अन्तराष्ट्रिय अहिंसा दिवस र पशु हिंसाको वहस
वि.सं.२०८१ असोज १७ बिहीवार
shares
धर्म आचार विचार र संस्कारको समग्र रुप हो । हिन्दू, बौध्द, क्रिश्चियन, मुश्लिम, जैन, यहुदी लगायतका सबै धर्म दर्शनमा आधारित छ । यस मध्ये हिन्दू धर्म आदिकाल देखि चल्दै आएकोले यसलाई सनातनी धर्म पनि भन्ने गरिन्छ । । विश्वमा मानव–अधिकार मात्र नभएर पशु–अधिकारका बिषयमा समेत आवाज वुलन्द भई रहेको वर्तमान सन्र्दभमा हाम्रो देशमा हजारौँ–हजार निर्दोश जनावरहरूको बलीको नाममा सामुहिक हत्या भइरहेको अवस्था विधमान छ । धार्मिक परम्पराको निरन्तरता भन्दै गरिने अबोध प्राणीहरूको क्रुर–वध पूर्ण रूपमा अमानवता, असभ्यता, अबैज्ञानिक,असान्र्दभिक,धर्मको नाममा कलंक र धर्मको अपुर्ण ज्ञानको धोतक हो भन्ने वारे विश्वप्यापी वहस भइरहेको छ ।
नेपालमा कथित दशैं तिहार जस्ता चाडपर्व यो वर्ष पनि प्रवेश गरेको छ । यी कथित चाडपर्व को नाममा अबोध खशी, बोका, रांगा, भैंसी, च्याग्र्रा,परेवा र कुखुराहरुको चाडपर्वको नाउँमा धर्मको उपहास गर्दै हत्या हिंशा गर्दैछन् । हिन्दू धर्ममा केवल चाड पर्वहरुमा सार्वजनिक स्थानहरुमा अबोध खशी बोका रांगा, भैंसी र पंक्षीहरुको हत्या गरी बली दिनु भनेको कायरता,कुसंस्कार र कुकर्म रहेको निष्कषर््ा पशु अधिमनरकर्मीहरुको छ । जातीय छुवाछत, जातीय असमानता र भेदभाव पनि एक बलियो हिंशा हो । समाजमा जातीय असमानता र हिंशा चाडपर्वका नाउँमा पशुपंक्षीको हत्या सामाजिक उद्दण्डता , धामिक पाखण्ता,असभ्यता,अराजकता,अमानवता वाहेक अरु केही होइन ।जीव हत्या वसुधैव कुटुम्वकमको विरुद्ध हो ,अभिसाप हो । हिन्दू धर्मका ठेकेदार कथित पण्डितहरु,मन्दिरका तथाकथित मठाधिसहरु जान वा अन्जान रुपमा मानव सभ्यताको विरुद्ध लागेको पाइन्छ ।नेपालमा दशैं तिहार जस्ता कथित चाडवाड आए लगत्तै लाखौको संख्यामा खशी, बोका, रांगा , भैंसी र पंक्षीहरुलाई बली वेदीमा चढाउँने कुसंस्कारको विकास भएको छ । यसले एकातिर हिन्दूत्वको उपहास गरीरहेको छ भने अर्कोतिर हरेक चोक गल्लिमा रगत मासु सडेर वा डढेर वातावरण प्रदुषण बनाई रहेको अवस्था विधमान छ । पशुपंक्षीको हत्या गर्नु आफैमा पाप हो भने मानव सभ्यता र मानवता मासिएको अवस्था समेत हो ।
कुकुर र गाई गोरु पुज्ने हिन्दु समाजको वेद र गीता वास्तवमा वैज्ञानिक दर्शन हो । पशुहरुको संरक्षण गर्नु यसको मूल आशय हो । तर, कालान्तरमा हिन्दू समाज बली हिंशाप्रति आर्कर्षित हुन पुग्यो । प्राकृत ईश्वरीय भगवानले ब्रहमाण्ड र यसै प्रकारको जीव जीवात्माको रचना गरे तिनै शक्ति स्वरुपी भगवानबाट चाडपर्वको नाउँमा ती खशी बोका राँगा, पाठा तथा पंक्षीहरुको बली देऊ भनेर आदेश दिएको अवस्था नै छैन । वेद र गीता बाहेक अन्य पुराणको आदेश मान्न सकिने अवस्था रहदैन किनकी पुराण दन्त्य कथामा आधारित हुन्छ आदेश छैन ।
नेपालमा हामीले धर्मले संस्कृतिलाई परिभषित गर्नुको सट्टा संस्कृतिले नै धर्मलाई परिभषित गरिरहेका छौँ। नेपालमा मान्दै आएका संस्कृतिहरू मध्ये केहि हिन्दू धर्मबाट प्रदुर्भाव भएका छन् अनि कुनै चाँहि हामी आँफैले उत्पत्ति गरि अज्ञानता–बश हिन्दू धर्मसंग जोडी दिएका छौँ– गढीमाइ बली–प्रथा यसको ज्वलन्त उदाहरण हो। त्यस्तै देवीका मन्दिरहरूमा दशैँमा दिइने बलीहरू, पुरानो समाजमा सती–प्रथा यसका अरु थप उदाहरण हुन। संसारमा भौतिक संरचना कुन चरम बिन्दुमा पुगि सके तर हामी मुर्ख नेपालीहरू दुई–कोठे घरको ढलान गर्दा समेत बोकाको बली दीन छोडेका छैनौँ– घर बलियो हुने अन्धबिश्वामा। यो कस्तो संस्कार हो ?
