म्याद गुज्रिएको चिउरा बाँड्दा हिलटप सहकारीको साधारण सभामा हंगामा, प्रहरीलाइ गुहार
वि.सं.२०८३ असोज १८ आइतवार
shares
काठमाडौं । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा शेयर सदस्यलाई वितरण गरिएको चिउरा म्याद गुज्रिएको भेटिएपछि विवाद चर्किएको छ। साधारण सभा सकेर घर फर्कने तयारीमा रहेका शेयर सदस्यलाई सहकारीले उपहारस्वरूप वितरण गरेको चिउरा १२–१३ दिनअघि नै म्याद सकिएको भेटिएपछि सभास्थलमै होहल्ला र भाँडभैलो भएको हो।
राजधानीको कोटेश्वरस्थित होटल ए वान भेन्युमा हिजो आयोजित साधारण सभापछि सहकारीले शेयर सदस्यलाई खाद्य सामग्रीसहितको उपहार वितरण गरेको थियो। सोही क्रममा दिइएको चिउरा खोल्दा म्याद गुज्रिएको भेटिएपछि शेयर सदस्यहरू आक्रोशित बनेका थिए।
विवाद बढ्दै गएपछि नजिकैको प्रहरी प्रभागबाट प्रहरी टोली सभास्थल पुगेको थियो। शेयर सदस्यलाई वितरण गरिएको चिउरा फिर्ता लिएर नयाँ चिउरा उपलब्ध गराउने सहमति भएपछि मात्रै विवाद साम्य भएको बताइएको छ।
सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद १२–१३ दिन नाघेको स्वीकार गर्दै त्यसै विषयमा सामान्य विवाद भएको बताइन्। उनका अनुसार सहकारीले शेयर सदस्यलाई उपहार दिने उद्देश्यले चिउरा खरिद गरेको थियो।
मोक्तानले भनिन्, “हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौं। त्यो १२–१३ दिन म्याद नाघेको रहेछ। त्यही विषयमा सामान्य विवाद भएको हो।”
उनका अनुसार उक्त चिउरा सहकारीको उत्पादन भने होइन। बजारबाट खरिद गरेर ल्याइएको चिउराको म्याद सकिएको आफूहरूलाई जानकारी नभएको उनको दाबी छ। सबै शेयर सदस्यलाई चिउरा साट्न आउन आग्रह गर्दै सन्देशसमेत पठाइसकिएको उनले बताइन्।
तर, सहकारी अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको भनाइ भने सचिवको भनाइसँग केही फरक देखिएको छ। उनले सभाका लागि ६–७ सय प्याकेट चिउरा ल्याइएको र त्यसको म्याद सकिएको आफूहरूले पनि नहेरेको स्वीकार गरे।
श्रेष्ठले भने, “हामीले छ–सात सय प्याकेट चिउरा ल्याएका थियौं। त्यसको म्याद सकिएको रहेछ। हामीले पनि हेरेनौं। त्यही विषयलाई लिएर वादविवाद भएको हो। चिउरा फिर्ता ल्याउन भनिसकेका छौं।”
सहकारी व्यवस्थापनले भने घटनालाई सामान्य विवादका रूपमा प्रस्तुत गरेको छ। तर, साधारण सभामा उपस्थित सयौँ शेयर सदस्यलाई म्याद गुज्रिएको खाद्यवस्तु उपहारका रूपमा वितरण हुनु सहकारीको व्यवस्थापन, खरिद प्रक्रिया र खाद्य सुरक्षामाथि नै गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।
अझ रोचक पक्ष के छ भने, सहकारीले अघिल्लो साधारण सभामा शेयर सदस्यलाई उपहारस्वरूप नगद रकम वितरण गरेको थियो। सरकारले नगद वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्रीसहितको उपहार वितरण गरिएको बताइएको छ।
नगद दिन नपाउने भएपछि उपहारका रूपमा बाँडिएको खाद्य सामग्री नै म्याद गुज्रिएको भेटिनुले सहकारीको खरिद तथा वितरण व्यवस्थापनमाथि प्रश्न उठेको छ। शेयर सदस्यलाई वितरण गर्नुअघि खाद्य वस्तुको उत्पादन मिति, म्याद र गुणस्तर जाँच गर्नुपर्ने सामान्य सावधानीसमेत नअपनाइएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका छन्।































