कहिले पुरा होला कर्णालीमा निर्धक्कसँग यात्रा गर्ने सपना पुरा 

609
shares
Nabil bank

 

सुर्खेत, । नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चिनको सिमाना हिल्सा गएर टुगिँने कर्णाली कोरिडोर निर्माणको भाका लम्बिएको छ । ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ । अस्थायी ट्याक औपनको काम पुरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ । मृत्यु मार्ग भन्दै बङ्ग्या खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको छ ।

हाल कर्णाली कोरिडोरअन्तर्गत बाजुरा हुँदै हुम्लातर्फ जाने सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । दक्षिण खण्डको खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत निर्माण भइरहेका दुई खण्डको प्रगति कमजोर देखिएपछि समग्र आयोजना सम्पन्न गर्ने समयसमेत पछाडि सारिएको छ ।

खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत १२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य छ । तर, आर्थिक वर्ष २०८२÷८३ देखि निर्माण सुरु गरिएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको कामले गति लिन सकेको छैन । आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ भने कुवाडी–तुम्च खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै छ ।

यी दुई खण्डमा कुल तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढीका ठेक्का सम्झौता भएका छन् । दुवै खण्डको निर्माण सम्पन्न गर्ने मिति २०८५ असार २५ तोकिएको छ । यद्यपि, समग्र खुलालु–सल्लिसल्ला सडक योजनाको सम्पन्न गर्ने लक्ष्य भने आर्थिक वर्ष २०८४÷८५ बाट संशोधन गरी आर्थिक वर्ष २०८९÷९० पु¥याइएको छ ।

कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु–सल्लिसल्ला सडक योजनाका प्रमुख विष्णु दाश लामाका अनुसार पिलुचौरदेखि कुवाडीसम्मको २३.७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का पीएस कन्स्ट्रक्सनले पाएको छ । २०८२ असार २० गते सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९० करोड १८ लाख ९८ हजार ७३७ रुपैयाँ ४२ पैसा छ । असोजसम्म यस खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको लामाले जानकारी दिए ।

त्यस्तै, कुवाडीबाट तुम्चसम्मको २६.३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का सिंह–कन्टेक जेभीले पाएको छ । २०८२ असार २० गते नै सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९५ करोड ८४ लाख ५२ हजार १५३ रुपैयाँ ७५ पैसा छ । तर, असोजसम्म यस खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै रहेको लामाले बताए ।

दुवै ठेक्काको कुल रकम तीन अर्ब ८६ करोड तीन लाख ५० हजार ८९१ रुपैयाँ १७ पैसा रहेको छ । ठेक्काअन्तर्गत सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा तथा बायोइन्जिनियरिङका काम गर्नुपर्नेछ ।

१२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य

कर्णाली कोरिडोर दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजनाको कुल लम्बाइ १२३ किलोमिटर छ । बाजुराको कोल्टामा २०८० मङ्सिर १३ गते योजना कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो । आर्थिक वर्ष २०८०÷८१ देखि छुट्टै कार्यालयमार्फत सडक स्तरोन्नतिको काम सुरु गरिएको आयोजना प्रमुख लामाले बताए ।

यसअघि खुलालु–पिलुचौर–सल्लिसल्ला सडकको ट्र्याक नेपाली सेनाले खोलेको थियो । अहिले उक्त सडकलाई दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक स्थानमा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक अनुमानित लागत १२ अर्ब रुपैयाँ छ । सम्पूर्ण सडक खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्दा लागत बढेर १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने आयोजना प्रमुख लामाले जानकारी दिए ।

आयोजनाको प्रारम्भिक सम्पन्न गर्ने लक्ष्य आर्थिक वर्ष २०८४÷८५ राखिएको थियो । तर, संशोधित लक्ष्य आर्थिक वर्ष २०८९÷९० तोकिएको छ । आयोजना प्रमुख लामाका अनुसार १२३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । त्यसमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति आर्थिक वर्ष २०८२÷८३ देखि भइरहेको छ ।

थप ४१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भइसकेको र चाँडै निर्माण सुरु गर्ने तयारी रहेको लामाले बताए । सडकमा १५ वटा पुल आवश्यक पर्ने देखिएको छ । हाल रहेका बेली ब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्नसमेत ठेक्का व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

उत्तर खण्डमा पनि स्तरोन्नतिको काम

कर्णाली कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको काम पनि भइरहेको छ । १४६ किलोमिटर लम्बाइको यस खण्डको ट्र्याक खोल्ने काम पूरा भएको योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीले बताए ।

उनका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ । त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए ।

भारतदेखि चीनको सीमासम्म जोड्ने लक्ष्य

कर्णाली कोरिडोरलाई भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमा हिल्सासम्म जोड्ने महत्त्वपूर्ण सडकका रूपमा विकास गर्ने लक्ष्य छ । जमुनाहदेखि हिल्सासम्मको कुल दूरी ५०५ किलोमिटर छ भने नेपालगन्जदेखि सिमिकोटसम्मको दूरी ४३७ किलोमिटर छ ।

कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडक योजना १४६ किलोमिटर र दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजना १२३ किलोमिटर लामो छ । यी दुई खण्डको कुल लम्बाइ २६९ किलोमिटर हुन्छ । दक्षिण खण्डको सडकले कालिकोट, बाजुरा, मुगु र हुम्लाका बासिन्दालाई यातायात सेवासँग जोड्ने अपेक्षा गरिएको छ । राज्यले लगानी भारी मात्रामा भएमा कर्णालीका जनताले सहज रूपमा यात्रा गर्न पाउने सपना छिट्टै पुरा हुने कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x