आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

102
shares

 

 

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

 

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गर्नुभएको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।

 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।

 

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेको भए पनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गर्नुभएको साहित्यकारहरूले बताउने गरेका छन् । उनका सिर्जनाले नेपाली समाजमा एकता, संस्कार र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

 

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरणा दिने प्रसंग पनि नेपाली साहित्यमा चर्चित छ । भनिन्छ, एक सामान्य घाँसीले ‘जन्म लिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने सुझाव दिएपछि उहाँले समाजका लागि अमर कृति सिर्जना गर्ने प्रेरणा प्राप्त गरेका थिए ।

 

 

 

भानुभक्तले रामायणबाहेक ‘बधूशिक्षा’, ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृति सिर्जना गरेकहा छन् । उनका रचनाले नेपाली समाजको भाषा, संस्कृति र जीवनशैलीलाई प्रतिबिम्बित गरेका छन् ।

 

नेपाली भाषा र साहित्यमा उहको योगदानको सम्मानस्वरूप हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न रचनात्मक गतिविधि आयोजना गरी आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गरिन्छ ।

civil hospital
Hams Hospitals