त्रिपुरेश्वरमा जलेका चालकको खोजीः कागजका व्यक्ति जीवितै

210
shares

 

काठमाडौँ । त्रिपुरेश्वरमा केही दिनअघि सार्वजनिक यातायातको गाडीमा आगलागी हुँदा एक चालकको मृत्यु भयो । घटनामा चालकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको र त्यसपछि गाडीमा समेत आगो लागेको बताइन्छ । तर, घटनामा मृत्यु भएका व्यक्तिको पहिचानबारे अहिलेसम्म स्पष्टता नआएपछि घटनाले थप गम्भीर प्रश्न खडा गरेको छ ।

मृतक चालकलाई दावा लामा भनेर सार्वजनिक गरिए पनि दावा लामा जीवितै रहेको बताउँछन् । उनी आफूले प्रयोग गर्दै आएको मोबाइल तथा कागजात अरू व्यक्तिले दुरुपयोग गरेको हुनसक्ने दाबी गर्छन् । अर्कोतर्फ, घटनामा संलग्न चालक अर्जुन दोङ भएको बताउने सहचालक रुपेश फुयालले दिएको विवरण र मृतकको कागजातबीच समेत मेल देखिएको छैन ।

 

यसले त्रिपुरेश्वरमा जलेर मृत्यु भएका व्यक्ति वास्तवमा को हुन् भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ ।

सहचालकको बयानः ‘पहिले आफूलाई जलाए, त्यसपछि गाडीमा आगो लाग्यो’

घटनाको दिन अर्जुन दोङ चालक र रुपेश फुयाल सहचालकका रूपमा गाडीमा रहेको फुयालले बताएका छन्। फुयालका अनुसार विश्वकर्मा पूजाको अघिल्लो दिन गाडी सर्भिस गरेर बाँकी रहेको पेट्रोल गाडीमा थियो । त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवाद भएपछि अर्जुनले गाडी सडकमा तेस्र्याएका थिए । फुयालका अनुसार अर्जुनले आफूलाई भनेका थिए, ‘भाइ, अब हामी भाइरल हुने हो ।’

त्यसपछि उनले सहचालकलाई बाहिर जान भनेका थिए । अर्जुनले आफूले प्रहरी र गाडी साहुसँग कुरा गर्ने बताएका थिए । फुयाल बाहिर निस्किएर नजिकैको पसलमा चुरोट किन्न पुगेका थिए ।

 

तर, केही मिनेटमै गाडीबाट धुवाँ आएको देखेपछि उनी फर्किए । त्यतिबेला गाडीमा आगो लागिसकेको थियो । फुयालले अर्जुनको स्वभाव जिद्दी रहेको र आफूले भनेकै हुनुपर्ने प्रवृत्तिका कारण घटना भएको हुनसक्ने बताएका छन् । यद्यपि, घटनाको वास्तविक कारण र आगो कसरी फैलियो भन्ने विषयमा प्रहरी अनुसन्धानबाट आधिकारिक निष्कर्ष आउन बाँकी छ ।

‘लास देख्नुहुन्छ’ भन्दै साहुलाई फोन

घटनाअघि अर्जुनले गाडी साहुलाई फोन गरेको र आफूलाई ट्राफिक प्रहरीले ‘ह्यारेस’ गरेको भन्दै केही समयमा मर्ने बताएको फुयालले बताएका छन् । फोन संवादका क्रममा अर्जुनले आफूले लामो समयदेखि गाडी चलाउँदै आएको भन्दै आफूलाई विश्वास नगरे त्रिपुरेश्वरमा आफ्नो लास देख्नुपर्ने बताएका थिए । त्यसको केही समयपछि उनले शरीरमा आगो लगाएको फुयालको भनाइ छ ।

घटनाअघि चालक र सहचालक करिब आधा घण्टा गाडीभित्रै बसेको र प्रहरी तथा स्थानीयले ढोका खोल्न आग्रह गर्दा पनि तत्काल बाहिर ननिस्किएको फुयालले बताएका छन् ।

