एप्क्यानमा नेतृत्वविरुद्ध खुला विद्रोह: ‘मनोमानी, राजनीतिकरण र सदस्यप्रति बेवास्ता’को आरोप, विशेष साधारण सभाको तयारी
वि.सं.२०८३ असार २१ आइतवार
shares
काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ। वर्तमान कार्यसमितिले संस्था सञ्चालनमा मनोमानी गरेको, संगठनलाई कमाउने र राजनीतिक स्वार्थ पूरा गर्ने थलो बनाएको आरोप लगाउँदै निवर्तमान पदाधिकारीहरूले विशेष साधारण सभा तथा महाधिवेशनको तयारी थालेका छन्।
विशेष साधारण सभा तथा महाधिवेशनबारे छलफल गर्न आयोजित वृहत् भेलामा वर्तमान नेतृत्वको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिएको थियो। सहभागीहरूले संस्थाको गरिमा, मूल्य–मान्यता र सदस्यहरूको भावनामाथि वर्तमान नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै संगठनलाई सही मार्गमा फर्काउन विशेष साधारण सभा अपरिहार्य भएको दाबी गरे।

संस्थापक अध्यक्ष प्रज्वल बस्नेतले नेतृत्व र सदस्यहरूबीच बढ्दै गएको मनमुटाव, अविश्वास र असन्तुष्टिलाई समाधान गर्न खुला छलफलको आवश्यकता रहेको बताए। उनका अनुसार संगठनलाई थप सशक्त, पारदर्शी र सदस्यमुखी बनाउन विशेष साधारण सभामार्फत नयाँ वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ।
पूर्व महासचिवले वर्तमान नेतृत्वको काम, व्यवहार र निर्णय प्रक्रियाप्रति सदस्यहरूमा गहिरो असन्तुष्टि रहेको दाबी गरे। सदस्यहरूको गुनासा सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले एप्क्यान देशकै दोस्रो ठूलो शैक्षिक परामर्श व्यवसायी संगठन भए पनि नेतृत्वको कमजोरीका कारण संगठन संकटतर्फ धकेलिएको आरोप लगाए।
त्यसैगरी पूर्व कोषाध्यक्षले विवादलाई समाधानको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै सबै सदस्यका गुनासा सुनेर संगठनलाई थप एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
भेलामा सहभागी पदाधिकारीहरूले राज्यका निकायले विभिन्न शैक्षिक परामर्श संस्थामाथि गरेको अनुगमन, कारबाही र दबाबका क्रममा सदस्यहरूको वास्तविक अवस्था बुझ्नसमेत वर्तमान नेतृत्व असफल भएको आरोप लगाए। उनीहरूका अनुसार कतिपय सदस्य कारबाहीमा परेको, कतिपय कानुनी प्रक्रियामा रहेको अवस्थाबारे वर्तमान अध्यक्ष तथा पदाधिकारीहरू नै अनभिज्ञ रहेको दाबी गरिएको छ।
उनीहरूले राज्यबाट भएको भनिएको दबाब र कारबाहीविरुद्ध संगठनको तर्फबाट एउटा औपचारिक विज्ञप्तिसमेत जारी गर्न नसकेको भन्दै वर्तमान नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाए। सदस्यहरूलाई अन्योलमा राख्ने र संस्थाको भविष्य नै अनिश्चित बन्ने अवस्था सिर्जना भएकाले संगठनको गरिमा जोगाउन विशेष साधारण सभा आयोजना गर्नुपरेको उनीहरूको भनाइ थियो।
भेलामा सहभागीहरूले एप्क्यानभित्र देखिएको संकटलाई संवाद, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै संस्थाको अस्तित्व, विश्वसनीयता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर नयाँ नेतृत्व र नयाँ कार्यदिशा आवश्यक रहेको निष्कर्ष निकाले।





























