अर्घाखाँचीको चुनढुंगा खानी : उद्योग, रोजगारी र जिल्लाको समृद्धिको आधार
वि.सं.२०८३ असार १८ बिहीवार
shares
काठमाडौं।अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–७, खाँचीकोट–तीनपाने क्षेत्रमा अवस्थित चुनढुंगा खानी भुर्गभ सिमेन्ट लिमिटेडको मुख्य कच्चा पदार्थको स्रोत हो। यो खानी २०५६ सालदेखि नेपाल सरकारबाट प्राप्त भोगाधिकार तथा सम्बन्धित निकायहरूको स्वीकृतिअनुसार सञ्चालन हुँदै आएको छ। यही खानीको कारण जिल्लामा उद्योग स्थापना भएको छ, स्थानीय युवाले रोजगारी पाएका छन् र राज्यले करोडौं रुपैयाँ राजस्व प्राप्त गरेको छ।
२०७६ सालयता मात्र भुर्गभ सिमेन्ट लिमिटेडले खानी तथा भूगर्भ विभाग, सन्धीखर्क नगरपालिका, डिभिजन वन कार्यालय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत रु. १४ करोड ३४ लाखभन्दा बढी योगदान गरिसकेको छ। करिब रु. ३ अर्ब निजी लगानी परिचालन भएको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २०० जनाको रोजगारी यस उद्योगसँग जोडिएको छ।
उद्योगले IEE, EIA तथा प्रचलित कानुनबमोजिम खानी सञ्चालन गर्दै आएको छ। स्थानीय विद्यालयमा शिक्षकको तलब, सडक ढलान, वृक्षारोपण, धुलो नियन्त्रण, विपद्का बेला राहत, विद्यार्थीलाई न्यानो कपडा, प्रभावित बासिन्दालाई सहुलियतमा सिमेन्ट उपलब्ध गराउनेलगायत सामाजिक उत्तरदायित्वका कार्यहरू पनि निरन्तर गर्दै आएको छ।
दुःखको विषय, पछिल्ला केही वर्षदेखि खानी प्रभावित क्षेत्रभन्दा बाहिरका केही व्यक्तिहरूले विभिन्न निकायमा पटक–पटक उजुरी, निवेदन तथा मुद्दा दर्ता गर्ने प्रवृत्तिका कारण उद्योग सञ्चालनमा अनावश्यक अवरोध र अन्योल सिर्जना हुँदै आएको छ। कुनै पनि नागरिकलाई कानुनी उपचार खोज्ने अधिकार छ, तर तथ्य र प्रमाणभन्दा बाहिर गएर विकासका आयोजना अवरुद्ध हुने अवस्था सिर्जना हुनु कसैको हितमा हुँदैन। यस सम्बन्धमा केही विषय सम्मानित अदालतमा विचाराधीन छन् र उद्योग न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान व्यक्त गर्दछ।
आज आवश्यकता उद्योग बन्द गराउने होइन, कानुनसम्मत रूपमा उद्योग सञ्चालन गराउने हो। उद्योग चल्यो भने रोजगारी जोगिन्छ, राज्यले राजस्व पाउँछ, स्थानीय व्यापार फस्टाउँछ र जिल्लाको अर्थतन्त्र चलायमान हुन्छ। उद्योग बन्द भयो भने यसको असर उद्योगीभन्दा बढी श्रमिक, स्थानीय व्यवसायी, यातायात क्षेत्र, बैंक तथा समग्र अर्घाखाँचीले भोग्नुपर्ने हुन्छ।
त्यसैले अर्घाखाँचीको विकास, लगानीको सुरक्षा, रोजगारी संरक्षण र आर्थिक समृद्धिलाई केन्द्रमा राखी सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा अभियन्ताहरूलाई आग्रह छ—तथ्य, कानुन र संवादका आधारमा समस्या समाधान गरौं। विकास र वातावरण संरक्षणलाई सँगसँगै अगाडि बढाउँदै भुर्गभ सिमेन्ट लिमिटेडको चुनढुंगा खानीलाई कानुनसम्मत रूपमा सञ्चालन गर्न सहयोग गरौं। समृद्ध अर्घाखाँची निर्माणका लागि उद्योगको संरक्षण, जिम्मेवार सञ्चालन र सबै पक्षको सहकार्य आजको आवश्यकता हो।




























