एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल 

609
shares
Nabil bank

 

 

झापा । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच छलफल भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नं ४ का सदस्य शम्भु सुस्केरासहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजनाका प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

 

अन्तरक्रियामा सांसदहरूले एसियन हाइवे निर्माणलगायत जिल्लामा सञ्चालित विकास आयोजनाको प्रगति, निर्माणका क्रममा देखिएका समस्या र आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे चासो व्यक्त गरेका थिए ।

 

विकास निर्माणका कामलाई प्रभावकारी बनाउँदै नागरिकले समयमै त्यसको प्रतिफल पाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उनीहरूले निर्माण आयोजनाको अनुगमन, समन्वय र सार्वजनिक निकायको जवाफदेहिता प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराएका थिए ।

 

छलफलमा भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा नागरिकका गुनासो सुनुवाइको प्रभावकारी व्यवस्थापनलगायत विषयसमेत उठाइएको थियो ।

 

नागरिकलाई परिवर्तनको अनुभूति दिलाउनु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएकाले कर्मचारीतन्त्रले आफ्नो सोच, कार्यशैली र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका थिए । सरकारी सेवा सहज, छरितो र प्रभावकारी बनाउँदै नागरिकका जायज गुनासो समयमै सम्बोधन गर्न उनीहरूले आग्रह गरेका थिए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको समग्र शान्तिसुरक्षा, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित विषयमा भइरहेका कामको संक्षिप्त जानकारी गराए ।

 

प्रशासनिक नेतृत्व सम्हालेपछि जिल्लामा सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका जायज गुनासो सम्बोधन गर्न आवश्यक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिए । त्यसका लागि तयार पारिएको प्रारम्भिक कार्ययोजनाको खाकासमेत उनले प्रस्तुत गरे ।

 

प्रमुख जिल्ला अधिकारी पोखरेलले भूमि समस्या समाधानको विषयलाई प्राथमिकतामा राखेर सकारात्मक नतिजा हासिल गर्ने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस कार्यलाई प्रभावकारी बनाउन थप जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले सांसदहरूसमक्ष आवश्यक जनशक्ति व्यवस्थापनका लागि पहल गरिदिन अनुरोधसमेत गरे ।

 

त्यसैगरी, झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणबाट जनधनमा पुग्ने क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय, प्रभावित क्षेत्रका नागरिकको सुरक्षा तथा आवश्यक व्यवस्थापनका विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।

 

अन्तरक्रियामा सडक तथा अन्य विकास आयोजनाका प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थितिले जिल्लामा सञ्चालित आयोजनाको अवस्था, कार्यान्वयनका चुनौती र समाधानका उपायबारे सम्बन्धित पक्षबीच प्रत्यक्ष छलफल गर्ने अवसर प्रदान गरेको थियो ।

 

विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच नियमित समन्वय आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए ।

 

कार्यक्रममा भूमि समस्या समाधान समितिका पदाधिकारी, सडकसम्बन्धी विभिन्न आयोजनाका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि तथा जिल्लाका प्रमुख विकास निर्माणसम्बन्धी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

 

 

 

जिल्लामा सञ्चालित ठूला पूर्वाधार आयोजनाको प्रगति, सेवा प्रवाहमा सुधार र नागरिकका समस्या समाधानका विषयमा जनप्रतिनिधि तथा प्रशासनबीच भएको छलफललाई विकास निर्माणका काममा समन्वय र जवाफदेहिता बढाउने प्रयासका रूपमा हेरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x