सबै प्राणीलाई आफुँलाई जत्तिकै माया गर्ने, अरु प्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाकाहारी÷सात्विक भोजन र र योग बाट पवित्र जीवन जिउने व्यक्ति मात्र पुर्ण मानव हुन सक्छ । हिन्दू धर्मको नाममा फैलीएको बिभ्रान्ति र त्यसैबाट पैदा भएका कु–संस्कारहरू नेपाली समाजको चुनौती हुन्। धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा–हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।‘बलि शब्द कुनै हत्या हिंसा, मार–काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन।
हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले सतोगुणको धरातलबाट पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। अहिंसा परमो धर्मः भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा मनुष्यको लक्ष्य सतोगुणको धरातलमा पनि बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या कुतर्क गर्न खोज्नु अल्पज्ञताको परिचय हो।
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध वा वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् ः यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –यद् घ्राणभक्षो विहितःसुरायास्तथा पशोरालाभनं न हिंसा। एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदुः स्वधर्मम्।।( श्रीमद्भागवत ११ –५–१३ )अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघ्रिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु–तर्क प्रमाण प्रस्तुत गर्ने गरिन्छ।
तसर्थ बलि प्रथा अज्ञानी वा आध्यात्मिक ज्ञान नभएका र मतलबी आसुरी प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो, यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि मनुष्य योनिमा अपांग र गरीब कुलमा जन्म लिन्छन । मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो यस्ता व्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन । अर्को कुरा यो बुझ्नुहोस कि चलन चाहे हजÞारौ वर्षदेखिको होस वा वाउबाजेले चलाएको होस, कुनै राजाले चलाएको होस, सनातन धर्म शास्त्र अर्थात वेद, उपनिषद, पुराण, महाभारत, रामायण, स्मृति, गीता आदिमा उल्लेख भएको छ भने मात्र त्यो सनातन हिन्दु धर्मको कुरो हो नत्र त्यो चलेको चलन हो, शास्त्र सम्मत छैन भने त्यो वैदिक सनातन धर्मको अंश हैन।
मानवको जन्म अन्यलाई मारेर मासु खाएर जिब्रो पडकाउन भएको हैन। तन्त्र साधना अनुरूप बलि दिएर तमोंगुणी भूतलाई बशमा गरी स्वईच्छा पूरा गर्न पनि भएको हैन। हाम्रो जन्म त धर्म गर्न अर्थात दया, माया, सबै जीवात्माप्रति प्रेम, काम÷क्रोध÷लोभ÷मोह नियंत्रण जस्ता गुण धारण गर्न मनुष्यको जन्म भएको हो ।
नेपालीहरूकोे महान चाड नजिकिँदै गर्दा पशुबलि विरुद्धको आवाज उठ्ने गरेको पाइन्छ । तर पशुबलि विरुद्धको आवाज यदाकदा मौसमी रूपमा मात्र उठ्ने गरेको पाइन्छ । बिगतमा गढीमाई मेलामा हुने बलिप्रथाविरुद्ध कडा रूपमा आवाज उठेको थियो । देश भित्र र देश बाहिर (भारत)बाट पनि अहिंसा प्रमीहरूले बलि प्रथा रोक्न आवाज उठाए पनि सरोकारवाला पक्षले आवाजलाई नजरअन्दाज गर्दै अबोध पशुपंक्षीहरूको रगतरूपी होली प्रथालाई निरन्तरता दियो ।
