सिद्धार्थ बैंकको बदमासी ढाकछोप गर्न किर्तेमाथि किर्ते

342
shares

काठमाडौं । विवादास्पद विषयमा सिद्धार्थ बैंकले सार्वजनिक गरेको खण्डन विज्ञप्तिले आरोपको जवाफ दिनुभन्दा पनि नयाँ प्रश्नहरू जन्माएको छ। बैंकले सामाजिक सञ्जालमा प्रसारित सामग्रीलाई भ्रामक दाबी गर्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको भए पनि विज्ञप्तिको स्वरूप, त्यसको आधिकारिकता र प्रस्तुतिले नै विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।

सबैभन्दा पहिले, यति संवेदनशील विषयमा जारी गरिएको विज्ञप्तिमा कुनै पनि जिम्मेवार अधिकारीको हस्ताक्षर छैन। न प्रमुख कार्यकारी अधिकृत, न कम्पनी सचिव, न सञ्चालक वा अन्य कुनै आधिकारिक व्यक्तिको नाम उल्लेख गरिएको छ। बैंकजस्तो नियमनमा रहेको संस्थाले सार्वजनिक गर्ने औपचारिक धारणा नै हस्ताक्षरविहीन हुनु अस्वाभाविक भएको टिप्पणी हुन थालेको छ।

त्यसैगरी, बैंकले विवादमा आएका व्यक्तिलाई आफ्नो निक्षेपकर्ता वा ऋणी नै नभएको दाबी गरेको छ। तर आलोचकहरूले यदि त्यही वास्तविकता थियो भने सुरुदेखि नै त्यसबारे स्पष्ट जानकारी किन नदिइयो भन्ने प्रश्न उठाएका छन्। पीडित पक्ष सार्वजनिक रूपमा आएर आफ्नो गुनासो राखेपछि मात्रै बैंकले यस्तो दाबी अघि सारेको भन्दै उनीहरूले बैंकको नियतमाथि प्रश्न उठाएका छन्।

विवादको अर्को पक्ष भनेको बैंकले गुनासोको वस्तुगत सम्बोधन गर्नुभन्दा सामाजिक सञ्जालमा आएका सामग्रीलाई भ्रामक भन्दै चेतावनीको भाषा प्रयोग गर्नु हो। यसले पीडितको आवाज दबाउने प्रयास भएको आरोपसमेत लागेको छ।

यसबीच, विवादबारे नियामक नेपाल राष्ट्र बैंकको मौनता पनि प्रश्नको घेरामा परेको छ। बैंकिङ प्रणालीसँग जोडिएको विषयमा सार्वजनिक बहस भइरहँदा नियामक निकायले अहिलेसम्म कुनै स्पष्ट धारणा वा छानबिनबारे जानकारी नदिनुले नियामकीय भूमिकामाथि पनि प्रश्न उठ्न थालेका छन्।

यस्तै, पीडित पक्षले बैंकका मार्केटिङ विभागका कर्मचारी बिजेन्द्र तुलाधर ले “बैंकको सिस्टम नै यस्तै हो” भन्ने जवाफ दिएको दाबी गरेको छ। यो दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन। यदि यस्तो अभिव्यक्ति वास्तवमै दिइएको हो भने त्यसले बैंकको आन्तरिक कार्यप्रणालीबारे थप प्रश्न खडा गर्ने देखिन्छ।

बैंकले जारी गरेको खण्डनले विवाद समाप्त पार्नुको सट्टा, त्यसको आधिकारिकता, पारदर्शिता र जवाफदेहितामाथि थप बहस सुरु गराएको छ। अब यी प्रश्नको तथ्यपरक जवाफ बैंक व्यवस्थापन र आवश्यक परे नियामक निकायबाट आउनुपर्ने अपेक्षा गरिएको छ।

उक्त बदमासिको विषयमा नेपाल राष्ट्र बैंकले भने  जबाफ माग गरिसकेको  बताएको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

सिद्धार्थ बैंकमा किर्ते कागजात र कर्जा अनियमितताको आरोप, छानबिनको माग

civil hospital
Hams Hospitals