खुल्ला मञ्चको भाषणले दिनुपर्ने सन्देश

783
shares
Nabil bank

 

 

काठमाडौँको मुटुमा अवस्थित ऐतिहासिक खुल्ला मञ्च केवल कुनै ऐतिहासिक भौतिक स्थल, खुला मैदान वा सार्वजनिक जमिनको टुक्रा मात्र होइन। यो त नेपाली जनताको शताब्दीभन्दा लामो संघर्ष, बलिदानी आवाज, लोकतान्त्रिक आन्दोलन र अभिव्यक्तिको जीवन्त प्रतीक हो। नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको इतिहासमा खुल्ला मञ्चले एउटा विश्वविद्यालयको भूमिका निर्वाह गरेको छ।

 

२००७ सालको राणाविरोधी प्रजातान्त्रिक आन्दोलनदेखि, २०४६ सालको पञ्चायतविरोधी जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनसम्मका हरेक साना-ठूला राजनीतिक मोडहरू यसै मञ्चका साक्षी रहेका छन्। विधिको शासन, नागरिक स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा कयौँ ऐतिहासिक नेताहरूले यहीँबाट नेपाली समाजलाई उद्वेलित र मार्गनिर्देशित गर्ने कालजयी भाषणहरू दिए।

 

खुल्ला मञ्चले राजा-महाराजादेखि लिएर विभिन्न कालखण्डका शक्तिशाली एवं निरंकुश शासकहरूलाई नागरिकका अगाडि घुँडा टेक्न र झुक्न बाध्य पारेको गौरवशाली इतिहास छ। यो त्यस्तो थलो हो जहाँबाट नेपालका राजनीतिक विचार, दर्शन र आमूल परिवर्तनका एजेन्डाहरूको प्रसव सास्ती र जन्म हुन्थ्यो। राणाशाही ढाल्ने सङ्कल्प होस् या राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने घोषणा, यी सबैको केन्द्रविन्दु खुल्ला मञ्च नै बन्यो। त्यसैले यस मञ्चबाट प्रवाह हुने प्रत्येक खुल्ला भाषणको आफ्नै विशिष्ट गरिमा, ओज र भार थियो।

 

तर समयको गतिसँगै आज यो मञ्चको स्वरूप, यसको राजनीतिक गरिमा र यहाँबाट प्रवाह हुने भाषणको चरित्रमा एउटा गम्भीर विचलन र भयानक रूपान्तरण देखा परेको छ। आजको सन्दर्भमा खुल्ला मञ्चको खुल्ला भाषण एउटा ऐतिहासिक गौरवगाथाबाट ओझेलिएर समकालीन राजनीततिको विकृत ऐना जस्तो बन्न पुगेको छ। यस परिस्थितिमा खुल्ला मञ्चले आजको समाज, राजनीति र आगामी पुस्तालाई कस्तो सन्देश दिनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस र समीक्षा गर्नु अपरिहार्य भएकोछ।

 

लिखित वा नियन्त्रित सञ्चारमाध्यमहरू सर्वसाधारणको पहुँचमा नहुँदाका बखत खुल्ला मञ्च नै आम जनताका लागि राजनीतिक चेतना र बौद्धिक शिक्षा प्राप्त गर्ने एकमात्र खुला विश्वविद्यालय जस्तै थियो। राजनीतिक दलहरू प्रतिबन्धित भएको कठिन पञ्चायत कालमा होस् वा प्रजातन्त्र प्राप्तिपछिका सुरुआती स्वर्णिम दिनहरूमा, शीर्ष नेताहरूको विचार सुन्न र देशको भविष्यको मार्गचित्र बुझ्न विकट गाउँ-गाउँबाट मानिसहरू कयौँ दिनको पैदल यात्रा गरेर काठमाडौँ ओर्लिन्थे।

 

खुल्ला मञ्चमा उभिएर नेताले बोलेका प्रत्येक शब्दले नागरिकको मुटुमा नयाँ ऊर्जा, देशभक्ति र चेतनाको सञ्चार गर्थे। त्यो समयको खुल्ला भाषणमा एउटा वैचारिक निष्ठा, त्यागको सुवास, सिद्धान्तप्रतिको प्रतिबद्धता र देश बनाउने इमानदार सङ्कल्प हुन्थ्यो। खुल्ला भाषणको सबैभन्दा सुन्दर र बलियो पक्ष यसको खुल्लापन नै हो, जहाँ जुनसुकै वर्ग, लिंग, जातजाति, भूगोल वा विचारधाराका नागरिकहरू विनाकुनै बन्देज र विभेद उभिन र सुन्न पाउँथे। यसले राजनीतिलाई केही सीमित सम्भ्रान्तहरूको बन्द कोठा, दरबार र एलिट वर्गको घेराबाट बाहिर निकालेर सडक र आम नागरिकको तहसम्म पुर्‍यायो र राजनीततिको वास्तविक लोकतान्त्रिकीकरण गर्ने काम गर्‍यो।

