मंसिर पहिलो साता काठमाडौंमा एमालेको राष्ट्रिय कार्यकर्ता भेला, २० हजार उतार्ने तयारी

435
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा करिब २० हजार कार्यकर्ता सहभागी गराएर राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले राष्ट्रिय भेलामार्फत पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र जनसरोकारका विषयमा छलफल गरिने जानकारी दिएका हुन्।

बस्नेतका अनुसार पार्टीभित्र पछिल्लो समय देखिएका विभिन्न अन्तर्विरोध समाधान गरिएको छ। नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका विषयमा समेत पार्टीले स्पष्ट धारणा बनाएको उनले बताए।

उनले पुरानो पुस्ताले पार्टी निर्माणमा पुर्‍याएको योगदान र निर्वाह गरेको भूमिकाको सम्मान गर्दै नयाँ पुस्तालाई क्रमशः योग्य, सक्षम र क्षमतावान् बनाएर जिम्मेवारी हस्तान्तरण गर्ने नीति एमालेले लिएको बताए। पार्टीको विद्यमान वैधानिक व्यवस्थालाई कायम राख्दै नेतृत्व विकास र जिम्मेवारी हस्तान्तरणको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

सचिव बस्नेतले एमाले अब केवल संगठन विस्तार र आन्तरिक गतिविधिमा सीमित नभई जनताका दैनिक सरोकारका विषयमा समेत बढी केन्द्रित हुने बताए।

उनका अनुसार महँगी, भ्रष्टाचार तथा अनियमितताविरुद्ध पार्टीले आन्दोलनको तयारी गरिरहेको छ। जनताले भोगिरहेका आर्थिक तथा सामाजिक समस्यालाई राजनीतिक एजेन्डाका रूपमा उठाउँदै सरकारलाई दबाब दिने कार्यक्रम अघि बढाइने उनले बताए।बस्नेतले सामाजिक न्याय, जनताका सरोकार तथा भ्रष्टाचार र महँगीविरुद्ध सशक्त आन्दोलनका लागि आवश्यक आधार तयार पारिने दाबी गरे।

एमालेले पार्टीको संगठनात्मक गतिविधिलाई समेत तीव्रता दिने निर्णय गरेको छ। बस्नेतका अनुसार आगामी मंसिर २७ गते देशभरका सबै वडामा अधिवेशन गर्ने निर्णय भएको छ।त्यसपछि पुस ४ गते सबै पालिकामा अधिवेशन आयोजना गरिनेछ। पार्टीको तल्लो तहसम्म संगठनलाई व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले अधिवेशनको कार्यतालिका तय गरिएको एमालेको भनाइ छ।

सचिव बस्नेतले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई ‘अधिनायकवादी’ भएको आरोप लगाए। उनले सरकारका गतिविधिविरुद्ध सामाजिक न्याय, जनसरोकार, भ्रष्टाचार र महँगीका मुद्दालाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउने संकेत गरे।उनका अनुसार राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको आगामी राजनीतिक रणनीति र आन्दोलनका कार्यक्रमबारे समेत थप स्पष्टता दिनेछ।

एमालेले एकातर्फ संगठनात्मक गतिविधिलाई तीव्र बनाउने र अर्कोतर्फ जनतासँग प्रत्यक्ष जोडिएका आर्थिक तथा सामाजिक मुद्दालाई राजनीतिक अभियानका रूपमा अघि बढाउने तयारी गरेको छ। मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने करिब २० हजार कार्यकर्ता सहभागी हुने राष्ट्रिय भेलालाई त्यसैको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

civil hospital
Hams Hospitals