डिभिजन वन अधिकृत दान बहादुरविरुद्ध एक करोड ४३ लाखको गैरकानूनी सम्पत्ति मुद्दा
वि.सं.२०८२ कात्तिक १९ बुधवार
shares
काठमाडौं । डिभिजन वन कार्यालय इलाममा कार्यरत रहँदै हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दान बहादुर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, श्रेष्ठले आफ्नो सेवाकाल (सन् १९९१, अर्थात् २०४८ साल असार २६ गतेदेखि २०८० साल माघ १६ गतेसम्म) बीचमा वैधानिक रूपमा प्राप्त आयभन्दा रु १,४३,१८,९३७.५२ ले बढी सम्पत्ति आर्जन गरेका छन्। आयोगको अनुसन्धानले श्रेष्ठले सो अवधिमा पारिश्रमिक, भत्ता, श्रीमती, छोरा, छोरी र बुहारीको आय, घरजग्गा बिक्री, ऋण, शेयर, कृषि आयलगायतबाट जम्मा रु २ करोड १६ लाख ८५ हजार ५५७.९६ मात्र वैधानिक आय देखिएको उल्लेख गरेको छ।
तर, त्यसै अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन, सुनचाँदी, अध्ययन, विवाह, ऋण तिर्ने, व्यवसायमा लगानी, बैंक मौज्दात लगायतका शीर्षकमा रु ३ करोड ६० लाख ४ हजार ४९५.४८ खर्च भएको प्रमाण भेटिएकाले वैधानिक आयभन्दा रु १ करोड ४३ लाख १८ हजार ९३७.५२ बढी खर्च देखिएको आयोगले जनाएको छ।
अख्तियारको दाबी अनुसार, उक्त रकम बराबरको सम्पत्ति स्रोत पुष्टि गर्न नसकिएकाले सो सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ का सम्बन्धित दफाहरू बमोजिम बिगो कायम गरी कैद र जरिवानाको माग गरिएको छ। साथै, सो बराबरको सम्पत्ति राज्यको नाममा जफत गर्न मागदाबी गरिएको छ।
त्यस्तै, श्रेष्ठले राष्ट्रसेवक पदमा रहँदा आफ्नो वास्तविक सम्पत्ति विवरण सम्पत्ति फारममा नदेखाई झूट्टा विवरण पेस गरेको प्रमाणित भएकाले, सो कृत्यका लागि पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) अनुसार छुट्टै सजाय र सम्पत्ति जफतको माग गरिएको अख्तियारले जनाएको छ।
आयोगले थप अनुसन्धानबाट श्रेष्ठले आर्जन गरेको स्रोत नखुलेका सम्पत्तिहरू आफ्नो पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल, र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि. (भक्तपुर) को नाममा लगानी तथा खरिद गरिएको भेटिएको जनाएको छ।
त्यसकारण, सो सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र उक्त कम्पनीलाई समेत प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको अख्तियारले स्पष्ट पारेको छ।
मुद्दा दायरसँगै दान बहादुर श्रेष्ठमाथि गैरकानूनी सम्पत्ति आर्जन, झूठा सम्पत्ति विवरण पेस गर्ने र सार्वजनिक सेवाको पद दुरुपयोग गरी भ्रष्टाचार गर्ने आरोपमा कारबाही प्रक्रिया अघि बढेको छ।

































