आर्थिक प्रशासनको कसिमा असारे विकास
वि.सं.२०८१ असार २४ सोमवार
shares
नेपालमा आर्थिक दृष्टिकोणबाट आर्थिक वर्षान्तका जेठ र असार दुई महिना निकै महत्वपूर्ण मानिन्छ । सरकारको परम्परागत खर्चप्रणाली अनुसार यि दुई महिना सबैभन्दा बढी सरकारी खर्च हुने महिना हुन् । साथै यि दुई महिना आगामी आर्थिक वर्षका लागि नीति, योजना, कार्यक्रम र बजेट ल्याउने महिना हुन् । जेठ, असार महिना सबै तहका सरकारहरूले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्ने समय हो । वर्षान्तका यि दुई महिना अर्थतन्त्रका लागि पनि निकै महत्वपूर्ण मानिन्छन् । साथै यो अवधि निजी तथा सार्वजनिक क्षेत्रले पनि आफ्ना हरहिसाब फरफारक गर्ने, वार्षिक साल तमामी गर्ने एवं आगामी वर्षका लागि आर्थिक एवं व्यावसायिक योजना निर्माण गर्ने महत्पुर्ण समय हो ।
अहिले नेपालका शहर बजारका सडकहरूमा विकासको चटारो देखिन थालेको छ । सडक मर्मतसम्भार तथा चालु रहेका कामहरूलाई तीव्रता दिंदै असारभित्र तोकिएको बजेट खर्च गर्न होडबाजी सुरु भइसकेको छ । आर्थिक वर्षको ९ महिना चुप बस्ने अनि वैशाख लागेपछि सरकारी कोष खर्च गर्न तम्सिने परम्परा नयाँ होइन । यसपालि पनि असारे विकासका झाँकीहरू यत्रतत्र देखिन थालिसकेका छन् । सरकारले जेठ र असारमा नयाँ सडक नखन्ने घोषणा गरे तापनि सडक मर्मत र सम्भारका नाउँमा असारे भेलसँगै सरकारी खर्चको भेल पनि सुरु भइसकेको छ ।
यतिखेर देशभरि जताततै विकासका कामहरूले तीव्रता पाएको अवस्था विधमान छ । विशेषगरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम यतिखेर निकै जोडतोडका साथ अघि बढिरहको देख्न पाइन्छ । आवागमनलाई नै अवरुद्ध पारेर सडकमै ‘सडक निर्माणको काम भइरहेको जताततै देखिन्छ । बाटो बन्द जस्ता बोर्ड तेस्र्याएर सवारी साधनलाई अन्यत्र डाइभर्ट गर्ने काम पनि धेरै ठाउँमा गरिएको देख्न र भोग्न पाइन्छ । हाम्रो देशमा हरेक वर्ष किन असार लागेपछि मात्रै विकासको कामले तीव्रता पाउँछ भन्ने प्रश्नको उचित जवाफ हामी पाउन सक्दैनौँ । हतार हतारमा गरिने यस्ता कार्यमा आर्थिक अनियमितताको गन्ध नआउने कुरै हुदैन ।
असारे विकास भनेको टालटुले कामको पर्याय मात्रै हो । अझै यसो पनि भन्न सक्छौँ असारे विकास भनेको वर्षाको खहरे हो, जुन अहिले छ भरे छैन । टालटुले काम गरेर बजेट सक्ने प्रवृत्तिले गर्दा एउटै कामका लागि पटकपटक बजेट विनियोजन गर्नुपर्ने बाध्यता पनि दोहोरिँदै आएको छ । यस्तो प्रवृत्तिले आम उपभोक्ताले कुनै सुविधा नपाउने, तर ठेकेदार कम्पनी र तिनका मतियारहरूले मात्रै लाभ हासिल गर्ने परिपाटीले गर्दा वास्तविक विकासले नभई असारे विकासले प्रश्रय पाउँदै आएको छ ।
