सशस्त्रकी डीएसपीविरुद्ध आईजीपीसमक्ष उजुरी
वि.सं.२०८२ कात्तिक २० बिहीवार
shares
धादिङ । सशस्त्र प्रहरीका एक महिला डीएसपीविरुद्ध मातहतकै प्रहरीहरूले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) समक्ष औपचारिक उजुरी दिएका छन्।
धादिङमा कार्यरत सशस्त्र प्रहरी गुल्मकी गुल्मपति डीएसपी माला अवा विरुद्ध हालै सशस्त्र प्रहरीकै समूहले उजुरी दर्ता गरेको स्रोतले जनाएको छ। उजुरीमा उनीमाथि रासन भत्ता हिनामिना, मनपरी बिदा व्यवस्थापन र संगठनभित्र विभेदपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।
स्रोतका अनुसार, गुल्मपति अवाले बिदाको नाममा ठूलो संख्यामा प्रहरीलाई खटाउने र केही मात्रै प्रहरीलाई ड्युटीमा पठाउने गरेको उल्लेख गरिएको छ। उजुरीमा भनिएको छ, “पट्रोलिङमा खटिँदा कम्तीमा एक सेक्सन (८–१० जना) हुनुपर्नेमा उनले मनलागी ढंगले १–२ जनामात्रै खटाउँछिन्, जसले सुरक्षा प्रणाली नै कमजोर बनेको छ।”
मातहत प्रहरीहरूले उजुरीमा लेखेका छन्, “गुल्मपति भएर समग्र जिल्लामा संगठनको नेतृत्व गर्ने हो कि, सानो बच्चा हेरेर क्वार्टरमा बस्ने हो? २४ घण्टा क्वार्टरभित्रै बसेर पुलिसिङ कसरी सम्भव हुन्छ?”
उनीमाथि मातहत प्रहरीहरूसँग विभेदपूर्ण व्यवहार गर्ने, कुनै ब्रिफिङ नगर्ने र गुनासोको सुनुवाइ नगर्ने आरोप समेत लगाइएको छ।
धादिङमा प्रमुख राजमार्गसमेत पर्ने भएकाले सुरक्षा चुनौती उच्च हुने गर्छ। तर, उजुरीमा डीएसपी अवाको निष्क्रियता र कमजोरीका कारण जिल्लाको सुरक्षा समन्वय कमजोर भएको र आगामी निर्वाचन अवधिमा समस्या आउन सक्ने आशंका गरिएको छ।
अन्य सुरक्षा निकायका अधिकारीहरूले समेत डीएसपी अवाको कार्यशैलीका कारण सशस्त्र प्रहरीप्रतिको विश्वास घटेको बताएका छन्।

































