तीन महिनामै बालेन सरकारले ‘काम गरेन’ भन्न मिल्दैन तर सच्चिनु जरुरी छ : मिराज ढुंगाना

462
shares

 

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादमा उनले सरकार कुन दिशातर्फ गइरहेको छ भनेर भन्न सकिएला तर काम नै गर्न सकेन भन्नु सान्दर्भिक नहुने तर्क गरे ।

 

‘हनिमुन पिरियड’ पूरा गरेको सरकारको सुरुवाती चरण भएकाले तत्काल मूल्यांकन वा टिप्पणी गर्नु ठिक नहुने उनको भनाइ छ । सरकारले तयार गरेको सय बुँदे वाचा पत्र हालसम्म ३०–४० प्रतिशत मात्र पूरा गरेको उनको ठहर छ ।

 

‘सय बुँदा सबै पूरा गर्नु भएको छैन् । ३० देखि ४० प्रतिशत काम भयो होला किनभने उहाँहरुपनि पहिलो पटक सरकारमा जानुभएको छ । अनुभव पनि छैन्, सिक्दै अगाडि बढ्ने अवस्थामा हुनुहुन्छ । त्यसैले वाचा अनुसारका कामहरु अझै बाँकी छन्,’ उनले भने ।

 

तीन महिना भनेको दिशा वा मार्ग तय गर्ने अवधी भएकाले आम जनताले पनि तत्कालै परिणाम खोज्न नहुने उनको भनाइ छ । पाँच बर्षको म्यान्डेट पाएको सरकारलाई काम गर्न दिनुपर्ने पनि उनले बताए ।

 

पछिल्लो समय सरकारले विना प्रमाण र प्रतिशोधपूर्ण जस्तो देखिनेगरी नेता वा व्यवसायीहरुलाई पक्राउ गरिएको घट्नाप्रति ढुंगानाले आपत्ति जनाए ।

 

‘थुन्ने अनि कुरा सुन्ने प्रक्रिया म मान्दिनँ, यो ठिक होइन् । राज्यले कसैको इज्जत वा प्रतिष्ठामाथि खेल्न पाउँदैन् । ठग वा बदमास हो भने प्रमाण पुर्याएर पक्राउ गरिनुलाई अन्यथा लिनु हुँदैन तर अनावश्यक धरपकड स्वीकार्य हुँदैन्,’ उनले अगाडि भने, ‘यदि कोही शंकास्पद व्यक्ति भाग्ने सम्भावना भयो भने त्यसबेला चाल्ने कदम फरक हो । तर सिधै हत्कडी लगाएर इन्भेस्टिगेसन गर्नु गलत हो ।’

 

अभियन्ता ढुंगानाले कोहीपनि नागरिकको इज्जत वा मर्यादा मर्न दिन नहुने बताउँदै सरकारले संयमता अपनाउनुपर्ने बताए । ‘कसैलाई हत्कडी लगाउनुपूर्व विस्तृत अनुसन्धान हुनुपर्छ । सोचेर वा सम्झेर अर्थात हत्कडी लगाउनु भन्दा पहिला कन्सिडर पनि गर्नसक्नुपर्छ । किनभने मान्छेको जिन्दगी विगार्नु हुँदैन् । कसैलाई बिना सबुत हत्कडी लगाइयो अनि पछि निर्दोष साबित भयो भने राज्य चुक्नसक्छ,’ उनले भने,‘जोकोहीलाई इज्जतका साथ बाँच पाउने अधिकार छ । चाहे त्यो क्रिमिनल वा कैदी नै किन नहोस । त्यसैले प्रक्रिया पु¥याएर, तथ्यमा पुगेर मात्र गिरफ्तारी गर्नुपर्छ ।’

 

गृहमन्त्रीको एक्सन मनपर्छ

 

अभियन्ता ढुंगानाले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति खुलेर प्रशंसा पनि गरे । उनले भने,‘म गृहमन्त्रीप्रति पोजेटिभ छु । काम गर्ने तरिकाप्रति निराश हुनुपर्ने देख्दिन् ।’

 

तर गृहमन्त्रीका रुपमा पुर्नवहालीको विषयमा भने उनले संशय प्रकट गरे । ‘उहाँको विषयमा प्रश्न उठिसकेपछि छानविन गर्न संसदीय समिति बन्नुपर्ने थियो । विपक्षीहरुलाई पनि राखेर समिति तयार हुनुपर्ने थियो तर त्यस्तो गरिएन् । आफ्नै सरकार, आफ्नै मन्त्री र आफ्नै छानबिन समिति,यो अलि ठिक भएन । सरकार पारदर्शी छ भन्नेमा शंका पैदा गरायो । यतिबेला ट्रान्सपेरेन्सी हाम्रो देशलाई चाहिएको छ । तर जुन समिति बनाइयो त्यसले अरुलाई भन्ने बाटोहरु सरकार आफैंले तयार गर्यो ।’

 