अहिले सहरदेखि गाउँसम्म र गाउँदेखि सहरसम्मै सडक, सिचाइँ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका कामले तीव्रता पाएको छ । विशेषगरी सडक निर्माण र मर्मत गर्ने काम भइरहेको देख्न पाइन्छ । सडक निर्माणको नाउँमा डोजर र स्काभेटरले जथाभावी जग्गा सम्याउने, माटो भर्ने र पहाडको भित्ता फोर्ने काम जताततै भइरहेको देख्न सकिन्छ । अनि सडक मर्मतको नाउँमा सिमसिम पानीमा सडक कालोपत्रे गरिरहेको, धुलो, माटो र पानीमाथि नै कालोपत्रे गरिरहेको पनि देख्न पाइन्छ । कतै कालोपत्रेमाथि नै कालोपत्रे थपिँदै गरेको पनि देख्न पाइन्छ । यस्तो टालटुले काम कति दिन टिक्छ, त्यो जोसुकैले अनुमान गर्न सक्छ र यो असारे विकास हो भनेर बुझ्नसक्छ ।
विनियोजित बजेट असारमसान्तभित्र खर्च गरिसक्नुपर्ने र ठेकेदार कम्पनीहरूले पनि असार मसान्तभित्रै योजना सम्पन्न गरी भुक्तानी स्वीकृत गरिसक्नुपर्ने नियमले गर्दा असारमा रोपाइँको भन्दा बढी विकासको चटारो परेको देख्न पाइन्छ । योजना सम्पन्न भएको प्रतिवेदन र बिल भर्पाई पेस गरी भुक्तानी स्वीकृत गराउन असार महिनाभरि सरकारी कार्यालयहरुमा ठेकेदार कम्पनी, उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूको ठुलो भीड लाग्ने गरेकोे देख्न पाइन्छ । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन निकै हतार र लतरपतर पाराले गरिने विकासको कामले दिगो विकासलाई पटक्कै सघाएको छैन । यसले बजेटको दुरुपयोग मात्रै बढाउँदै आएको छ । वर्षको एघार महिना सुस्ताएका ठेकेदार कम्पनीहरू पनि असार महिना लागेपछि भने काम गर्न जुर्मुराउने र सरकार पनि असार लागेपछि मात्रै विकासको काममा जाँगर देखाउने प्रवृत्तिले असारे विकासले प्रश्रय पाउँदै आएको छ ।
असार लागेपछि नै काममा जुर्मुराउने प्रवृत्तिभित्र अन्य कुन कुन असल वा खराब प्रवृत्ति लुकेको छ भन्ने कुराको खोजबिन हुनुपर्ने खाँचो पनि टड्कारो देखिएको छ । असारे विकासले दिगो विकासलाई सघाउँदैन भन्ने अनुभव आमनागरिकले धेरै अघिदेखि गर्दै आएका छन् ।
स्थानीय जनप्रतिनिधिहरूले पनि जनतालाई विकासको काम भएको र आफ्नो प्रतिबद्धता पूरा गरेको देखाउन यही असार महिनालाई नै उपयुक्त महिना ठानेर बाटाघाटो, पुलपुलेसा आदि इत्यादि बनाउने कामलाई प्राथमिकता दिने प्रवृति बढ्दै गएको छ ।टालटुले किसिमले काम सकाउने, जनताको आँखामा छारो हाल्ने र सरकारबाट कामको भुक्तानी लिने पुरानै प्रवृत्तिमा परिवर्तन आउन नसक्दा आमनागरिकले वास्तविक र दिगो विकासको अनुभूति नै गर्न पाएका छैनन् ।
विनियोजित विकास बजेट अर्थात पुँजीगत खर्चमा प्रगति देखाउन हतारहतारमा गरिने विकासको काममा गुणस्तरीयतामाथि प्रश्न चिह्न खडा हुँदै आएको छ ।यसप्रति जनप्रतिनिधिको उचित ध्यान पुग्नसकेको छैन । न त सरकारले नै उचित अनुगमन गरी गुणस्तरीयता कायम गराउने प्रयास गरेको छ । जताततैबाट बजेट फ्रिज हुन नदिने उद्देश्यले मात्रै विकासको कामलाई तीव्रता दिँदा गुणस्तरको सवाल सधैँ ओझेलमा पर्दै आएको छ । यसले गर्दा ठेकेदार कम्पनी र मतियार व्यक्तिहरूलाई आर्थिक लाभ त हुने गरेको छ, तर यसको सीधा असर विकासको दिगोपनामाथि परेको छ । असार वा असारअघि बनाएको सडक असारपछि नै हराउने अथवा असार वा असारअघि कालोपत्रे गरिएको सडक असारपछि नै हिलाम्मे खेतमा परिणत हुने विकासले कहिल्यै दिगो विकासलाई सघाउँदैन र यस्तो असारे विकासबाट कहिल्यै दिगो विकासको अपेक्षा पनि गर्न सकिन्न ।
