जेनजी आन्दोलनपछि बैंकिङ सेवा आंशिक रूपमा सञ्चालन
वि.सं.२०८२ भदौ २६ बिहीवार
shares
काठमाडौं । बैंकहरु आंशिकरुपमा सञ्चालनमा आएका छन् । जेन जी आन्दोलनका कारण प्रभावित बनेको बैंकिङ सेवा बिहीबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको हो ।
बैंकहरुले विभिन्न शाखाहरू तोकेर सेवा दिन थालेका छन् । बिहीबार नबिल बैंकले काठमाडौं उपत्यकामा सात वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंमा तीन र भक्तपुरमा दुई दुई वटा कार्यालय सञ्चालन गरेको हो ।
नबिल बैंकका अनुसार तीनधारा, महाराजगञ्ज, हलचोक, कौशलटार, सूर्यविनायक, ललितपुर र सातदोबाटोका कार्यालयहरू सञ्चालन भएका छन् । यी शाखाहरूबाट दिउँसो २ बजेसम्म मात्रै सेवा उपलब्ध गराइने भएको छ । उपत्यका बाहिरका शाखाहरू भने यथाशीघ्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
त्यस्तै, एनआइसी एसिया बैंकले ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । कोशीका ७ शाखा, मधेशमा २, बागमतीका १०, गण्डकीका ४, लुम्बिनीका ८, कर्णालीका ३ र सुदूरपश्चिमका ४ कार्यालय सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
माछापुच्छ्रेका ६१ शाखाबाट सेवा दिइने भएको छ । यस बैंकले पनि २ बजेसम्म मात्रै सेवा दिने भएको छ ।

एनएमबी बैंकले पनि काठमाडौं उपत्यकाका ७ शाखा कार्यालय सञ्चालनमा ल्याउने भएको छ । काठमाडौंमा कलंकी, बुढानीलकण्ठ, बबरमहल, ललितपुरको पुल्चोक र लुभु र भक्तपुरको गट्ठाघर, सूर्यविनायक लगायत शाखाहरूबाट बैंकले सेवा उपलब्ध गराएको जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले पनि काठमाडौं उपत्यकाका ७ कार्यालय सञ्चालनमा ल्याएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले काठमाडौं उपत्यकाका ७ शाखा कार्यालयबाट सेवा सुरु गरेको छ भने एभरेष्ट बैंकले ७ कार्यालय सञ्चालनमा ल्याएको छ ।
डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आग्रह गरेको हो ।
राष्ट्र बैंकले अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन अनुरोध गरेको छ । नेपाली सेनाले आजदेखि बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत खुला गरेको छ ।
जेनजी आन्दोलनमा आन्दोलनकारीहरूले बैंक तथा वित्तीय क्षेत्रमा तोडफोड तथा आगजनी गरेका थिए।





