मृतकको नाममा अर्को व्यक्ति जीवित

घटनाको सबैभन्दा गम्भीर पाटो मृतकको पहिचानसँग जोडिएको छ । यातायात व्यवसायी पक्षले मृतक चालक दावा लामा भएको बताउँदै सार्वजनिक धारणा तथा विज्ञप्तिसमेत जारी गरेको छ । तर, दावा लामा स्वयं जीवित रहेको र आफूलाई सामाजिक सञ्जालमा मृतक भन्दै श्रद्धाञ्जली दिइएपछि मानसिक तथा सामाजिक रूपमा समस्या भएको बताउँछन् ।

दावा लामाका अनुसार उनको मोबाइल तथा कागजात अरू व्यक्तिले दुरुपयोग गरेको हुनसक्छ । उनले आफू जीवित रहेको भन्दै यस विषयमा कानुनी उपचार खोज्ने बताएका छन् ।

बालाजुको दुर्घटनाले उठाएको अर्को प्रश्न

अर्जुन दोङसँग जोडिएको भनिएको पुरानो घटनाले पनि चालक व्यवस्थापनमाथि प्रश्न उठाएको छ । २०८२ साल भदौमा रातिको समयमा बालाजुमा सार्वजनिक गाडी दुर्घटनामा परेको र तीन जना घाइते भएको विवरण आएको थियो । दुर्घटनापछि चालक गाडी छाडेर भागेको समाचार आएको थियो ।

उक्त गाडी संयुक्त यातायातसँग सम्बन्धित रहेको र चालकका रूपमा प्रयोग भएको कागजात अर्कै व्यक्तिको रहेको थियो । विशेषगरी सुनिल तामाङको कागजात प्रयोग भएको तर वास्तविक चालक अर्कै व्यक्ति रहेको भन्ने विषयमा प्रश्न उठेको थियो । सुनिल तामाङ स्वयंले आफूले दुर्घटना नगरेको र आफ्ना कागजात चोरी वा दुरुपयोग भएको दाबी गरेका थिए ।

यसअघि दुर्घटनापछि पनि कागजात दुरुपयोगको विषय उठेको भए पुनः सोही प्रकृतिको प्रश्न त्रिपुरेश्वर घटनामा देखिनुले यातायात कम्पनी तथा व्यवसायी पक्षले चालकको परिचय र अनुमतिपत्र कसरी परीक्षण गर्छन् भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।

 

एउटा राजस्व रसिदकै भरमा चालक ?

घटनासँग जोडिएको अर्को गम्भीर आरोप चालकलाई पूर्ण कागजातबिनै सवारी चलाउन दिइएको भन्ने हो । चालकको वास्तविक अनुमतिपत्र, नागरिकता, परिचय खुल्ने कागजात तथा अन्य विवरण परीक्षण नगरी केवल राजस्व तिरेको रसिद वा प्रतिलिपि कागजातका आधारमा सार्वजनिक सवारी चलाउन दिइएको हो भने त्यो यातायात सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो ।

सार्वजनिक यातायातमा चालक नियुक्त गर्दा चालकको वास्तविक परिचय, सवारीचालक अनुमतिपत्र, नागरिकता, स्वास्थ्य तथा अन्य आवश्यक कागजातको अभिलेख राखिएको हुनुपर्ने हुन्छ । ती कागजातमा अर्कै व्यक्तिको विवरण प्रयोग भएको भए त्यसको जिम्मेवारी कसको हो भन्ने प्रश्नसमेत उठ्छ ।

धेरै चालक बिना लाइसेन्स ?

यस घटनापछि विभिन्न चालक तथा सहचालकसँग गरिएको कुराकानीमा उपत्यकाका सार्वजनिक सवारीमा ठूलो संख्यामा अनुमतिपत्रबिनै चालकले सवारी चलाउने गरेको खुलासा हुँदै आएको छ । कतिपय चालक तथा सहचालकले करिब ३० प्रतिशत चालक अनुमतिपत्रबिनै सवारी चलाउने गरेको देखिन्छ ।

अध्यक्षकै गाडीमा कसरी पुगे अर्जुन ?

