कानुनमाथि खुला चुनौती ! गाउँपालिकाभित्रै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

330
shares

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आफ्नै कार्यकक्षभित्र प्रवेश गरेर निर्माण व्यवसायीको समूहले सामूहिक कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सरकारी कार्यालयभित्रै भएको यो आक्रमणले सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरीका अनुसार निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूह आज बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमा पुगेको थियो। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर सामूहिक रूपमा हातपात गरेका थिए।

चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। कुटपिटबाट घाइते भएका बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार गरिएको छ। उनको शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।

गाउँपालिकाका कर्मचारीका अनुसार आक्रमणको पृष्ठभूमि खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दासँग जोडिएको छ। उक्त मुद्दामा जिल्ला अदालत चितवनले हिजो गाउँपालिकाको पक्षमा फैसला गरेपछि त्यसैको आक्रोशमा आक्रमण भएको दाबी गरिएको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै किंगफिसर कन्स्ट्रक्सनका निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको टोलीले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा आक्रमणकारीहरूले ज्यान मार्ने मनसायले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने धम्की दिएको उल्लेख गरिएको छ।

यद्यपि, प्रहरीले घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा धम्कीसम्बन्धी दाबीको सत्यता अनुसन्धानबाट खुल्ने जनाएको छ।

सरकारी कार्यालयभित्रै उच्च तहका कर्मचारीमाथि भएको यो आक्रमणले कानुन कार्यान्वयन, सार्वजनिक सेवामा खटिएका कर्मचारीको सुरक्षा तथा राज्यको अधिकारमाथि नै चुनौती दिएको भन्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग उठ्न थालेको छ।

civil hospital
Hams Hospitals