१५ होइन, ५७ पटकको छापामा ३.५१ करोडका अवैध सामग्री फेला
वि.सं.२०८३ असार १६ मंगलवार
shares
रसुवा । चीनसँग जोडिएको रसुवा नाकाबाट हुने अवैध आयात तथा राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायले कडा अभियान चलाउँदा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ३ करोड ५१ लाख ७६ हजार ४ सय २० रुपैयाँ बराबरका अवैध सामग्री बरामद भएका छन्।
रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त कारबाहीमा भन्सारले १५, नेपाल प्रहरीले १९ र सशस्त्र प्रहरीले २३ गरी ५७ पटक छापा तथा विशेष जाँच सञ्चालन गर्दै ठूलो परिमाणमा अवैध सामग्री नियन्त्रणमा लिएको हो।
बरामद सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप र चिनियाँ चुरोटलगायतका सामान रहेका छन्। बरामद वस्तुमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार सुरक्षाकर्मीले प्रारम्भिक मूल्याङ्कन बजार मूल्यका आधारमा गरे पनि अन्तिम मूल्य खाद्य गुण नियन्त्रण परीक्षण, अन्तर्राष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयपछि कायम गरिनेछ। बिक्रीयोग्य सामान लिलाम गरिने र उपभोगका लागि अयोग्य सामग्री कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिने व्यवस्था रहेको उनले बताए।
जिल्ला प्रहरी प्रमुख अशोक थापाले गस्ती, सवारीसाधन जाँच र प्राप्त सूचनाका आधारमा अवैध सामान नियन्त्रण गर्ने अभियानलाई थप कडाइका साथ निरन्तर सञ्चालन गरिएको बताए।
यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्सलाई नै चिनियाँ चुरोट तस्करीको माध्यम बनाइएको घटना पनि सार्वजनिक भएको छ। आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्समा चुरोट लुकाएर ओसारपसार गरेको आरोपमा चालकलाई गत चैत ६ गते बेत्रावतीबाट प्रहरीले पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा भएपछि चालक धरौटीमा रिहा भएको र एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयले सीमा क्षेत्रमा हुने अवैध आयात, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निकायसँगको संयुक्त निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने स्पष्ट पारेको छ।



























