बाढीपीडितका लागि नाडाद्वारा राहत सामग्री हस्तान्तरण
वि.सं.२०८३ असोज ४ आइतवार
shares
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले २०८३ भदौ १० गते नुवाकोट, टिमुरे तथा रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
नाडाले उपलब्ध गराएका विभिन्न प्रकारका राहत सामग्रीहरू २०८३ असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण नुवाकोट, रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले नाडाले राहत सहयोग अघि बढाएको जनाएको छ।
राहत सामग्री हस्तान्तरणका क्रममा नाडाका प्रतिनिधिहरूले विपद्को समयमा प्रभावित नागरिकको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
यसअघि पनि नाडाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग उपलब्ध गराइसकेको छ।
२०८३ भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो।
उक्त भेटका क्रममा नाडा प्रतिनिधिमण्डलले बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा पीडित नागरिकलाई तत्काल राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोगबारे समेत छलफल गरेको जनाएको छ।
नाडाले विपद् तथा प्राकृतिक प्रकोपका समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उल्लेख गरेको छ। विगतमा समेत विभिन्न प्राकृतिक विपद्का समयमा राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नाडाले आगामी दिनमा पनि आवश्यकता र सम्भावनाअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ।






























