मन्त्रीकै नाम बेचेर मौलापुरका प्रशासकीय अधिकृत बेपत्ता

507
shares

 

काठमाडौं।रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे बेपता भएका छन । तीनमहिना (९० दिन) देखी मौलापुरमा कार्यरत घिमिरे २० दिनभन्दा बढी कार्यालयमा हाजिर भएका छैनन् ।

 

अधिकांश समय कार्यालय बाहिर घुमफिरमा रमाउने घिमिरेले भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नै मिलाएर मौलापुरमा आएकाले सधै कार्यालय गइराख्नु नपर्ने भन्दै कार्यालय जादैनन् ।

 

अहिले विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएपछि स्थानीयले गुनासो पोख्न थालेका छन् । स्थानीय सेवाग्राहीले ‘हाकीम साहेब खोई’ भन्दै घिमिरेलाई खोजी गरिरहेका छन् । २०८२ साल चैत्र १६ गते मौलापुर नगरपालिकामा सरुवा भई गएका घिमिरे त्यसयता आजसम्म २० दिनभन्दा बढी कार्यालयमा हाजिर भएका छैनन् ।

 

‘मौलापुरको हाकिम अहिलेसम्म लापता छ, यसको जवाब कसले दिने ? चैत्र १६ गते सरुवा भई आएका उपसचिव सुरेशबाबू घिमिरे अहिले सम्म ऑफिसमा जम्मा २० दिन मात्र आएको छ । बिना जानकारी महिनौं लापता हँुदा सरकार मौन किन ? के यही हो, बालेन सरकारको सुशासन ? होईंन भन्ने यस्ता कर्मचारीलाई तुरुन्त कारवाही गर । बिना जानकारी महिनौ लापता हुने यस्ता कर्मचारीलाई पुरस्कार की कारवाही ? यसमा सरकार गम्भिर बन्न आवश्यक छ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई नै मिलाएर आएकाले सधै कार्यालय जानुपर्दैन भन्दै धाक देखाउँदै वेपता हुने यस्ता कर्मचारीलाई संरक्षण दिने मन्त्रीमाथि पनि गम्भिर प्रश्न उठिरहेको छ । सुशासन ल्याउँन खोज्ने वालेन सरकारको सुशासनको नै धज्जी उडाउने मन्त्री प्रतिभा र कर्मचारी सुरेशबाबुलाई सरकारले नै कारबाही गर्न आवश्यक छ,’ स्थानीय सुरेन्द्र कुशवाहाले भने ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव घिमिरे कार्यालयमा उपस्थित भएर काम गर्नुको साटो कहिले सिंहदरबारमा त कहिले जिल्लिा बाहिर बसेर सुशासनको धज्जी उडाई स्थानीयले बताउँछन् ।

 

तर घिमिरे अहिलेसम्म २० दिनभन्दा बढी कार्यालयमा उपस्थित भएका छैनन् । उनी कार्यालयमा उपस्थित भएर तोकिएको जिम्मेवारी पुरा गर्नुको साटो प्रधानमन्त्री वालेन शाहको सुशासनलाई नै चुनौति दिएका छन् । घिमिरे कार्यालयमा उपस्थित नहुने, तोकिएको काम नगर्ने लगायतका बारेमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल जानकार भए पनि दुवै मिलेर वालेन सरकारको सुशासनको धज्जी उडाउन लागि परेका छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव एकदेव अधिकारीले कार्यालयमा उपस्थित नहुने, कार्यालयको काम कारवाहीमा हेलचेक्रयाई गर्ने, बदनाम गर्ने काम गर्ने वा तोकिएको जिम्मेवारी पुरा नगर्नेलाई मन्त्रालयले उन्मुक्ति नदिने बताए । तर काम गर्ने वातावरण स्थानीयले समेत मिलाइदिनुपर्ने बताउदै उनले मनोमानी गर्ने कर्मचारीलाई मन्त्रालयले कानून अनुसार कारबाही गर्ने प्रवक्ता अधिकारीले बताए ।

 

यता प्रशासकीय अधिकृत घिमिरे वेपता भएपछि खोजी गरिदिन भन्दै स्थानीय सेवाग्राहीले माग गरेका छन् । सेवाग्राहीको दबाब सहन नसकेपछि मौलापुरले अर्को प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन भन्दै मन्त्रालयलाई पत्र नै लेख्नुपरेको छ ।