 

खुला मंचमा गरिने भाषण केवल शब्दहरूको थुप्रो वा विचारको सञ्चार मात्र थिएन, त्यो त तानाशाह र भ्रष्ट शासकहरूका लागि एउटा कडा चेतावनी र न्यायका भोका नागरिकका लागि भरोसाको बलियो केन्द्र थियो।

नेपाली राजनीततिका शिखर पुरुषहरू बीपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई वा गणेशमान सिंह जस्ता कालजयी वक्ताहरूले यहीँबाट नेपाली भाषा र वक्तृत्वकलालाई एउटा नयाँ उचाइ दिएका थिए। उनीहरूका भाषण र शब्दहरूमा तार्किकता, अध्ययन, दूरदर्शिता र दृष्टिकोणको स्पष्टता हुन्थ्यो। मानिसहरू झरी र बादलको पर्वाह नगरी नेताका तार्किक विचार सुन्न लालायित हुन्थे। भाषण सकिएपछि नागरिकहरू घर फर्कँदा निराशा होइन, बरु देश परिवर्तनको एउटा बलियो सपना र आशा लिएर फर्कन्थे।

 

तर, समय बदलिएको छ। सञ्चार र प्रविधिको अभूतपूर्व विकास भएको आजको आधुनिक युगमा खुल्ला मञ्च र यहाँबाट हुने भाषणको चरित्रमा आकाश-जमिनको फरक आइसकेको छ। आज खुल्ला मञ्च केवल भौतिक रूपमा मात्र खुम्चिएको वा अतिक्रमणमा परेको छैन, बरु यसको वैचारिक आयतन पनि निकै साँघुरिएको र प्रदूषित भएको छ।

 

समकालीन राजनीतिमा गम्भीर नीतिगत बहस, दार्शनिक चेत र दीर्घकालीन राष्ट्रिय एजेन्डाहरूको खडेरी पर्न थालेपछि खुल्ला भाषणहरू केवल व्यक्तिगत आक्रोश पोख्ने, कुण्ठा ओकल्ने र भीडबाट सस्तो ताली पड्काउने माध्यममा रूपान्तरित भएका छन्। आजका अधिकांश भाषणहरू हेर्ने र सुन्ने हो भने ती केवल प्रतिपक्षी वा विरोधी दलका नेताहरूलाई कसरी बढीभन्दा बढी निच देखाउने, कसरी व्यक्तिगत रूपमा अपमानित गर्ने र कसलाई कति तल्लो स्तरको गाली गर्ने भन्ने कुरुप प्रतिस्पर्धा जस्ता देखिन्छन्। नीतिगत बहस, आर्थिक समृद्धिका ठोस योजना, स्वास्थ्य-शिक्षाका एजेन्डा र देश विकासका ठूला खाकाहरू मञ्चबाट क्रमशः हराउँदै गएका छन्। त्यसको सट्टा व्यक्तिगत लाञ्छना, स्तरहीन व्यङ्ग्य, अमर्यादित भाषा र गालीगलौजले पूरै मञ्च ओगट्ने गरेको छ। सामाजिक सञ्जालमा कसरी भाइरल हुने र छोटो भिडियोका क्लिपहरूमा कसरी बिक्ने भन्ने ध्याउन्नमा लागेर सस्ता, पपुलिष्ट र खोक्रा नाराहरू तय गरेर भाषण गर्ने विकृत प्रवृत्ति ह्वात्तै बढेको छ।

 

तत्कालका लागि भीडबाट ताली पाउनका लागि असम्भव, हावादारी, गैरजिम्मेवार र उत्तेजक गफहरू खुल्ला रूपमा मञ्चबाट पस्कने गरिन्छ। सत्य र तथ्यमा आधारित भएर नागरिकलाई सुसूचित र शिक्षित गर्नुको सट्टा, उनीहरूको सामाजिक आक्रोश, गरिबी र संवेगलाई उत्तेजित पारेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने प्रवृत्ति आजको खुल्ला भाषणको मुख्य चरित्र बनेको छ। यो विचलनले नेपाली राजनीततिको बौद्धिक स्खलनलाई त देखाउँछ नै, सँगसँगै यसले आम नागरिकमा राजनीतिप्रति एक प्रकारको चरम वितृष्णा, उदासीनता र घृणा पैदा गरिरहेको छ। हिजो देश बदल्नका लागि आशाका साथ सुनिने मञ्च आज केवल मनोरञ्जन, मनोरोग वा तनाव बढाउने कोलाहल जस्तै बन्न पुगेको छ।

