पशु स्वास्थ्य परिषदमा रास्वपाको नाम बेचेर बन्जाडेको बदमाशी
वि.सं.२०८३ असार २६ शुक्रवार
shares
काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मामार्फत परीक्षा सञ्चालन गरी नामदर्ता गर्ने प्रक्रिया लामो समयदेखि अन्योलमा परेको छ । परिषद्ले २०८२ साल कार्तिक मसान्तपछि परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरी परीक्षा मार्फत नामदर्ता गर्ने निर्णय गरे पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।
परिषद्ले तयार पारेको कार्यविधि स्वीकृतिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिमाथि मन्त्रालयको प्रशासन महाशाखाअन्तर्गत गठित छ सदस्यीय समितिले गत पुस महिनामै अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । तर, त्यसयता फाइल मन्त्रालयमै रोकिएको छ ।
यसैबीच परिषद्का सदस्य बलारामकृष्ण बन्जाडेले आफ्नै व्यावसायिक स्वार्थका कारण कार्यविधि स्वीकृति प्रक्रिया प्रभावित पारिरहेका छन् । बन्जाडे विगत करिब १५ वर्षदेखि काठमाडौंको कोटेश्वरमा एग्रिकल्चर टेक्नोलोजी रिसर्च एन्ड कन्सल्टेन्स प्रालिको नाममा ट्युसन सेन्टर सञ्चालन गर्दै आएका छन् ।
प्रारम्भिक रूपमा तयार गरिएको कार्यविधि यथावत् स्वीकृत भएको भए परिषद्ले मन्त्रालयबाट स्वीकृति प्राप्त गरेलगत्तै परीक्षा सञ्चालन गरी नामदर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर बन्जाडेले आफ्ना ट्युसन कक्षा तथा अध्ययन सामग्री बिक्रीमा असर पर्ने देखेपछि कार्यविधि परिवर्तन गराउने प्रयास गरेको आरोप छ ।
उनले कृषिमन्त्रीका स्वकीय सचिव विकास भुषालमार्फत परिषद्का अध्यक्ष जीवलाल पौडेललाई प्रभावित पार्दै मन्त्रालयमा रहेको फाइल रोक्न भूमिका खेलेका हुन् ।
यस्तै, असार २२ र २३ गते बसेको परिषद्को बैठक पनि कुनै महत्वपूर्ण निर्णयबिना सकिएको परिषद्सम्बद्ध स्रोतको बतायो ।
करिब ६ महिनापछि बसेको बैठकबाट परीक्षा, नामदर्ता तथा अन्य नीतिगत विषयमा कुनै ठोस निर्णय हुन नसकेको भन्दै केही सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
बन्जाडे राजनीतिक रूपमा विभिन्न समयमा फरक–फरक दलसँग निकट रहँदै आएका मानिस हुन् । उनी पहिले नेकपा (माओवादी केन्द्र) निकट मानिन्थे भने हाल राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट रहेको चर्चा छ ।
उता कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत अध्यादेशमार्फत पदमुक्त भएका विभिन्न पदहरूमा हालसम्म पदपूर्तिका लागि विज्ञापनसमेत प्रकाशित हुन सकेको छैन । अधिकांश जिम्मेवारी कामचलाउ व्यवस्थामार्फत सञ्चालन भइरहेको छ ।
परिषद्का प्रवक्ता रामप्रसाद मेहताले भने परिषद्ले कार्यविधि, मापदण्ड र निर्देशिकासम्बन्धी विषयमा बैठक बसेको बताए । उनका अनुसार बैठकको मुख्य निर्णय परिषद्को भवन निर्माणका लागि टेन्डर आह्वान गर्ने विषयमा केन्द्रित थियो । उनले भने, ‘परीक्षा सञ्चालन गरी नामदर्ता गर्ने कार्यविधि तयार गरेर मन्त्रालयमा पठाइसकेका छौं । कार्यविधि बनाउने समितिको संयोजक पनि बलरामकृष्ण बन्जाडे नै हुनुहुन्छ,’ ।
यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. महेश ढकालसँग प्रतिक्रिया लिन प्रयास गरिएको थियो। तर, उहाँको मोबाइल फोन बन्द रहेकाले सम्पर्क हुन सकेन ।






























