पञ्चकन्या मावि, सुडालमा सीपमूलक अतिरिक्त क्रियाकलाप सम्पन्न
वि.सं.२०८२ असोज ३१ शुक्रवार
shares
चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा शुक्रबार विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूमा व्यावहारिक सीप र स्वावलम्बन विकास गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले दुना–टपरी बनाउने, बत्ती कात्ने, टाँक सिलाउने, चामल केलाउने, जुत्ता–मोजा धुने लगायतका दैनिक जीवनमा उपयोगी सीपहरू सिकेका थिए।
कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक रामहरि अधिकारीले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद दुलाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा विद्यार्थीहरू आफ्ना अभिभावकसहित उत्साहपूर्वक सहभागी भएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नै हातले विभिन्न सीपहरू अभ्यास गर्दै सीपमूलक ज्ञान र व्यवहारिक अनुभव हासिल गरे। यस अवसरमा प्रधानाध्यापक दुलालले विद्यार्थीमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र जीवन उपयोगी सीप सिक्ने संस्कार विकास गर्नु विद्यालयको प्रमुख लक्ष्य रहेको बताउनुभयो।
विद्यालयले नियमित अध्ययनसँगै यस्ता सीपमूलक क्रियाकलापलाई निरन्तरता दिँदै विद्यार्थीको सृजनात्मकता, आत्मविश्वास र व्यावहारिक क्षमता विकासमा विशेष जोड दिइरहेको जानकारी गराइएको छ। कार्यक्रमको अन्त्यमा अभिभावकहरूले विद्यालयको यस्ता पहलले विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै विद्यालय प्रशासन र शिक्षक टोलीप्रति आभार प्रकट गरेका थिए।
यसरी सम्पन्न उक्त अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा सीप सिक्ने संस्कार, स्वावलम्बन र श्रमको सम्मानप्रतिको दृष्टिकोण सुदृढ बनाएको विद्यालय प्रशासनले जनाएको छ।


