 

आजको डिजिटल युगमा खुल्ला मञ्चको भूगोल काठमाडौँको एउटा निश्चित जमिनमा मात्र सीमित छैन। टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स जस्ता डिजिटल माध्यमहरूले खुल्ला मञ्चलाई एउटा विशाल भर्चुअल स्वरूपमा विस्तार गरिदिएका छन्। आज खुल्ला मञ्चको कुनामा उभिएर गरिएको एउटा भाषण वा गाली, केही मिनेटभित्रै संसारभर रहेका लाखौँ नेपालीको मोबाइल स्क्रिनमा पुग्छ। यस प्रविधिको विकासले एकातर्फ भाषणको पहुँच र लोकतान्त्रिक खुल्लापनलाई त व्यापक रूपमा बढाएको छ, तर अर्कोतर्फ यसले भाषणको गम्भीरता, संवेदनशीलता, उत्तरदायित्व र वैचारिक गहिराइलाई पूर्ण रूपमा नष्ट गरिदिएको छ।

 

डिजिटल मञ्चमा बिक्न र धेरैको ध्यान खिच्नका लागि आजका वक्ताहरू अझ बढी उग्र, अझ बढी नाटकीय, चिच्याउने र सतही हुन थालेका छन्। गम्भीर नीतिगत बहस र बौद्धिक भाषणहरूलाई सामाजिक सञ्जालको एल्गोरिदमले रुचाउँदैन, बरु चिच्याएर गरिएका अपशब्द प्रयोग र अनौठा हाउभाउ भएका भिडियोहरूले बढी भ्युज, सेयर र डिजिटल ताली पाउँछन्। परिणामस्वरूप, स्थापित नेताहरू देखि लिएर विभिन्न सामाजिक अभियन्ताहरू पनि राष्ट्रिय समस्याहरूको वास्तविक र वैज्ञानिक समाधान खोज्नुभन्दा सामाजिक सञ्जालमा कसरी ट्रेन्डिङ हुने भन्ने सस्तो ध्याउन्नमा लागेर आफ्ना भाषणहरू तयार पार्न थालेका छन्। यो भर्चुअल खुल्ला मञ्चले लोकतान्त्रिक बहसलाई परिपक्व, सहिष्णु र सुसंस्कृत बनाउनुको सट्टा झनै सतही, तिक्ततापूर्ण र समाजलाई ध्रुवीकृत बनाउँदै लगेको छ, जसले गर्दा समाजमा विचार र तर्कको होइन, बरु चर्को आवाज र उत्तेजनाको मात्र कदर हुने गम्भीर खतरा बढेको छ।

 

यी तमाम विकृति, विसङ्गति र विचलनहरूका बाबजुद पनि एक जीवन्त लोकतान्त्रिक समाजमा खुल्ला मञ्च र खुल्ला भाषणको महत्त्व कहिल्यै समाप्त हुँदैन र हुनुपनि हुँदैन। जबसम्म समाजमा विभेद, अन्याय, भ्रष्टाचार, रोजगारीको अभाव र कुशासन रहिरहन्छ, तबसम्म नागरिकलाई सङ्गठित गर्ने र सत्ताको शक्तिलाई कडा प्रश्न गर्ने एउटा साझा सार्वजनिक थलोको आवश्यकता परिरहन्छ।

 

खुल्ला मञ्च लोकतन्त्रको त्यो सुरक्षा भल्भ हो, जसले जनताभित्र गुम्सिएर रहेको न्यायोचित आक्रोश, पीडा र असन्तोषलाई शानतिपूर्ण तथा वैधानिक ढङ्गले बाहिर आउने बाटो दिन्छ। यदि जनतालाई आफ्ना कुराहरू खुल्ला रूपमा राख्न, सुन्न र बहस गर्न दिइएन भने, त्यो आक्रोशले भूमिगत वा हिंसात्मक रूप लिन सक्ने खतरा रहन्छ। त्यसैले, अब खुल्ला मञ्चबाट प्रवाह हुने भाषणले आफ्नो पुरानो साख फर्काउँदै समाजलाई नयाँ र सकारात्मक सन्देश दिनु अपरिहार्य छ।

