नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
वि.सं.२०८३ साउन १२ मंगलवार
shares
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनाका लागि जारी गरिएको मासिक व्यवसायिक योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यस उपलब्धिमा सहयोग पुर्याउने नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले नयाँ आर्थिक वर्ष २०८३/८४ का लागि शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न कम्पनी थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउँदै व्यवसाय विस्तारलाई निरन्तर प्राथमिकतामा राखिने बताउनुभयो।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि एमडीआरटी (MDRT) प्राप्त गर्न आवश्यक रणनीति, कार्यशैली तथा व्यवहारिक अभ्यासका विषयमा उदाहरणसहित गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सांस्कृतिक सत्रमा स्ट्यान्ड–अप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, चर्चित गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। त्यसैगरी, लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट तथा चर्चित डीजे अमुको प्रस्तुतिले सहभागी अभिकर्ताहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस्ता कार्यक्रमहरूले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यवसायिक दक्षता विकास, उत्प्रेरणा तथा आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।





