कतिपय निर्णयहरुका कारण सरकार आफैं समस्या पर्दै गएको ढुंगानाको भनाइ छ । ‘सुधन गुरुङका सम्बन्धमा छानविन गर्न आफ्नै मान्छेहरु राखेर समिति बनाइनुले सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ । व्यक्ति ठिक हुनुहुन्छ तर सरकारको प्रक्रिया अमिल्दो भयो,’ उनले अगाडि भने,‘ सुधन गुरुङको नियत मलाई ठिक लाग्छ तर कानुनमा उहाँ फितलो हुनुभयो । त्यो सच्याउनुपर्छ ।’

 

कर बढाउने र फाइल खोल्ने कुरा

 

अभियन्ता ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी बन्न सुझाव पनि दिए । ‘राज्य चलाउनु एकदम धेरै कम्प्लेक्स काम हो, धेरै कुरा गर्नुपर्छ । कुटनीति वा वैदेशिक सम्बन्धदेखि लिएर घरेलु समस्याहरु समाधान गर्नुपर्ने जिम्मेवारीहरु आइरहन्छन् । सिक्दै अगाडि बढ्नुपर्छ तर जनताप्रति जिम्मेवार चाहिं बन्नैपर्छ,’ उनले भने ।

 

सरकारले ०४६ सालपछिका फाइलहरु खोल्न मात्र होइन ०७ सालपछिकै पनि खोल्ने हिम्मत गर्नुपर्ने उनको भनाइ छ ।

 

उनका अनुसार यतिबेला देशलाई चाहिएको भनेको जनतालाई गरिखान पाउने वातावरण बनाउनु हो । पुराना कुराहरु कोट्याउनु भन्दा पनि अब अगाडि कसरी बढ्ने, जनताले रोजगारी कसरी दिलाउने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको उनले औंल्याए ।

 

सरकारले बजेटमार्फत कर बढाउने वा करको दर हेरफेर गर्ने सन्दर्भमा उनले वास्तविकता वा तथ्य बुझेर मात्र निर्णय गर्नुपर्नेमा जोड दिए ।

 

‘करको कुरा गर्दा हाम्रो कमाइ कति छ ? अथवा न्यूनतम तलब १९,५०० तोकिएको छ तर कति जनाले तलब पाइरहनु भएको छ । व्यापार व्यवसाय राम्ररी चलिरहेको छ त, घरेलु उद्योगहरू अथवा सानातिना व्यापारहरू, किराना पसल, फार्मेसी कसरी चलिरहेको छ अध्ययन गर्न जरुरी छ । यतिबेला स्कूलमा छोराछोरीको फि तिर्नेबेला वा हस्पिटल जाँदाखेरि पैसा कहाँबाट ल्याउने भन्ने चिन्ता छ । यस्तो अवस्थामा कर थप्नु जायज होइन । जनतालाई सास्ती दिने कुरामा सहमत हुन सकिदैन्,’ उनले भने ।

 

आयआर्जन बढाएपछि मात्र कर बढाउनुपर्नेमा उनले तर्क गरे । ‘सेवा–सुविधा पुरानै हुने अनि कर चाहिं बढाउने कुरा सान्दर्भिक छैन् । कर चाहिं स्विट्जरल्याण्डको जस्तो अनि सुविधा चाहिं सोमालिया जस्तो भयो भने मिलेन नि,’ उनले भने ।

 

 

 

प्रधानमन्त्री जवाफदेही हुनुपर्छ

 

संघीय संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति र उपस्थितिबारे ढुंगानाले प्रश्न उठाए । ‘लोकतान्त्रिक मुलुकको संसदमा प्रधानमन्त्री जवाफदेही बन्नुपर्छ । प्रधानमन्त्रीलाई निर्वाचित गरेर पठाउँदा उहाँको सट्टामा पार्टीको सभापति वा परराष्ट्र मन्त्रीले बोल्नुपर्छ भनेर पठाएको होइन । उहाँ जाने, बुझेको र परिपक्व व्यक्ति भनेर प्रधानमन्त्री निर्वाचित गरेर पठाएको हो । त्यसैले जबाफदेही हुनलाई उहाँ आफै बोल्न आउनुपर्छ,’ उनले भने ।

 

प्रधानमन्त्रीका यस्ता गतिविधिले लोकतन्त्रलाई हानी पुर्याउने उनको आंकलन छ । कूटनीतिक मर्यादालाई पनि प्रधानमन्त्रीले ख्याल गर्नुपर्नेमा उनको सुझाव छ ।

 

‘हामी अमेरिका भइदिएको भए कतिपय कुटनीतिक विषयहरु फरक पर्दैन थियो होला । तर हामी दुई ढुंगाबीचको तरुल हौं । हाम्रो क्षमता के छ, हामीसँग कति आर्मी छन्, सुरक्षा संयन्त्र कसैलाई टक्कर दिन सक्ने छ त ? सिमाना मिचिएको कुरा पनि हचुवामा बोल्न मिल्दैन । तथ्य र दस्तावेजका आधारमा बोल्नुपर्छ,’ उनले भने ।

