मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णयहरु सार्वजनिक
वि.सं.२०८३ असार २४ बुधवार
shares
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसँगै सुरज शाक्यलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्ने निर्णय पनि गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले कुल ८ वटा महत्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:
काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने।
गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ स्वीकृत गर्ने।
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने।
कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।
भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।
सरकारले प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन र मानव अधिकारका क्षेत्रमा केन्द्रित यी निर्णयहरू कार्यान्वयनमा आएपछि सम्बन्धित क्षेत्रको सेवा प्रवाह र संस्थागत व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।





























