रसुवा बाढीप्रति NAIMA को दुःख व्यक्त, उद्धार तथा पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता
वि.सं.२०८३ भदौ १० बुधवार
shares
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA)ले गहिरो दुःख व्यक्त गरेको छ।
NAIMA का अनुसार प्रारम्भिक विवरणमा बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना लगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहे पनि मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने भन्दै NAIMA ले चिन्ता व्यक्त गरेको छ।
NAIMA ले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति उच्च सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा जोखिम कायमै रहन सक्ने भन्दै NAIMA ले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ।
NAIMA ले विपद्को यस कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहेको जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ।
संघले प्रभावित क्षेत्रमा रहेका नागरिकको सुरक्षा सुनिश्चित हुनुका साथै क्षतिग्रस्त संरचना तथा पूर्वाधारको शीघ्र पुनर्स्थापना होस् भन्ने कामना गरेको छ।






























