एसईई नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा, बोर्ड बैठक आज बस्ने
वि.सं.२०८२ असार १३ शुक्रवार
shares
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार हाल नतिजा प्रकाशनका लागि आवश्यक सबै प्रक्रिया अन्तिम तयारीमा रहेको छ । यद्यपि बोर्डले अहिलेसम्म नतिजा सार्वजनिक गर्ने मिति भने तोकेको छैन ।
नतिजा प्रकाशनको विषयमा निर्णय गर्न आज परीक्षा बोर्डको बैठक बस्ने तयारी गरिएको छ । बैठक आजै बस्ने भए पनि सायं कुन समयमा बस्ने भन्ने टुंगो भने लागेको छैन । बैठकले नतिजा प्रकाशनको मिति तय गर्ने अपेक्षा गरिएको छ ।
यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना तथा ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा बोर्डका अधिकारीहरूले आवश्यक परीक्षण र परिणाम प्रमाणीकरणको कार्य अन्तिम चरणमा रहेको बताएका छन् । बोर्डले नतिजा प्रकाशित गर्न आवश्यक प्राविधिक प्रणाली परीक्षण, नतिजा प्रमाणिकरण, समायोजन, र अन्तिम प्रतिवेदन तयार पार्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको छ ।
बोर्डको बैठकपछि नतिजा सार्वजनिक गर्ने मिति र समयबारे स्पष्ट हुने अपेक्षा गरिएको छ । यस वर्ष पनि नतिजा बोर्डको वेबसाइट, एसएमएस, र मोबाइल एपमार्फत सार्वजनिक गरिने तयारी छ ।

