शास्त्रले मानिसमा हुने बोकाको जस्तो काम भावना, भेँडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन। बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशु बलि दिनु नहुने भनाइ छ । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बजारमा खसीबोका भन्दा नरिवलको सङ्ख्या बढेको देखिन्छ ।
देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकांक्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो भान हुन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।पशुबलि चढाउने कुरीति तथा कुप्रथाले हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्ने गरको छ । एकातिर हामी सबै प्राणी भगवानको सन्तति हौँ पनि भन्ने अनि अर्कातिर अबोध र निर्दोष प्राणीको हत्या गरि भगवानलाई खुशी पार्ने नाममा अबोध पशुको बलि चढाउने । के देवीदेवताहरू रगतका प्यासी छन् ? के उनीहरू बलि चाहन्छन् ? रगत माग्छन् ? त्यो पनि आफुले सृजना गरेको सन्तानको घाँटी रेटेर चढाएको रगत ?
अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।अन्धविश्वासको कालो बादल हाम्रो समाजमा यसरी मडारिएको छ कि हामी स्वतन्त्र भएर सोच्न पनि सक्दैनौं । जस कारण हामी गलत र सहि बिचको फरक पनि छुट्टाउन सक्दैनौं र बलि प्रथा, बोक्सी प्रथा, छुवाछूत प्रथा जस्ता अनेकौं कुप्रथा तथा कुसस्ँकृतिलाई अँगालिरहेका छौं ।दोस्रो कारण, राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु हो । राज्यको कर्तव्य कुरीति तथा कुप्रथाको अन्त्य गरी सभ्य समाजको सृजना गर्नु हो । तर बिडम्बना भन्नु पर्छ राज्यले आफ्नो कर्तव्य भुलेर कुप्रथाहरूलाई प्रश्रय दिइरहेको छ । राज्यमा अनिष्ठ केहि नहोस, जनकल्याण होस भन्ने नाममा र सोचे जस्तो हुन्छ भन्ने भ्रममा राज्यद्धारा विभिन्न शक्तिपीठहरूमा बलि तथा भेटी चढाउन परम्पराको रूपमा विकसित भएको छ भन्दा अतिश्योक्ति नहोला । परम्पराको नाममा राँगा बलिका लागि सरकारले आर्थिक सहयोग गर्नु जस्ता कार्यले राज्यले चेतन मनद्धारा नै बलि प्रथालाई प्रश्रय दिइरहेको आभास हुन्छ । नेपाल वायुसेवा निगमद्धारा जहाज खराबहुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयक्त रुपमा बोकाको बलि दिएको सनसनीपूर्ण घटना पनि ताजा नै छ । प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिनु तथा भैंसी पूजा गर्नु जस्ता लज्जास्प्रद कार्यले नेपाली समाजमा अन्धविश्वासमा आधारित कुरीति तथा कुप्रथाहरूलाई बढावा दिइरहेका छन् । तेस्रो कारण, धार्मिक व्यक्ति तथा संघसंस्थाहरूबिच एकमत नहुनु हो ।
केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार÷सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।
धर्मसँग पशुबलि जोड्नु कतिको जायज होला? वास्तवमा धर्मसँग पशुबलि जोड्नुमा न त कुनै तुक छ, न त कुनै तर्क । तर अहिलेको अभ्यस्त परम्परागत प्रवृत्तिलाई नियाल्दा धर्म पनि दुई प्रवृत्तिका देखिन्छन् । एउटा बलि प्रथालाई अनिवार्य रूपमा स्वीकार्ने र अर्को बलि प्रथालाई विशुद्ध रूपमा अस्वीकार गर्ने ,एउटा निर्दोष पशुको घाँटी रेटेर उसकै आमा (देवी)लाई रगत चढाउने र अर्को यस धर्तीमा सबै प्राणीको उत्तिकै अस्तित्व छ भन्ने । एउटा हिंसाको बाटो हिँड्न सिकाएर हिंस्रक बन्न सिकाउने र अर्को अहिंसाको पाठ सिकाउने ?
