ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
वि.सं.२०८३ साउन २२ शुक्रवार
shares
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौताले स्थानीय सरकार र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप संस्थागत गर्दै नगरवासीको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट प्रदान गरिने विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्।
यस व्यवस्थाले विशेषगरी आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नगरवासीलाई राहत पुग्नुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकार्यको मुख्य उद्देश्य नगरपालिकास्तरमा स्वास्थ्य सेवाको सुदृढीकरण, जनस्वास्थ्य प्रवद्र्धन, नियमित स्वास्थ्य परीक्षणको संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ। साथै, दीर्घरोगको समयमै पहिचान, प्रारम्भिक उपचार, जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण तथा स्वस्थ समुदाय निर्माणमा समेत सहकार्यले योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्झौता कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले ह्याम्स अस्पतालको उद्देश्य उपचार सेवा प्रदान गर्नुमा मात्र सीमित नभई प्रत्येक नागरिकलाई गुणस्तरीय, सुरक्षित, सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको उल्लेख गरे।
त्यसैगरी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले सहकार्यले नगरवासीलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरे।
उनले नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक भएको बताउँदै ह्याम्स अस्पतालसँगको सहकार्यबाट नगरवासीलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताए। यसबाट उपचारमा पर्ने आर्थिक भार न्यूनीकरण हुनुका साथै नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान तथा जनस्वास्थ्य प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ छ।
ह्याम्स अस्पताल नेपालका अग्रणी बहुविशेषज्ञ अस्पतालमध्ये एक हो। अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा क्रिटिकल केयरलगायत विभिन्न जटिल रोगको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ।
ह्याम्स अस्पतालले आगामी दिनमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, समुदाय र विभिन्न संस्थासँगको सहकार्यलाई थप विस्तार गर्दै नागरिकमैत्री, गुणस्तरीय, सुरक्षित तथा पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।





























