स्टार्टअप कर्जा आवेदन खुल्ला, कृषि, पर्यटन, आईटीमा प्राथमिकता

9K
shares

काठमाडौं । चालु आर्थिक वर्षमा स्टार्टअप कर्जा कार्यक्रममा १० हजार २४४ उद्यमीले आवेदन दिएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गरी आवेदन आह्वान गरेको थियो।

प्रतिष्ठानका अनुसार २ हजार ४१ आवेदन प्रत्यक्ष र ८ हजार २०३ आवेदन अनलाइन मार्फत दर्ता भएका छन्। सरकारले चालु वर्षका लागि ७३ करोड रुपैयाँ स्टार्टअप कर्जा विनियोजन गरेको छ। प्रशासकीय खर्चका ३ प्रतिशत कटौतीपछि बाँकी रकम कर्जा वितरणमा प्रयोग हुनेछ।

यस वर्ष कर्जा सुरक्षा (बिमा) कोषका लागि केवल १० प्रतिशत रकम छुट्याइनेछ। न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा दिइनेछ। कर्जा पाउन योग्य उद्यमीहरू प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारीमा दर्ता भएका, प्रविधिमा आधारित, १० वर्षभन्दा कम उम्रका, र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका नयाँ उद्यमी मात्र हुनेछन्।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, अटोमोबाइल, खाद्य उत्पादन, यातायात, खानी–खनिज जस्ता क्षेत्रमा उद्यम गर्नेहरूलाई प्राथमिकता दिइनेछ।छनोट प्रक्रियामा परियोजना प्रस्तुतीकरण, बैंकको क्रेडिट अप्रेजल र मूल्यांकन समितिको अंक भार समेटिनेछ। कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावहरूबाट उच्च अंक प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकता दिइनेछ।

गत आर्थिक वर्षमा ८८ करोड ६६ लाख रुपैयाँ कर्जा ६ सय उद्यमीलाई वितरण गरिएको थियो। हालसम्म वितरण गरिएको कर्जा मध्ये २ करोड ९० लाख रुपैयाँ फिर्ता भइसकेको प्रतिष्ठानले जनाएको छ।

civil hospital
Hams Hospitals