तातोपानी नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात, ४ करोडभन्दा बढी राजस्व असुली

2.3K
shares

सिन्धुपाल्चोक। चीन–नेपाल व्यापारिक नाका तातोपानीबाट पहिलोपटक हेलिकोप्टर आयात गरिएको छ। विभिन्न इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा, फलफूल तथा सवारीसाधन मात्र आयात हुँदै आएको यस नाकाबाट हेलिकोप्टर भित्रिएको यो पहिलो घटना हो।

हिजो बेलुकी चीनबाट ४० फिटे टेलरमा ल्याइएको चिनियाँ हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो। हेलिकोप्टरको सम्पूर्ण प्रविधिक परीक्षण तथा भन्सार प्रक्रिया सकिएपछि आज काठमाडौंतर्फ उड्ने कार्यक्रम तय गरिएको छ।

यस हेलिकोप्टरमार्फत मात्रै ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व असुल भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। माउन्टेन हेलिकोप्टर प्रालिको स्वामित्वमा रहेको सो हेलिकोप्टर आडो ट्रान्सपोर्ट कम्पनी मार्फत भित्राइएको हो। उक्त कम्पनीले भूकम्पपछि चीनका विभिन्न सहरबाट सामग्री आयात गर्दै आइरहेको छ।

माउन्टेन हेलिकोप्टर प्रालिले यसअघि नै थप पाँचवटा चिनियाँ हेलिकोप्टर पनि यही तातोपानी नाकाबाट भित्र्याउने तयारीमा रहेको जनाएको छ। यस घटनाले तातोपानी नाकाबाट अत्याधुनिक र उच्च मूल्यका प्रविधि सामग्री पनि सहजै आयात गर्न सकिने सम्भावनाको संकेत दिएको भन्सार अधिकारीहरूको भनाइ छ।

तातोपानी नाका लामो समयदेखि भूकम्पपछिको पुनर्निर्माण र प्रशासनिक जटिलताका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। तर, पछिल्ला दिनमा यसको उपयोग विविध र उच्चस्तरीय आयातमा पनि विस्तार हुँदै गएको छ।

civil hospital
Hams Hospitals