जताततै रातारात सडक कालोपत्रे गर्ने काम भइरहेका छन् । स्थानीय जनप्रतिनिधि र ठेकेदार कम्पनीहरूले रातभरि नसुतेर काम गरेको भनेर सामाजिक सञ्जालहरूमा सडक कालोपत्रे गरिँदै गरेका तस्बिरहरू समेत पोस्ट गर्ने गरेका छन् । वास्तवमै छिटो काम सकाउन र विकासलाई तीव्रता दिनका लागि भन्दा जसोतसो टालटुल गरी काम सकाउने र योजना सम्पन्न भएको प्रतिवेदन र बिलभर्पाई पेस गरी भुक्तानी लिइहाल्ने उद्देश्यले मात्रै यसरी रातारात काम गरेको बुझ्न सकिन्छ ।
साँच्चै विकासको काम गर्ने र दिगो विकासलाई सघाउने हो भने वर्षैभरि यस्तो कामलाई गति दिनुपर्छ र काममा गुणस्तर कायम राख्नुपर्छ । अहिले भइरहेको असारे विकासको काममा गुणस्तरको अलिकति पनि अपेक्षा गर्नु मुख्र्याइँ नै हुन्छ । यो तथ्यबाट सरकारका जिम्मेवार पदाधिकारी अनभिज्ञ छैनन् ।
विकासको कामलाई प्रक्रियामा अल्झाउने सरकारी ऐननियम र समय–तालिकाअनुसार काम नगर्ने ठेकेदार कम्पनीको प्रवृत्तिले गर्दा विकासको कामले सधैँ असार कुर्नुपर्ने नियति दोहोरिँदै आएको हो । यस्तै प्रवृत्तिले गर्दा सरकारको खर्च गर्ने क्षमतामा समेत गुणात्मक सुधार आउन नसकेको हो । सरकारको यही खर्च गर्ने क्षमतामा गुणात्मक सुधार आउन नसक्दा विनियोजित पुँजीगत खर्चमा प्रगति हुन नसकेको र विकास तथा निर्माणको कामले गति लिन नसकेको हो ।हतारमा गरिएको खर्चले आमनागरिकलाई सुविधा दिन सक्दैन । यसले बजेटको दुरुपयोग मात्रै बढाउँछ । एघार महिनामा नभएको काम एक महिनामा कसरी हुन्छ र त्यो काम कस्तो हुन्छ, सहजै अनुमान गर्न सकिन्छ ।
विनियोजित बजेट खर्च नहुने प्रवृत्तिमा सुधार गर्ने उद्देश्यले नेपालको संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको र खर्च गर्नका लागि छुट्टै अख्तियारी पठाइरहन नपर्ने, आर्थिक वर्ष सुरु भएको पहिलो दिनदेखि नै अधिकारप्राप्त अधिकारीलाई बजेट खर्च गर्ने अख्तियारी हुने र त्यसअनुसार मातहतका निकायलाई विनियोजित रकम निकासा दिनसक्ने व्यवस्था हुँदा पनि कर्मचारीतन्त्रको सुस्तताले गर्दा खर्च गर्ने क्षमतामा सुधार आउन सकेको छैन । जसले गर्दा असारे विकासले प्रश्रय पाएको छ र यसले निरन्तरता पाइरहेको छ । यस्तो असारे विकास कामचोर ठेकेदार र अनियमितता गर्न पल्केका सरकारी पदाधिकारीका लागि अनियमितता गर्ने एउटा सजिलो माध्यम बनेको छ ।