 

आगामी स्थानीय तहको निर्वाचनसम्म सरकारको काम र कार्यशैलीलाई आफूहरुले गम्भीर रुपमा हेरिरहेको र सोही अनुसार समीक्षा गरेर अगाडि बढ्ने उनले खुलाए ।

 

नयाँ शक्तिको अभ्यास

 

नेपाल न्यूज बैंकको कुराकानीका क्रममा अभियन्ता ढुंगानाले आगामी स्थानीय तहको निर्वाचन अगाडि अलग्गै राजनीतिक शक्ति निर्माणमा जुटेको खुलासा गरे । हालसम्म आफ्नो अगुवाइमा भइरहेको आन्दोलनहरु मन्त्री बन्नका लागि नभइ देशलाई एउटा नयाँ लयमा ल्याउनका लागि भएको स्पष्ट पारे ।

 

‘हामी गत २१ फागुनको निर्वाचनलाई अलिक पछाडि धकेल्न चाहन्थ्यौं । निर्वाचन अलिक डिले गरेर बृहत वैचारिक संवाद गर्न चाहन्थ्यौं । धेरै व्यक्तिहरुलाई एकै ठाउँमा ल्याउन चाहन्थ्यौं । वलियो बैचारिक शक्ति निर्माण गर्नुपर्छ भन्नेमा थियौं । किनकी चित्त बुझेकाहरुलाई एक ठाउँमा ल्याएर वैचारिक शक्ति बनाउन चाहेका थियौं, त्यो नभएपछि हामी निर्वाचनप्रति असन्तुष्ट भयौं,’ उनले विगत कोट्याए ।

 

आफूहरुको अगुवाइमा भएको जेनजी पुस्ताको आन्दोलन पुस्तान्तरणका लागि भएको औंल्याउँदै उनले अब पुस्तान्तरणको वहसलाई व्यवहारमा उतार्ने बेला आएको सुनाए ।

 

‘आन्दोलनको एउटा उपलब्धि भनेको जनताको मनमस्तिष्कमा पुस्तान्तरण हुनुपर्छ भन्ने चेत खुलेको छ । युवाहरूले गर्छन् वा नयाँले गर्छन् भन्ने आन्दोलनको आउटकम हो । त्यसलाई शसक्त पार्न वा व्यवहारमा उतार्न आवश्यक देखिरहेका छौं । अब पुराना भनिएका पार्टीहरू अगाडि आउने कुनै नैतिक धरातल छैन् । त्यसैले अब योङ्ग भर्सेज योङ्ग हुनुपर्छ, योङ्ग भर्सेज ओल्ड होइन । त्यसकै लागि हामी नयाँ शक्ति बनाउन सबैलाई प्रोत्साहन गरिरहेका छौँ । नयाँ युवा शक्ति बन्नुपर्छ र युवाहरूले नै देशलाई बाटो देखाउनुपर्छ भन्ने हाम्रो अभियान नै छ,’ उनले नयाँ शक्ति निर्माण तयारीबारे स्पष्ट पारे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा ल्याएको नतिजालाई उनले ‘ल्यान्डस्लाइड भिक्ट्री’को संज्ञा दिए । आन्दोलनले पुराना पुस्तालाई विस्थापित गरेकाले पुराना भनिएका दलहरुलाई अगाडि आउने नैतिक धरातल सकिएको टिप्पणी पनि गरे । त्यसको फाइदा रास्वपाले लिएको उनले बताए ।

 

पुराना पार्टीहरुसँग जनताले सम्बन्धविच्छेद गर्न खोजेको ढुंगानाको तर्क थियो । ‘फागुन २१ को नतिजा अप्रत्यासित हो । पुरानालाई जनताले नरुचाएका हुन् । तर अब रास्वपाको अभिमतलाई पनि सँधै जनताले चित्त नबुझाउलान । यतिबेला पुरानो पार्टीसँग जनताले डिभोर्स गर्नुपर्ने अवस्थामा छन् । मिलापत्र गरेर काम छैन । अब नयाँलाई प्रेरित गर्न वा युवा शक्ति बनाउन हामी लागिरहेका छौं । पुस्तान्तरणका लागि सबैजना सङ्गठित भएर नयाँ र स्वच्छ सोच लिएर हामी सबै एक ठाउँमा आउनुहोस् भन्न पनि चाहन्छु,’ उनले भने ।

 

कुनै समय आफूले कांग्रेससँग धेरै आशा गरेको भएपनि त्यो आफूले अनुभूति गर्न नपाएको पनि बताए । आफू आशावादी र सकारात्मक सोच बोकेको युवा भएकाले कसैप्रति पूवाग्रह नराख्ने उनले स्पष्ट पारे । नेपालमा अब आफ्नै माटो सुहाउँदो विचार आवश्यक रहेको बताउँदै ढुंगानाले ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस सुरु गरेको उनले जानकारी दिए ।

civil hospital
Hams Hospitals