धर्म भनेको आफूले आफूलाई उजागर गर्ने एउटा बाटो हो । त्यसैले अब हामीले आफूले आफूलाई सोध्ने बेला आएको छ । हामी कुन धर्म वा बाटो रोज्न चाहन्छौं ? के हामी सभ्य समाज निमार्ण गर्ने बाटो अँगाल्ने हो या असभ्य समाज निर्माण गर्ने बाटो अँगाल्ने हो ? अन्धविश्वास मुक्त समाज उन्मुख बाटो अपनाउने हो या अन्धविश्वासलाई प्रश्रय दिने बाटो अपनाउने ? अहिंसाको बाटो हिँड्न सिकाउने बाटो अँगाल्ने या हिंसाको बाटो हिँड्न सिकाई हामीलाई हिंस्रक बनाउने बाटो अपनाउने ? अब हामीले सोच्ने र यात्रारूपी जीवनमा बाटो रोज्ने बेला आएको छ ।
अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ , हामिले श्रध्दा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामिलाई आशिरवाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्त्र र शक्ति साधना विस्वास गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् । हो मासु खानैका लागि मात्र मन्दिरमा लगेर परम्परा अनि श्रध्दा भक्तीका नाममा आडम्बरितामा बली पुजा गर्दै बोका काट्न लगायर मासु खानु र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।
हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ। जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ। वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू। विश्वको प्राचिन मत हो हिन्दू। प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो। शंख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतालम्वीहरू भएको देश भारत हो। ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ। जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो।
आजको नेपाली हिन्दू समाजमा हिंसालाई पनि धर्मको एउटा अंग हो भन्ने ढंगबाट व्याख्या गरिएको छ। जबकि हाम्रा प्राय ः जसोसबै शास्त्रमा हिंसाको निन्दा गरिएको छ। हत्याको विरोध गरिएको छ। प्राणीको हितका लागि आह्वान गरिएको छ। तर आफूलाई हिन्दू बताउने हामीहरू पुजापाठका लागि मन्दिर र तिर्थ धाउँछौँ तर पवित्र इश्वरको मुल मन्दिर अर्थात् आफ्नो शरिरलाई चाहीँ शास्त्रले खान वर्जित गरेको ‘अभक्ष’ खान्छौं। त्यतिमात्र होइन, मन्दिरमै प्राणीको हत्या गर्छौं। कतिसम्म भने हामी आराध्यदेव भगवान पशुपतिलाई धुपदिप नैबेद्यका साथ पुज्छौँ तर पशुहरूका नाथ, पशुहरूका संरक्षक भगवानलाई पुजेर घर फर्केर बोल्न नसक्ने साना बालबच्चाजस्तै निर्दोस पशुहरूलाई मारेर प्राप्त हुने अभक्ष या माशुको भोजन गर्छौं।
तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन्। संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुर्नजन्म हुने कुरा श्रीमद्भागवतमा छ। बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ। संयक आजीविका अन्र्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ। भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ।
दशैँमा वर्षेनी उठ्ने बहस हो– बलि दिनु धर्म हो कि हैन? प्राणीलाई काटेर त्यसको रगत चढाएर कसरी धर्म हुन्छ ? यो धर्म हो भने हिन्दु शास्त्रमा बलिको कस्तो व्यवस्था गरिएको छ ? पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एवं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ। घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अंगाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्।
धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?
पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।धर्मको सहि तरीकाले पालना गर्दै सभ्य र समुन्नत समाजको सपना देख्ने हो भने यी सम्पुर्ण कूरीतिहरू हटाउनु या कम्तिमा सुधारको सुरुवात गर्न अत्यावश्यक छ। मठ मन्दिरहरुमा गरिने पशुबध तुरुन्त अन्त गरिनु पर्छ । उत्कृष्ट हिन्दू वाङमय तारतामागर, वेद, उपनिषद् र गीताले देखाएको दर्शनलाई निर्विरोध लागू गरौं । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं । धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं ।दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

