न्यूनतम मापदण्ड नै पूरा नगरिएका गुणस्तरहीन कामलाई समेत स्वीकृत गरेर भुक्तानी दिनु सरासर गलत हो । तर यस्तो गलत कार्यमा स्थानीय जनप्रतिनिधिदेखि, राजनीतिक दलका नेता, कार्यकर्ता र कर्मचारी तथा अन्य पदाधिकारीहरूको समेत प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता हुने हुँदा गुणस्तरको सवालमा कुनै प्रश्न उठाइने गरेको छैन । सबैलाई भाग पु¥याइने र सबैले मिलीजुली खाने हुँदा असारे विकासको बेथिति बढ्दै गएको देखिन्छ । असारे विकासको चटारोमा देखिएको स्थानीय जनप्रतिनिधि समेतको संलग्नताले यही संकेत गरेको छ ।
नेपालमा आर्थिक वर्ष प्रत्येक श्रावण महिनामा सुरु भएर असार महिनामा सकिन्छ । हाम्रो सामाजिक सांस्कृतिक चलनअनुसार मुख्य चाडपर्व श्रावणमा सुरु भएर कार्तिकसम्म लम्विन्छन् । यसले कर्मचारीतन्त्रलाई मात्र होइन विकासमा संलग्न सबै पक्षलाई प्रभावित गर्छ । यस दृष्टिले आर्थिक वर्षको पहिलो चौमासिक लगभग कामै नभई बित्छ । कुनै योजना एक वर्ष अवधिको हो भने बाँकी आठ महिनामा प्रत्येक दुई महिनामा तीन महिनामा सकिने कामको परिमाण बराबर काम गर्नुपर्ने अवस्था हुन्छ । हाम्रो व्यवस्थापकीय शैली, हामीसँग उपलब्ध प्रविधि र कठिन भूगोलमा रहेर त्यो परिमाण बराबरको काम गर्न असम्भवप्रायः हुन्छ ।
विनियोजित योजना कार्यान्वयनमा संलग्न हुने निर्माण व्यवसायी, उपभोक्ता समिति, आपूर्तिकर्ता तथा परामर्शदाताहरू सरकारी स्रोतविना काम सम्पन्न गर्न सक्ने अवस्थाका हुँदैनन् । कामको सम्झौता भए पनि उनीहरुलाई पेस्की रकम उपलब्ध नगराई हुँदैन । पेस्की रकम वा दोस्रो तेस्रो किस्ता रकम उनीहरूले पैसा नपाई काम अगाडि बढाउँदैनन् । यसले गर्दा योजना कार्यान्वयनमा स्वभावतः ढिला हुन्छ र असार पुग्छ ।
हाम्रो प्रशासकीय शैलीमा टिप्पणी उठानदेखि निर्णय गर्ने विषयमा नवीनतम सोच र प्रविधिको प्रयोग गरिँदैन । पात्रमा फेरबदल भएपनि प्रवृत्तिमा पुनरावृत्ति नै हुने गरेको छ । नीति नियमभित्र रहेर प्रशासकीय शैलीको नवीनता सिर्जना गर्न चुकेको छ नेपालको सार्वजनिक प्रशासन । सरकारी वेतनधारी ट्रेड युनियनका नाममा अनावश्यक हस्तक्षेप गर्न अग्रसर हुन्छन् । राजनीतिक नेतृत्वले ट्रेड युनियनको आँखाबाट समग्र कर्मचारीतन्त्रलाई हेर्ने गरेको छ । र यसको सीधा असर समग्र कर्मचारीतन्त्रको कार्यसम्पादनमा परेको छ ।
नेपाल सरकारले वैशाखदेखि असारसम्म विनियोजित बजेटको ४० प्रतिशत र असार महिनामा विनियोजित बजेटको २० प्रतिशत भन्दा बढी खर्च गर्न नपाइने नीति ल्याएको पनि धेरै भइसक्यो । वास्तवमा यस्तो प्रकारको नीतिले असारे विकासको समस्यालाई समाधान ग¥यो गरेन छुट्टै मूल्यांकनको विषय बन्ला । किनभने यस नीतिले तोकिएको सीमाभन्दा बढी खर्च गर्न पाइँदैन भनेर भनिरहँदा असारमै खर्च किन हुन्छ भनेर विस्तृत विश्लेषण गरेको देखिएन ।
असारे विकास हुनुका संरचनागत समस्या छन् जसलाई एउटा पाटोबाट मात्र सम्बोधन गर्दा अपर्याप्त हुन्छ । नभए जबसम्म टुक्रे योजना बाँडफाँट भइरहन्छन्, तयारीविनाका कार्यक्रम बजेटबाट घोषणा भइरहन्छन्, मतदाता रिझाउने नाममा राजनीति रँगिरहन्छ र हाम्रो प्रशासकीय शैली नवीनतम हुँदैन तबसम्म असारे विकासका नाममा सार्वजनिक प्रशासन आरोपित भइरहन्छ ।
