वर–पिपल रोप्दै नेत्रज्योति कृषि सहकारीको १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न

102
shares

चौतारा, साउन ९ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्रधान कार्यालय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेड ले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर–पिपलका बिरुवा रोपेर सम्पन्न गरेको छ।

स्थापना दिवस तथा साधारण सभाको शुभारम्भ चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा ले वरको बिरुवा र वडा नं. १४ का अध्यक्ष उद्धव नेपाल ले पिपलको बिरुवा रोपेर गर्नुभएको थियो। चौतारा साँगाचोकगढी–१४ स्थित थानबारेगढी जन्मोत्सव पार्क, घमानेडाँडा मा आयोजित कार्यक्रममा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै वृक्षारोपण गरिएको हो।

नगरप्रमुख सापकोटाले सहकारीहरू स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सहकारीको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले राष्ट्रिय कलाकार स्व. लालबहादुर खाती र पण्डित विद्यापति सापकोटाको सालिकसहित निर्माण गरिएको जन्मोत्सव पार्क नगर मात्र नभई राष्ट्रिय पहिचानको सम्पत्ति बनेको उल्लेख गर्नुभयो।

उहाँले उत्पादन, उत्पादकत्व र बजार व्यवस्थापनमा सहकारी संस्थाहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सदस्यमुखी कार्यक्रममार्फत स्थानीय आर्थिक विकासलाई थप गति दिन आग्रह गर्नुभयो।

विशेष अतिथि वडा अध्यक्ष उद्धव नेपाल ले नेत्रज्योति कृषि सहकारीले विगत १४ वर्षदेखि स्थानीय कृषकहरूको आयआर्जन वृद्धि, कृषि विकास तथा सामाजिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। आगामी दिनमा पनि नवीन कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले सहकारी संस्थाहरूले कानुनी सुशासन, पारदर्शिता, जवाफदेहिता, उत्पादनमुखी कार्यक्रम तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कृषि र वातावरण एकअर्काका परिपूरक भएकाले स्थापना दिवसमा गरिएको वृक्षारोपणले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूको धारणा थियो।

साधारण सभामा संस्थाका पदाधिकारीहरूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो।

सदस्यहरूले कृषि क्षेत्रमा थप सीपमूलक तालिम, उत्पादनको बजारीकरण, आधुनिक कृषि प्रविधिको विस्तार तथा सदस्यहरूको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका थिए।

वि.सं. २०६९ सालमा स्थापना भएको नेत्रज्योति कृषि सहकारी संस्था स्थानीय कृषकहरूलाई संगठित गर्दै कृषि उत्पादनमा आत्मनिर्भरता, सदस्यहरूको आयस्तर वृद्धि तथा सहकारी अभियानलाई सुदृढ बनाउने उद्देश्यका साथ निरन्तर सक्रिय रहँदै आएको छ। संस्थाले कृषि प्रविधि हस्तान्तरण, चेतनामूलक कार्यक्रम तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।

स्थापना दिवसको अवसरमा गरिएको वर–पिपल वृक्षारोपणलाई सहभागीहरूले जलवायु परिवर्तनको चुनौतीसँग जुध्न तथा भावी पुस्ताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण अभियानका रूपमा प्रशंसा गरेका थिए।

कार्यक्रममा सहकारीका शेयर सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा हलगोरु पालेर कृषि पेशामा योगदान पुर्‍याएका रामबहादुर सार्की, बाँझो जमिनमा व्यावसायिक खेती गर्दै आएका चोकबहादुर बस्नेत तथा राम्चे सामुदायिक वन का अध्यक्ष बलराम बस्नेत लाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष कृष्णबहादुर नेपाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव धनकुमार नेपाल ले स्वागत मन्तव्य राख्नुभएको थियो भने व्यवस्थापक नेत्रबहादुर बस्नेत ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अतिथिहरूलाई संस्थाका कोषाध्यक्ष सीता बानियाँ र सदस्य रेखा नेपाल ले स्वागत गर्नुभएको थियो।

वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने तातोपानी नाका जोड्ने सडक लामो समयदेखि अवरुद्ध हुँदा व्यापार, ढुवानी तथा राजस्व संकलनमा गम्भीर असर परेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ ले सरकारको तत्काल ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष बुद्धराज बस्नेत ले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत तातोपानी–कोदारी सडक तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी पहल गर्न सरकारसँग माग गर्नुभएको हो।

विज्ञप्तिअनुसार, असार ३१ गते भोटेकोशी गाउँपालिका–२ मा पर्ने इको पहिरो का कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण तीन वटा घरमा क्षति पुगेको तथा करिब ७० घर उच्च जोखिममा रहेका छन्।

सडक अवरुद्ध हुँदा १५० भन्दा बढी मालवाहक कन्टेनर राजधानी प्रवेश गर्न नपाएको संघले जनाएको छ। फलफूल तथा अन्य छिटो नष्ट हुने वस्तु बोकेका कन्टेनरसमेत लामो समयदेखि रोकिँदा व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उल्लेख गरिएको छ।

संघका अनुसार, दैनिक लाखौँ रुपैयाँ राजस्व संकलन हुने तातोपानी भन्सार कार्यालयले समेत चालु आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। गत वर्ष सडक मर्मतका लागि करिब रु. ५० करोड ५२ लाख मा ठेक्का लागेको भए पनि काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको र चीन सरकारले निर्माण गरिदिने आश्वासनमै काम सीमित भएको आरोप संघले लगाएको छ।

राजधानीसँग सबैभन्दा नजिक रहेका प्रमुख व्यापारिक नाकामध्ये दोस्रो ठूलो तातोपानी नाकाको सञ्चालन ठप्प हुँदा समेत सरकारले आवश्यक चासो नदिएको भन्दै संघले असन्तुष्टि जनाएको छ।

अध्यक्ष बस्नेतले उद्योग वाणिज्य संघ निजी क्षेत्रको साझा संस्था भएकाले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो। विगतका वर्षहरूमा पनि सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ तथा ट्रक कन्टेनर व्यवसायी संघ ले आफ्नै पहलमा सडक सञ्चालनका लागि सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो।

संघले तातोपानी नाका नेपालको वैदेशिक व्यापार र राजस्व संकलनका दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले सडक शीघ्र सञ्चालनमा ल्याई आयात–निर्यात गतिविधि सहज बनाउन सरकारसँग आग्रह गरेको छ।

civil hospital
Hams Hospitals