त्रिपुरेश्वरमा जलेको गाडी रिद्धिसिद्धि यातायात व्यवसायी महासंघका अध्यक्षसँग सम्बन्धित रहेको छ । यदि उक्त गाडी अध्यक्षकै स्वामित्व वा व्यवस्थापनमा थियो भने अर्जुन दोङलाई चालकका रूपमा राख्दा उनको वास्तविक परिचय, नागरिकता, सवारीचालक अनुमतिपत्र र अन्य आवश्यक कागजात कसरी परीक्षण गरियो भन्ने प्रश्न उठ्छ । अझ चालकको पहिचानमै विवाद देखिएको अवस्थामा यो प्रश्न झन् महत्वपूर्ण बनेको छ ।

यातायात व्यवसायी पक्षले भने मृतक चालक दावा लामा नै भएको दाबी गर्दै आएको छ । तर, दावा लामा स्वयं जीवित रहेको अवस्थामा उक्त दाबीको आधार के हो भन्ने प्रश्नको स्पष्ट उत्तर आवश्यक छ ।

‘मेरै श्रीमान्’ भन्दै तीन महिला पुगे

मृतकको पहिचानको अन्योल यतिसम्म पुगेको छ कि शव बुझ्न विभिन्न महिला पुगेका छन् । तीमध्ये केहीले मृतकलाई आफ्नो श्रीमान् भएको दाबी गरेका छन् । तर, उनीहरूले दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको बताइएको छ । एक महिलाले मृतकलाई आफ्नो छोरा भएको दाबी गरे पनि जन्मदर्तामा उल्लेख भएको आमाको नाम नमिलेपछि दाबीमा प्रश्न उठेको छ ।

यी घटनाले शवको औपचारिक पहिचानका लागि डीएनए परीक्षण, फिंगरप्रिन्ट, नागरिकता अभिलेख, परिवारको आधिकारिक विवरण र अन्य वैज्ञानिक विधि प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको प्रहरीको भनाइ छ ।

सांसदले जीवित व्यक्तिलाई दिए श्रद्धाञ्जली

एक सांसदले सदनमै दावा लामाको नाममा श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर, दावा लामा स्वयं जीवित रहेको दाबी गर्दै सार्वजनिक रूपमा आएका छन् । ‘म जिउँदै छु, तर सामाजिक सञ्जालदेखि विभिन्न ठाउँमा मेरो नाममा श्रद्धाञ्जली दिइएको छ,’ ट्राफिक कार्यालयमा भेटिएका उनले भने । आफूलाई यसबाट समस्या भएको भन्दै कानुनी उपचार खोज्ने उनको भनाइ छ ।

त्रिपुरेश्वरमा मृत्यु हुनेको खोजी

मृतक अर्जुन दोङ हुन् भने उनको नाममा प्रयोग भएका कागजात कसरी अर्कै व्यक्तिको भए ? अहिले प्रहरी पनि यही विषयमा अलमलिएको छ । यदि मृतक दावा लामा हुन् भने जीवित दावा लामा को हुन् ? यो प्रश्नको उत्तर खोजी हुँदैछ । यदि दावा लामाको कागजात अर्जुन दोङले प्रयोग गरेका हुन् भने उक्त कागजात यातायातको अभिलेखमा कसरी पुग्यो ? विगतमा बालाजुको दुर्घटनामा पनि अर्कै व्यक्तिको कागजात प्रयोग भएको हो भने त्यसबारे किन प्रभावकारी छानबिन भएन ?

त्यसैले त्रिपुरेश्वर घटनालाई ‘चालकले आत्मदाह गरेको घटना’ का रूपमा टुंग्याउनेभन्दा मृतकको पहिचानदेखि सार्वजनिक सवारीमा चालक नियुक्ति र कागजात परीक्षणसम्मको सम्पूर्ण प्रणालीमाथि अनुसन्धान आवश्यक देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

civil hospital
Hams Hospitals