जेठ असारमा सरकारी निकायहरूको बाँकी बक्यौता रहेको प्र्रशासनिक खर्च फरफारक गर्ने समय पनि हो । विभिन्न अध्ययन, अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार तथा अन्य प्रशासनिक खर्चको हिसाब मिलान गर्ने बेला पनि यही वर्षान्तका दुई महिना नै हुन् । त्यसैले प्रशासनिक खर्च पनि यही महिनामा बढ्ने गरेको देखिन्छ । सबै कामको भुक्तानी वर्षान्तमै गर्ने र बाँकी रहेका विभिन्न शीर्षकका बजेट फ्रिज हुने संभावना हुने हुँदा जे–जसरी हुन्छ ती शीर्षकका बजेट खर्च गराउने परिपाटी नेपालको प्रशासनिक संयन्त्रमा पहिलेदेखि नै विद्यमान रहेको छ ।
नेपालको सरकारी संयन्त्रमा असारकेन्द्रित खर्चले प्रतिफल दिने भन्दा पनि बजेट खर्च गर्ने नै उद्देश्य राखेको देखिन्छ । त्यसो त सरकारले वार्षिक बजेट प्रस्तुत गर्दा नै लक्ष्यको निर्धारणमा प्राथमिकता पहिचान गर्न सकेको देखिंदैन । नेपालको खर्च प्रणाली उत्पादनमुखी भन्दा पनि वितरणमुखी देखिन्छ ।
प्रदेश सरकारहरूले पनि वार्षिक विनियोजित रकम अनुसार खर्च गर्न सकेका छैनन् । प्रदेश सरकारको खर्च गर्ने संयन्त्र निकै फितलो देखिएका कारण विनियोजित रकम खर्च हुन नसकेको हो । अनि प्रदेशले तय गरेका योजना र कार्यक्रमहरूको सान्दर्भिकता र आवश्यकता पहिचानमा ध्यान दिन नसक्दा योजनाहरू कार्यान्वयनको तहमा पुग्न सकेका छैनन् । जसका कारण विनियोजित रकम खर्च हुन नसकेको हो ।प्रदेशले पनि संघीय सरकारले जेठ, असारमै खर्च बढाउने गरी काम गरिरहेका छन् । प्रदेश राजधानी तथा मुकामहरूमा दैनिकजसो चल्ने गोष्ठी, सेमिनार एवं कार्यशाला जस्ता कार्यक्रमहरूले त्यही असारे गतिविधिलाई नै झल्को दिएको छ ।
नेपालको पारम्परिक खर्च प्रणाली हेर्दा अक्सर विकासे परियोजनाहरूको बजेट पनि यही समय खर्च हुने गरेको छ । असारे विकासलाई विकासको बेथिति भन्न सकिन्छ । अनि असारे खर्चलाई ढुकुटीमाथिको ‘दबावमूलक बोझ मान्न सकिन्छ । असार लागेसँगै हुने कामले एकातिर वर्षभरि गर्नुपर्ने काम वर्षान्तको केही महिनामा नै सम्पन्न गर्न खोज्दा कामको गुणस्तरीयता सन्देहमा पर्दछ ।
असारे विकासले केवल तथ्यांकीय खर्च प्रणालीलाई प्रवर्द्धन गरेको छ न कि विकास निर्माणको गुणस्तरीयता र दिगोपनाको । त्यसैले मुलुकमा आर्थिक सुधारका कुरा गर्दै गर्दा, असारे विकासको शैली पनि बदल्नुपर्ने आवश्यकता खट्किने गरेको छ । यसका लागि प्रशासनिक ऐन–कानुन, नियम, संयन्त्र एवं खर्च प्रणालीमा परिवर्तन गर्नुका साथसाथै अर्थतन्त्रको संरचनागत परिवर्तन पनि अत्यावश्यक भइसकेको छ । अनि सरकारी खर्चको प्रभावकारिता र निर्धारित योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि असारे विकासको नियति बदल्नुको पनि विकल्प छैन ।
