दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

464
shares
Nabil bank

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका तत्कालीन सचिव र उच्चपदस्थ अधिकारीहरू पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षाका तत्कालीन मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अन्यमा तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख तथा सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानून अधिकृत एवं उपसचिव निर्मला गुरुङ रहेका छन् ।

सीआईबीका अनुसार मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा रकम असुली गर्ने र विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ ।

अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली श्रमिकबाट अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा असुली गरिएको पाइएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार सङ्गठित समूहको आर्थिक लाभका लागि श्रमिकलाई गैरकानुनी रूपमा ठगी गरिएको विषयमा सम्बन्धित अधिकारीहरूले आफ्नो पदीय जिम्मेवारीअनुसार कानुनी उपचार खोज्नुको सट्टा रकम मलेसिया पठाउने निर्णयमा संलग्नता जनाएको अनुसन्धानबाट खुलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेकाहरूविरुद्ध ठगीसम्बन्धी कसूर र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीले काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

यस प्रकरणमा थप अनुसन्धान तथा कानुनी कारबाही जारी रहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x