नेपालको व्यापार र लगानीको सम्भावना खोज्दै ल्हासामा बैठक

171
shares

 

काठमाडौं ।नेपालको व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका सम्भावनाबारे चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली महावाणिज्यदूतावास, ल्हासाले असार ११ गते सांग्रिला होटलमा आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रका सरकारी अधिकारी, लगानीकर्ता, व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिसहित ११३ जनाको सहभागिता रहेको थियो।
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिचाङ स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सिचाङ जनसरकारका उच्च अधिकारी, परराष्ट्र, पर्यटन, यातायात, उद्योग, वाणिज्य, भन्सार, अध्यागमन, सीमा सुरक्षा लगायतका निकायका प्रतिनिधि, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ व्यवसायी, नेपालसँग व्यापारमा संलग्न व्यापारी, ल्हासास्थित नेपाली व्यवसायी तथा पर्यटन व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रमको सञ्चालन उपवाणिज्यदूत दीक्षा महतले गरेकी थिइन् भने वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे प्रस्तुति दिएका थिए। यस अवसरमा तीनै क्षेत्रसँग सम्बन्धित प्रवर्द्धनात्मक भिडियोसमेत प्रदर्शन गरिएको थियो।
प्रमुख अतिथि चाओ पेङले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै दुई देशबीचका विषय संवादमार्फत समाधान हुँदै आएको बताए। उनले नेपाललाई चीनको असल मित्रको संज्ञा दिँदै दुवै मुलुकले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएको बताए। सिचाङ सरकारले महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्दै हालैको आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए। उनले नेपाललाई सुन्दर, शान्त र चीनको हितैषी देशका रूपमा चित्रण गर्दै चिनियाँ लगानीकर्ता र पर्यटकलाई नेपालमा लगानी, व्यवसाय र भ्रमणका लागि आह्वान गरे।
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमले चिनियाँ सरकार तथा लगानीकर्तामाझ नेपालको व्यापार, पर्यटन र लगानीका अवसरबारे सकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले चीनको केन्द्र सरकार, सिचाङ सरकार र चिनियाँ जनताबाट नेपालले प्राप्त गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।
उनले सातौँ शताब्दीमा राजकुमारी भृकुटी र बाह्रौँ शताब्दीमा अरनिकोले स्थापित गरेको नेपाल–चीन सम्बन्ध विश्वास, सहयोग र सद्भावमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक–चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे। उनले चीन सधैँ नेपालको हितैषी र विकास साझेदार रहेको बताए।
यसअघि कार्यक्रमस्थलमै कार्यकारी उपाध्यक्ष चाओ पेङ र महावाणिज्यदूत निरौलाबीच शिष्टाचार भेटवार्ता पनि भएको थियो। भेटमा महावाणिज्यदूत निरौलाले चीनको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै हालै सम्पन्न उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको बताए। उनले सीमा क्षेत्रमा पूर्वाधार विकास, आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, तिब्बतमा बसोबास गर्ने नेपालीको व्यवसाय र आवतजावत सहज बनाउने, नेपालीलाई भिसा तथा तिब्बत प्रवेश अनुमतिमा थप सुविधा उपलब्ध गराउने विषय उठाएका थिए।
साथै उनले ल्हासास्थित ऐतिहासिक सरस्वती मन्दिर र सिगात्सेस्थित नेपाली शैलीमा निर्मित भीमसेन मन्दिरको जीर्णोद्धारमा सहयोग गर्न आग्रह गरेका थिए।
जवाफमा कार्यकारी उपाध्यक्ष चाओ पेङले नेपाल र सिचाङबीच हिमालय र नदीले जोडिएको सीमा जस्तै दुई पक्षबीचको सम्बन्ध पनि बलियो रहेको बताए। उनले सिचाङमा संसारकै एकमात्र विदेशी कूटनीतिक नियोगका रूपमा नेपाली महावाणिज्यदूतावासको विशेष भूमिका रहेको उल्लेख गर्दै सीमा व्यवस्थापनमा सहयोग गर्न चीन तयार रहेको बताए। उनले सरस्वती र भीमसेन मन्दिरको संरक्षण तथा जीर्णोद्धारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको र त्यस सम्बन्धमा नेपालको औपचारिक जवाफको प्रतीक्षा गरिरहेको जानकारी दिए।

civil hospital
Hams Hospitals