आर्थिक वर्षको अन्त्यमा एउटै योजनालाई टुक्रा–टुक्रा पारेर राजनीतिक व्यक्ति र कर्मचारीका चिनजानका फर्महरुसँग ‘कोटेसन मागेर यस्ता विकासे काम दिने गरिएको छ ।
आषाढभरी विकासको रमझम चल्छ । साउन लाग्दा नलाग्दै निर्मूल बन्छ । भत्कनुबिग्रनुका सारा दोष बर्सातले बोक्छ । त्यही आगन्तुक असारले बोक्छ । पहिले पहिले असारमा विकासको मूल मात्र फुट्थ्यो । हिजोआज विकासको मूल होइन बाढी नै फुट्छ । हिजोआज नेपालका मूलहरूबाट आउने मामुली पानीले बाढीलाई बाटो छोडिसकेको अवस्था पनि छ । यता विकासका खहरेहरूमा बाढी आउँने सर्वोत्तम महिना बनेको छ आषाढ । सहरमा विकासको बाढी कालोपत्रे बनेर सडक गल्लीहरूमा ओर्लंदाओर्लंदै स्वागतमा धमिलो पानीको अर्को बाढी आइपुग्छ । आषाढमै यस्तो छ । साउनमा मनसुनका पानीको बाढी आएपछि असारे विकासका बाढी सबै पुरिन्छन् र नयाँ नयाँ विकास निर्माणका लागि अर्को वर्षको असार कुर्न थाल्छन्, विकासका अभियन्ताहरू ।
दिनभरी खनेको बाटो राति पहिरोले पुर्छ । दिउँसो गरेको कालोपत्रे रातभरीको पानीले हिलोमा परिणत गरिदिन्छ । दिनभरि ठड्याएको पर्खाल राति गर्लम्म ढल्छ । यसै भएर ठेकेदारका मर्का बुझेका समझदार सरकारी इन्जिनियरहरू पहिरो र हिलो हेरेरै विकास निर्माणको जाँचपास गरिदिन्छन् । ठेकेदारले समयमा भुक्तानी पाउँछ । उपभोक्ता समितिका व्यक्तित्वहरूले मेजमानी पाउँछन् । यसरी रातारात सबैको भलो गर्दै असारे विकासको वार्षिक एक अध्याय टुङ्गिन्छ ।
हाम्रा बिरलै सडक मात्र गुणस्तरीय र टिकाउ छन । राम्रो इन्जिनियरिङ भएका र असल सामग्री राखेर बनाइएका सडक वर्षांैसम्म टिक्छन् तर हामीकहाँ वर्षौं टिक्ने सडक बन्नु बिरलाकोटीमा पर्छ ।
नेपालजस्तो देशका लागि विकास बजेट असाध्य दुर्लभ छ । देशभित्र उठेको राजस्वले ठिक्क साधारण खर्च धान्छ । विकास बजेटका लागि या त विदेशीको ऋण तथा अनुदानको मुख ताक्नुपर्छ या त आन्तरिक ऋण उठाउनुपर्छ । ऋण स्वदेशी होस् वा विदेशी, त्यसको साँवा र ब्याज भुक्तानी गर्नुपर्छ ।
अनुदान पनि सित्तैमा कहिल्यै आउँदैन । त्यसको साँवा र ब्याज त तिर्नु नपर्ला तर सामाजिक, राजनीतिक वा अन्य केही मूल्य तिरेर मात्र अनुदान आउने हो । यस्तो बाध्यताको दुर्लभ साधनस्रोतको खर्च भने कसरी गरिरहेका छौँ ? यो विश्लेषण गर्नैपर्ने पाटो हो ।
जेठ अन्तिम वा असारमा विकासनिर्माणका काम गर्नु भनेको एक प्रकारले बजेट सक्नुका लागि मात्र हो भन्ने आम बुझाइ छ । कामको प्रकृति र प्रवृत्ति हेर्दा पनि त्यस्तै देखिन्छ । हाम्रा बजेटको आकार र खर्च प्रवृत्तिले पनि त्यही भन्छ । तथ्याङ्क त्यसरी नै बोलिरहेका हुन्छन ।
आर्थिक प्रशासनको दृष्टिले हेर्ने हो भने अन्तिममा गरिने काम भनेको जसरी पनि बजेट सक्नका लागि गरिएको काम हो । खर्च नगरे बजेट खेर जान्छ भन्ने मान्यताका लागि जसरी भए पनि बजेट सक्न काम भएको मान्न सकिन्छ । यो कठोर सत्य हो ।
