ऋण लिएर तिर्न नपर्ने भन्ने हुन्न: अर्थमन्त्री विष्णु पौडेल

1.1K
shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले देश आर्थिक मन्दीको अवस्थामा रहेको स्वीकार गरेका छन् । मंगलबार नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट्न पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा कोही पनि व्यवसाय विस्तार गर्ने पक्षमा नरहेको बताए ।

 

यद्यपि उनले अबको सरकार स्थिर सरकार भएकाले अर्थतन्त्र अब सुधारमा आउने उनले बताए । उनले आर्थिक सुधारका लागि काम गर्ने बताउँदै शीघ्र आर्थिक सुधारका संकेत देखिने दावी गरे ।

 

उनले ऋण लिएर नतिर्ने अवस्था आएको व्यवासायीको गुनासोमा त्यो अवस्था नहुने बताए । ऋण लिएर तिर्न नपर्ने भन्ने नहुने भन्दै उनले बैंकको लगानी नडुब्ने भन्दै आश्वस्त हुन आश्वासन दिए ।

 

यस्तै आगामी मौद्रिक नीतिका विषयमा बैंकर्सहरूले राखेको चासोमा उक्त विषयमा सरकारले हस्तक्षेप गर्न नमिल्ने भन्दै राष्ट्र बैंक यसमा स्वतन्त्र भएको र उक्त विषयमा आफू पनि विश्वस्त रहेको बताए ।

 

उक्त भेटमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्‍याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए । साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा उनले राखेका थिए ।

 

पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकर्सहरूले बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्ने बताएका थिए ।

 

उनीहरूको धारणापश्चात् अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पुर्‍याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सबै अग्रसर हुनु पर्ने बताए । मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

civil hospital
Hams Hospitals