चार वर्षदेखि स्टोरमा बसेका नासुहरूको संरक्षण गर्ने मन्त्रीज्यू ?
वि.सं.२०८३ असोज २९ बिहीवार
shares
काठमाडौ ।सरकारी कर्मचारीको सरुवा प्रणालीमा फेरि प्रश्न उठेको छ। कतिपय कर्मचारीको सरुवा अवधि नपुग्दै हुने, तर वर्षौंदेखि एउटै कार्यालय र आकर्षक जिम्मेवारीमा बसेका कर्मचारीको सरुवा नहुने अवस्था किन सिर्जना भइरहेको छ ?
पूर्वाधार विकास विभाग (डोलिडार) को स्टोरमा चार वर्षदेखि कार्यरत प्रेम विक, सहरी विकास मन्त्रालयमा चार वर्षदेखि रहेका सुवास निरौला तथा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयको स्टोरमा तीन वर्षदेखि कार्यरत शेरबहादुर ओलीको सरुवा किन नभएको हो ?
सामान्य प्रशासन मन्त्रालयले यी कर्मचारीलाई सरुवा नगर्नुको कारण के हो? सरुवाको मापदण्ड सबै कर्मचारीका लागि समान हो कि पहुँच र प्रभावका आधारमा फरक–फरक व्यवस्था लागू भइरहेको छ?
प्रेम विक यसअघि वीर अस्पताल र सिभिल अस्पतालमा समेत लामो समय बसेर आएका कर्मचारी हुन । सुवास निरौला पनि यसअघि आकर्षक मानिने कार्यालयमा बसेको हो । त्यस्तै, शेरबहादुर ओली वन क्षेत्रका चर्चित आयोजनामा लामो समय बसेका कर्मचारीका रूपमा चिनिन्छन्। यी कर्मचारीको कार्यकाल, जिम्मेवारी र सरुवासम्बन्धी विवरण सार्वजनिक गरेर उनीहरूलाई किन निरन्तर एउटै प्रकृतिको जिम्मेवारीमा राखिएको हो कसैले भन्दैनन ।
अझ गम्भीर प्रश्न त सरुवामा देखिएको विभेदको हो। सरुवाको अवधि नपुगेका कर्मचारीसमेत सरुवामा पर्ने, तर तीन–चार वर्षदेखि एउटै कार्यालयमा रहेका कर्मचारी भने यथावत् रहने अवस्था किन ? यदि सरुवाको निश्चित मापदण्ड छ भने त्यसको कार्यान्वयन सबै कर्मचारीमा समान रूपमा हुनुपर्दैन ?
यी कर्मचारीलाई संरक्षण गर्न शक्तिकेन्द्र सक्रिय रहेको र प्रधानमन्त्रीका निजी सचिवको समेत भूमिका रहेको भन्ने चर्चा सुनिएको छ। तर यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। त्यसैले यो चर्चाको सत्यतथ्य सार्वजनिक गर्नु सरकारको दायित्व हो।