विगत वर्षहरूमा पनि असार लागेपछि हतार–हतारमा विकासनिर्माणका काम हुने गरेका थिए र यो वर्षले झनै निरन्तरता पाएको हो । असारमा बजेट सक्ने गरी गरिने बजेट खर्चको आर्थिक विकासमा के असर पर्छ ? यो गम्भीर विश्लेषणको पाटो अब कठोर भएर गर्नैपर्छ ।
आर्थिक वर्षको अन्तिममा गरिने अधिकांश विकासनिर्माणका काम वर्षात्को समयमा हुन्छ । कामको गुणस्तर हुँदैन । विकास बजेट सरकारको भए पनि खर्च गर्ने त निजी क्षेत्रले नै हो । सरकारी निर्माण कम्पनीले समेत निजी क्षेत्रलाई नै कामको जिम्मा लगाउँछन । निर्माण व्यवसायीले नै सरकारी बजेटका काम गर्ने हो । निर्माण व्यवसायीले बोलपत्रमा स्पर्धा गरेर वा आवश्यक प्रक्रियामा काम पाउलान् तर जे–जसरी पनि बजेट सके भइगयो भन्ने मान्यतामा परिवर्तन आउनैपर्छ । पुँजीगत खर्च दिने निकाय सरकार भए पनि काम गर्ने त निजी क्षेत्र नै भएकाले सुशासन त्यहाँ पनि लागू हुनुपर्छ ।
आर्थिक वर्षको अन्तिम र विकासनिर्माणका काम गर्ने बेमौसममा हतार–हतारमा काम किन हुन्छ ? यसको जिम्मेवारी कसले लिने ? ऋण लिएको पैसाको साँवा र ब्याज भुक्तानी जनताको करबाटै उठेको पैसाले तिर्नुपर्ने हो । जसरी पनि बजेट सक्दा लगानीको दुरुपयोग, अनियमितता र भ्रष्टाचारजस्ता कार्य हुन्छ, यो आर्थिक अनुशासनविहीन कार्य हो ।
पुँजीगत खर्च समयमा नगरेकै कारण अर्थतन्त्रमा गम्भीर प्रतिकूल असर परेको हुन्छ । सबैभन्दा ठूलो असर त अहिले असारमा बेमौसममा काम गरिरहनुले परेको छ । साधन र स्रोतको दुरुपयोग र गुणस्तरहीन काम हुने सम्भावना बढेको छ । मौसमको असर भनेर गुणस्तरहीन काम गरेर ठेकेदारले अनियमितता गरेकोमा उन्मुक्तिसमेत पाउने सम्भावना बढेको छ ।
समयमा पुँजीगत खर्च हुँदा त्यसले अर्थतन्त्रमा सकारात्मक चक्रीय प्रभाव पार्दछ । यसले लगानीसमेत बढाउदै थप रोजगारी सिर्जना , उत्पादन बढाउने गर्दछ । अर्थशास्त्रीय मान्यतामा सरकारले एक खर्ब रुपियाँ खर्च गर्दा अर्थतन्त्रमा त्यसले चार खर्ब रुपियाँसम्मका आर्थिक क्रियाशीलता खडा गर्छ ।
साधन र स्रोतको सही सदुपयोग गर्न सरकार गम्भीर हुनैपर्छ । असारमा विकासको गति देखाएर साधनस्रोत सक्नेतिर अब कठोेर नियन्त्रण गर्नैपर्छ । असारे विकासको प्रतिकूल असरतिर ध्यान पुग्न सकेन भने हाम्रो आर्थिक विकासले गति लिन सक्ने छैन ।
सिधै भुक्तानी, वस्तुगत सहायता, प्रविधिक सहायता र स्वयं–कार्यान्वयनको खर्चको विवरण नेपाल सरकारलाई ढिलो प्राप्त हुन्छ। कतिपय अवस्थामा आर्थिक वर्ष सकिएको दुई–चार महिना पछि आउँछ।
यसले गर्दा असारमा बढ़ी खर्च भएको देखिन्छ। काम त समयमा भएको हुन्छ, तर खर्च मात्र अन्त्यमा देखिन्छ।विकास–निर्माणको मात्र होइन, पुँजीगत सामान खरीदको पनि ठेकेदारले बिल दिने बित्तिकै सरकारले भुक्तानी गर्दैन।