 

अबको खुल्ला मंचको भाषण गालीमा र ताली पाउनका लागि मात्र होइन, बरु तथ्य, तथ्याङ्क र अकाट्य तर्कमा आधारित भई समाजलाई विवेकपूर्ण मार्गमा डोर्‍याउने माध्यम बन्नुपर्छ। मञ्चबाट केवल समस्याहरूको चाङ मात्र प्रस्तुत गर्ने होइन, बरु आर्थिक विकास, रोजगारी सिर्जना र शिक्षा-स्वास्थ्यको जग बलियो बनाउने स्पष्ट मार्गचित्र नागरिकसामु पस्कनुपर्छ, जसले आक्रोश होइन, आशा र समाधानको बीजारोपण गरोस्।

 

खुल्ला मंचको भाषण सधैँ सत्ता र शक्तिको दुरुपयोगविरुद्धको बुलन्द आवाज बन्दै सदाचार र पारदर्शिताको सन्देश संवाहक बन्नुपर्छ। यसले विविधतायुक्त नेपाली समाजमा जातजाति वा धर्मका नाममा विभाजन ल्याउने होइन, बरु राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रवर्द्धन गर्नुपर्छ। ठूला दलका शीर्ष नेताहरूको एकाधिकार तोड्दै यस मञ्चले नागरिक समाज, मजदुर, महिला, अल्पसंख्यक र युवाका आवाजहरूलाई समेटेर वास्तविक समावेशी लोकतन्त्रको सन्देश प्रवाह गर्नु आजको आवश्यकता हो।

 

खुल्ला मञ्चको गरिमा पुनर्जीवित गर्न वक्ता र श्रोता दुवैको दायित्व उत्तिकै गहन हुन आउँछ। वक्ताहरूले सस्तो ताली र भाइरल हुने क्षणिक लोभका लागि गरिने गालीगलौजको राजनीतिलाई चटक्कै त्यागेर आफ्नो भाषामा शिष्टता, प्रस्तुतिमा शालीनता र विचारमा गहिराइ ल्याउनुपर्छ। अर्कोतर्फ, आम नागरिकले पनि भाषणको तात्कालिक उत्तेजना र नारामा बहकिनुको सट्टा वक्ताको वास्तविक नियत र तार्किकतालाई गम्भीरतापूर्वक जाँच्ने चेतनाको विकास गर्नुपर्छ। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने विवेकशील नागरिक समाज नभएसम्म मञ्चबाट हावादारी गफ पस्कने क्रम रोकिने छैन।

 

निष्कर्षमा, खुल्ला मञ्चको खुल्ला भाषण नेपाली लोकतन्त्रको विगत, वर्तमान र भविष्यको ऐना हो। हिजो यसले देशमा ठूला-ठूला क्रान्तिहरू सफल बनाउन र नागरिक चेतना जगाउन ऐतिहासिक भूमिका खेल्यो भने आज यसमा आएको वैचारिक स्खलनले यसको साख धमिलो बनाएको छ। अबको आवश्यकता खुल्ला मञ्चलाई भौतिक रूपमा निषेध गर्ने वा भाषणहरूलाई कानुनी रूपमा प्रतिबन्ध लगाउने होइन, बरु यसलाई अझ बढी मर्यादित, उत्तरदायी र विचारप्रधान बनाउने हो।

 

जबसम्म खुल्ला मञ्चहरूमा विचारको श्रेष्ठता र तर्कको मर्यादा कायम हुँदैन, तबसम्म लोकतन्त्रको जग बलियो हुन सक्दैन। तसर्थ, खुल्ला मञ्चको ऐतिहासिक गरिमा जोगाउँदै यसलाई देशको समृद्धिको मार्गचित्र कोने, विकृतिहरूमाथि प्रहार गर्ने र नागरिकलाई सही दिशा निर्देश गर्ने एउटा जीवन्त, मर्यादित र विश्वसनीय चौतारीका रूपमा अगाडि बढाउनु नै आजको युगको असली माग हो। यही नै आजको समयमा खुल्ला मञ्चको खुल्ला भाषणले नेपाली समाज र राजनीतिक नेतृत्वलाई दिनुपर्ने सबैभन्दा ठूलो र अनिवार्य सन्देश हो।

 

 

 

यादव घिमिरे

पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका

हाल: कलंकी १४, काठमाडौँ

[email protected]

मोबाइल: ९८४१३६९९२८

 

 

 

civil hospital
Hams Hospitals