अनेरास्ववियू (क्रान्तिकारी)द्वारा आह्वान गरिएको शैक्षिक हडताल : देशभर अधिकांश विद्यालय बन्द
वि.सं.२०८२ साउन २ शुक्रवार
shares
काठमाडौँ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको एक दिने आम शैक्षिक हडतालका कारण शुक्रबार देशभरका अधिकांश विद्यालय तथा शैक्षिक संस्था बन्द रहेका छन्।
बिहीबार बेलुका केही निजी विद्यालयहरूले अभिभावकहरूलाई एसएमएसमार्फत विद्यालय बन्द हुने सूचना दिएका थिए। यद्यपि, आन्तरिक परीक्षा सञ्चालन भइरहेको कतिपय विद्यालय भने खुलेका छन्।
हडतालको प्रमुख मागहरूमा:
-
निःशुल्क शिक्षाको सुनिश्चितता,
-
शिक्षामा भइरहेको निजीकरण अन्त्य,
-
तथा नयाँ शिक्षा ऐन छिटो जारी गरिनु पर्ने माग छन्।
विद्यार्थी संगठनले शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक भएको उल्लेख गर्दै सरकारलाई दबाब दिनका लागि शान्तिपूर्ण रूपमा हडतालको कार्यक्रम अघि सारेको जनाएको छ।
यसअघि पनि अनेरास्ववियू (क्रान्तिकारी)ले पटक–पटक शिक्षामा सुधार, समावेशिता र समान पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको थियो।
शैक्षिक हडतालका कारण विद्यार्थी, अभिभावक र शिक्षकमाझ मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले मागहरू जायज रहेको बताएका छन् भने अन्यले पठनपाठन अवरुद्ध हुनु विद्यार्थीको भविष्यसँग खेलवाड भएको टिप्पणी गरेका छन्।


























