सर्वसाधारणको प्रतिक्रिया : बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ
वि.सं.२०८३ असार २१ आइतवार
shares
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट उदाएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् ।
पैदल यात्रु, चोक–चौतारा, सभा सम्मेलन वा सामान्य जमघटमा सरकारको दैनिक क्रियाकलापबारे चर्चा र वहस भइरहेको छ । सरकारका निर्णयहरुबारे विभिन्न टिकाटिप्पणी र तर्कहरु चलिरहेका छन् ।
यसै सिलसिलामा नेपाल न्यूज बैंकले सर्वसाधारणहरुको संक्षिप्त प्रतिक्रिया समेत लिएको छ । सर्वसाधारणहरुले प्रधानमन्त्री बालेनप्रति ठूलो अपेक्षा राखेको प्रतिक्रिया दिए ।
कतिपयले नयाँ सरकारले परिवर्तनको अपेक्षासहित काम सुरु गरेकाले तत्काल मूल्यांकन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदमप्रति उनीहरुको सकरात्मक प्रतिक्रिया थियो ।
नयाँ सरकारले विगतका सरकारका कमजोरी नदोहो¥याई सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
काठमाडौं वानेश्वरमा भेटिएका निर्मल पौडेलले सरकारले जनताको हितविपरीत काम नगरी राष्ट्रिय हित, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।
त्यस्तै, विवेक कुमार राईले सरकारको कामलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले ट्राफिक नियममा गरिएको कडाइ र सडक पूर्वाधार क्षेत्रमा भइरहेको सुधारका कामहरु राम्रो लागेको बताए ।
होम बहादुर चालिसेले नयाँ सरकारको काम राम्रो लागेका बताए । उनले विगतको सरकार भन्दा राम्रो काम गरिरहेको बताए ।
उनले मेलम्ची खानेपानी आयोजना राम्रो भएपनि बाढीबाट प्रभावित स्थानीयको समस्या समाधानमा अघिल्ला सरकारले ध्यान नदिएको बताए । बाढीले घर, सडक तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याउँदा पनि राज्यले उचित राहत र पुनःस्थापनामा चासो नदेखाएको उनको बताए ।
वानेश्वर क्षेत्रमै भेटिएका दुर्गाराज चालिसेले नयाँ सरकारले विगतका सरकारका कमजोरी नदोहो¥याई सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले संसद्को बैठक र अधिवेशन समयमै सञ्चालन हुनुपर्नेमा जोड दिँदै सरकारका मन्त्रीहरू सदनप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।
एमाले, माओवादी र कांग्रेसजस्ता ठूला दलहरूले गरेका कमजोरी दोहोर्याउन नहुने बताउँदै उनले नयाँ नेतृत्वले फरक शैलीमा काम गर्नुपर्ने बताए ।
भूमिहीन तथा सुकुम्बासी र हुकुमवासी) नागरिकहरूको समस्या समाधानका लागि सरकारले उपयुक्त व्यवस्थापन गर्नुपर्ने, उनीहरूलाई व्यवस्थित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्ने धारणा पनि उनले व्यक्त गरे ।
अर्का, सर्वसाधारण महेश्वर दाहालले नेपाली युवापुस्ताले परिवर्तन खोजिरहेको बताएका छन् । वर्तमान सरकार पनि परिवर्तनको मार्गमा अघि बढिरहेको बताए । विगतका सरकारलाई जनताले लामो समयसम्म परीक्षण गरिसकेको अवस्थामा अहिलेको सरकारलाई सय दिनकै आधारमा निष्कर्षमा पुग्न नहुने बताए ।
सरकारले ठूला भ्रष्टाचारका प्रकरणहरूको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने, राज्यको सम्पत्ति फिर्ता गराउने तथा सुशासन कायम गर्ने कामलाई प्राथमिकता दिनसके त्यसले सरकारको उपलब्धि देखिने बताए ।
दाहालले राज्यका विभिन्न क्षेत्रमा अझै धेरै सुधार आवश्यक रहेको छ । उनले सरकारले जनताको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।
काठमाडौं वानेश्वरमै भेटिएकी विद्यार्थी स्नेहा शाहले प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेदेखि नै सक्रिय रूपमा काम सुरु गरेको प्रतिक्रिया दिइन् । उनले प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको सुरुदेखि नै विभिन्न क्षेत्रमा काम अघि बढाएको बताइन् ।
‘उहाँले गर्नुभएको काम मलाई एकदमै राम्रो लागेको छ । प्रधानमन्त्री भएको दिनदेखि नै उहाँले काम सुरु गर्नुभएको थियो । देशप्रति ध्यान दिएर काम गरिरहनुभएको छ र आगामी दिनमा अझ राम्रो गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भनिन्, ‘खोला किनारामा अवैध रूपमा बसेकाहरूको व्यवस्थापन गर्ने काम पनि राम्रो लाग्यो । विद्यार्थीको हिसाबले शिक्षा क्षेत्रमा ल्याइएका परिवर्तनहरू सकारात्मक लागेका छन् । सरकारले शिक्षामा अझ बढी ध्यान दिए हाम्रो भविष्य र देश दुवैका लागि राम्रो हुन्छ ।’
त्यस्तै, काजी बहादुर घिमिरेले नयाँ सरकारप्रति सुरुमा ठूलो आशा र अपेक्षा रहेको स्मरण गराउँदै पछिल्ला केही गतिविधिले जनताविरुद्ध काम हुन थालेको हो कि भन्ने आशंका उत्पन्न भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री देशको अभिभावक भएकाले धैर्यता, इमानदारी र जिम्मेवारीका साथ शासन सञ्चालन गर्नुपर्ने उनले बताए ।
‘नयाँ सरकारप्रति हाम्रो ठूलो अपेक्षा थियो । तर अहिले कतिपय काम जनताविरुद्ध हुन थालेको हो कि भन्ने देखिन थालेको छ । प्रधानमन्त्री देशको अभिभावक भएकाले धैर्यता, इमानदारी र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, उनले भने, ‘जल, जमिन, जंगल, जडीबुटी, स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगारी र ऊर्जा विकासमा सरकारले प्रभावकारी काम गर्न सके जनताले सधैँ साथ दिन्छन् । तर जनताको हितविपरीत काम भयो भने जनताले चुप लागेर सहँदैनन् । देश र जनताप्रति सबै जिम्मेवार निकाय उत्तरदायी र राष्ट्रप्रति वफादार हुनुपर्छ ।’
अर्का सर्वसाधारण बद्रीप्रसाद हुमागाईले सरकारले छोटो अवधिमै सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सकारात्मक कामको सुरुवात गरेको बताएका छन् ।
अघिल्ला सरकारले गर्न नसकेका केही काम अहिलेको सरकारले अघि बढाएको उनले बताए । हुमागाईले विपक्षीको आलोचना स्वाभाविक भए पनि सरकारले थालेका सुशासनका प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।





























