थालेको छ ।

न्यौपानेको कार्यकालमा भएको कर्जा प्रवाह, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको अवज्ञा तथा विवादास्पद व्यावसायिक समूहहरूसँगको सम्बन्धबारे सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन् । विशेषगरी विवादित व्यवसायी दीपक भट्टसँग जोडिएका केही आर्थिक तथा व्यावसायिक गतिविधिबारे समेत छानबिन भइरहेको छ ।

 

नेपाल राष्ट्र बैंकले उनको नेतृत्वकालमा एनआइसी एसिया बैंकको व्यवस्थापन शैलीप्रति पटक–पटक खवरदारी गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र एकीकृत निर्देशन उल्लङ्घनका विषयमा राष्ट्र बैंकले नसियतदेखि कारबाहीसम्मका कदम चालेको थियो । नियामकीय चेतावनीका बाबजुद जोखिमपूर्ण कर्जा विस्तार र आक्रामक व्यापारिक रणनीतिलाई निरन्तरता दिइएको आरोप न्यौपानेमाथि लाग्दै आएको छ ।

न्यौपानेको कार्यकालमा ओभरभ्यालुएसनका आधारमा कर्जा स्वीकृत गर्ने, कमजोर परियोजनामा ठूलो लगानी गर्ने तथा बैंकको दीर्घकालीन स्थायित्वभन्दा तत्कालीन व्यापार विस्तारलाई प्राथमिकता दिने प्रवृत्तिले एनआइसी एसियालाई गम्भीर जोखिमतर्फ धकेलेको समाचार सार्वजनिक भएका थिए । पछिल्ला वर्षहरूमा बैंकको वित्तीय सूचकहरू कमजोर बन्दै जानु, खराब कर्जा बढ्नु तथा बजारमा साख खस्किनुका पछाडि त्यही व्यवस्थापन शैली जिम्मेवार रहेको आरोप छ ।

 

यसबीच बैंकिङ क्षेत्रबाट बाहिरिएपछि न्यौपानेले होटल, जलविद्युत् लगायत विभिन्न क्षेत्रमा गरेको लगानीको स्रोत र प्रकृतिबारे समेत सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेको छ । बैंकिङ सेवामा रहँदा प्राप्त पहुँच र त्यसपछिका व्यावसायिक विस्तारबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कोणबाट समेत छानबिन भइरहेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

 

बुढानीलकण्ठ क्षेत्रमा सार्वजनिक जग्गासम्बन्धी विवादमा समेत न्यौपानेको नाम जोडिएको थियो । न्यौपानेले पद र शक्तिको दुरुपयोग गरी सार्वजनिक जग्गा हडपेको व्यापक आलोचनापछि उनले उक्त जग्गाको केहि हिस्सा सरकारकै नाममा फिर्ता गरि सकेका छन् ।

civil hospital
Hams Hospitals