रसुवा बाढीबाट भएको क्षतिप्रति नाडाको दुःख व्यक्त, तत्काल पुनःस्थापनाको माग
वि.सं.२०८३ भदौ १० बुधवार
shares
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको छ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरेको छ।
नाडाले विपद्को यस घडीमा सरकार र नागरिकसँगै रहेको जनाएको छ। रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्न सक्ने नाडाको भनाइ छ।
नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान र सवारीसाधन भन्सार क्षेत्रमा रहेको भए पनि त्यसको यकिन विवरण आइनसकेको जनाएको छ। तर, क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक अवस्था देखिएको भन्दै नाडाले प्रभावित व्यवसायीको साथमा रहेको जनाएको छ।
नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गरी सुरक्षित आवागमन सञ्चालन गर्न तथा रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले आग्रह गरेको छ।
क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने नाडाको धारणा छ।
नाडाले विपद्को समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको पनि नाडाले जनाएको छ।
नाडाले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।






