 

असार १५ गते मौलापुरका मेयर रिनाकुमारी साहले सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै अर्को प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन अनुरोध गरेकी छन् । यसअघि मेयर साहले जेठ ११ गते एक पत्र लेख्दै सामान्य प्रशासन मन्त्रीलाई गैरजिम्मेवार कर्मचारीले तोकिएको कानून अनुसार काम नगरेकाले आवश्यक सहजिकरण गरिदिन अनुरोध गरेको थियो । तर सामान्य प्रशासन मन्त्रालयले कुनै चासो दिएको छैन् । यसआधारमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले प्रशासन मन्त्रीलाई नै मिलाएर आएको भन्दै देखाउने गरेको धाकधम्की ठिकै होला भन्ने अनुभुती स्थानीयको छ ।

 

मौलापुरका मेयर साहले कानून अनुसार तोकिएको जिम्मेवारी पुरा नगरी गैरजिम्मेवार भई सधै बाहिर बस्ने र कार्यालय नआउने कर्मचारीका कारण अहिले पालिकालाई लथालिंङ बनाउने काम भइरहेको बताइन । ‘मसंग अनुमति लिनु त परको कुरा मलाई थाहा पनि छैन । अरुबाट सुनिरहेको छु उहाँ (सुरेशबाबु) विदामा हुनुहुन्छ । अहिलेको निर्णायक समयमा यसरी विदामा बस्नु भनेको नगरपालिकालाई लथालिंङ बनाउने दुशित मानसिक्ता छ,’ मेयर साहले भनिन् ।

 

प्रशासकीय अधिकृत घिमिरे लुकीलुकी बस्ने, कार्यालयमा उपस्थित नहुने, सर्वसधारणको समस्या समाधान नगर्ने, नगरपालकाको बजेट कार्यान्वयनलाई असफल बनाउने काममा लागेको मौलापुरका जनप्रतिनिधि नै बताउँछन् । नगरपालिकाको लोकप्रिय कार्यक्रमहरु निःशुल्क बिजुली, निःशुल्क पानी, छोरीसँग मेयर कार्यक्रम जस्ता जनमुखी योजनाहरूको भुक्तानी माथिको आदेश भन्दै प्रशासकीय अधिकृत घिमिरेले रोक्ने षडयन्त्र गरेपछि स्थानीय सेवाग्राही आन्दोलित छन् ।

 

प्रशासकीय अधिकृत घिमिरे कार्यालयमा उपस्थित नभएर बेपता भएपछि मेयर साहले यस अघि तीन दिने स्पष्टीकरण सोधेकी थिईन् । २५ जेठमा सोधिएको स्पष्टीकरणको बोधार्थ सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय गौरलाई समेत जानकारी एवं आवश्यक कार्यार्थका लागि उल्लेख गरिएको थियो ।

 

नगरपालिकामा हाजिर भए पश्चात विदा स्वीकृत नगराई लामो समयसम्म घिमिरे कार्यालयमा अनुपस्थित रहदै आएको, नगरसभाबाट स्वीकृत नगर गौरव लगायतका योजनाहरु कार्यान्वयन तर्फ तत्परता नदेखाएका कारण नगरपालिकाबाट हुने सेवा प्रवाहमा गम्भीर असर परेको लगायतका कारण देखाउदै सोधिएको स्पष्टीकरणको बारेमा सामान्य प्रशासन मन्त्री रावललाई बोधार्थ गर्दा समेत कुनै चासो नदिएको देखिएको छ ।

 

स्पष्टीकरण सोध्नुभन्दा अघि ११ जेठमा मेयर साहले सामान्य प्रशासन मन्त्रालयलाई सहजिकरण गरिदिन पत्र समेत लेखेकी छन् । प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुने, कार्यालयको काम पनि नगर्ने सहितका व्यवहोराबाट आजित मेयर साहले सम्पूर्ण विवरण खोलाई सहजिकरण गरिदिन मन्त्री रावललाई पत्राचार गर्दा समेत कुनै वास्ता गरिएन ।

civil hospital
Hams Hospitals