निर्माणको कामको प्राविधिक जाँच हुन्छ। समान स्पेसिफिकेशन वा तोकिए बमोजिम आयो वा आएन हेरिन्छ । यो गर्न केही समय लाग्छ। प्राविधिक जाँच गरेर भुक्तानी गर्न ठीक छ भनी प्राविधिक वा परामर्शदाताले बिल प्रमाणित गरेको ३० दिनभित्रमा भुक्तानी गर्नु पर्ने कानुनी व्यवस्था सार्वजनिक खरीद नियमावलीको नियम १२३मा रहेको छ ।
यसले गर्दा फागुन चैतमा भइसकेको कामको पनि जेठको अन्त्य वा असार महिनामा रकम भुक्तानी हुन्छ।नेपाल सरकारको लेखाङ्कन प्रणाली नगदमा आधारित भएकोले सामान र बिल प्राप्त हुँदैमा खर्च लेखाङ्कन हुँदैन।यदि दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाको काम हो भने बिल स्वीकृत गर्नु अघि दातृ निकायको पनि सहमति चाहिन सक्छ, जसले भुक्तानी अझ ढिलो हुन सक्छ।
त्यसैगरी सरकारी संयन्त्रको कमजोरीपना, आयोजना तथा ठेक्का व्यवस्थापन र निर्माण व्यवसायीको अक्षमताले पनि असारे विकास बढाउँछ ।
आर्थिक वर्ष शुरू भएपछि मात्र बोलपत्र तयारीको काम शुरू हुन्छ। कतिपय अवस्थामा आयोजनाको डिजाइन इष्टिमेट नै गरिएको हुँदैन। डिजाइन इष्टिमेट, बोलपत्र आदिको काम सकेर ठेकेदारलाई काम शुरू गर्ने आदेश दिँदा दिँदै फागुन लाग्छ। ठेकेदारले कामको गति पक्रेर बिल पेश गर्दा जेठ लागिसकेको हुन्छ। स्वाभाविक हो, भुक्तानी असारमा मात्र हुन सक्छ।
यसमा सुधार गर्न सरकारले विगतमा विभिन्न नीतिगत प्रयत्न ग¥यो — बहुवर्षीय ठेक्का लगाउने, फागुनपछि ठेक्का लगाउन नपाइने बरु बजेट समर्पण गर्नुपर्ने, खरीद–योजना तयार नभएका आयोजनालाई बजेट विनियोजन नगर्ने, आदि।
ठूला आयोजना वा दातृ निकायको सहयोगका आयोजनाको बचत बजेट मात्र होइन, विकास सम्बन्धी आकस्मिक काम वा भवितव्यका लागि आवश्यक पर्न सक्छ भनेर अर्थ–विविध शीर्षकमा रहेको बजेट पनि कुनै तयारी बिनाका टुक्रे आयोजनामा निकासा भएर जान सक्छ।
यस्तो प्रकृतिको रकमान्तर वा स्रोतान्तर गर्न राष्ट्रिय योजना आयोगको सहमति र अर्थमन्त्रीको निर्णय आवश्यक पर्छ। मन्त्रालय स्वयंले साधारणतः गर्न सक्दैनन्।सरकारभित्रको राजनीतिक नेतृत्व र सरकार बाहिर भए पनि प्रभावशाली राजनीतिक नेतृत्वको आग्रह वा दबाबमा धेरैजसो रकमान्तर हुन्छ।
केहीमा अर्थमन्त्री स्वयंको पनि अभिरुचि हुनसक्छ, तर धेरैजसो अर्थमन्त्रीको व्यक्तिगत अनिच्छा हुँदा हुँदै पनि दबाबका सामु रकमान्तर वा स्रोतान्तर निकासा दिन बाध्य हुन्छन्।कतिपय वर्षमा असारको अन्तिम दिनमा ब्याङ्क खुल्ने अन्तिम समयसम्म पनि यस्तो निकासा भएका छन् र खर्च भएको प्रतिवेदन आएका छन्।
असारको अन्तिम हप्तामा रकमान्तर निकासा त प्रत्येक वर्ष नै जान्छ।आश्चर्य के हो भने, पूर्व तयारी राम्रो भएका, सार्वजनिक खरीद र वित्तीय अनुशासन सम्बन्धी कानुनहरू पालन गरिएका आयोजनाहरूमा खर्चको प्रगति त्यति राम्रो नहुन सक्छ, तर यी पूर्व–तयारी बिनाका टुक्रे आयोजनामा शतप्रतिशत खर्च हुन्छ!
































