घुस प्रकरणमा यातायात कार्यालयका कार्यालय सहायकविरुद्ध आरोपपत्र दायर
वि.सं.२०८२ पुस १४ सोमवार
shares
काठमाडौं । यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङविरुद्ध घुस/रिसवत लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार जाँचपास, परमिट तथा नवीकरण शाखामा कार्यरत गुरुङले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना तथा उजुरीका आधारमा टंगालबाट खटिएको टोलीले मिति २०८२ साल जेठ ३० गते गुरुङलाई उनको कार्यकक्षबाट नगद रु. १ लाख ८५ हजार सहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा गुरुङले पञ्जिकरण, ब्लुबुक, जाँचपास तथा परमिट नवीकरणलगायत सार्वजनिक सेवा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रु. १ लाख ६१ हजार ३ सय ४० रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
आफू कर्मचारी भएको कारण समस्यामा पर्न सक्ने भन्दै उनले कार्यालयसँग सम्बन्ध नराख्ने बाहिरी व्यक्तिलाई करारमा नियुक्ति गराइदिने झुट्टा आश्वासन दिई घुस रकम संकलन गर्ने व्यवस्था मिलाएको अनुसन्धानबाट खुलेको छ। सो क्रममा उनले सेवाग्राहीलाई ई–सेवा खातामार्फत रकम जम्मा गर्न लगाई उक्त रकम आफ्नै सानिमा बैंकको खातामा पटक–पटक दाखिला गराएको अख्तियारको दाबी छ।
अख्तियारले गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुर ठहर गर्दै बिगो रु. १ लाख ६१ हजार ३ सय ४० रुपैयाँ कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना सजायको मागदाबी लिएको छ।
उक्त अभियोगमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
































