नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेड आईपीओमा जाने
वि.सं.२०८२ पुस १४ सोमवार
shares
काठमाडौं । काठमाण्डौ नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) सार्वजनिक निष्काशन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार आवश्यक नियामक निकायबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने जनाएको छ।
कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक (Issue Manager) को रूपमा नियुक्त गरेको छ।
रु. ३ अर्ब ५० करोड जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ भने संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ।
‘फ्रन्टलाइन’ ब्राण्ड नामबाट काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हाल १०० शैयाको क्षमता रहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको दाबी कम्पनीले गरेको छ।
थप सेवा विस्तारका लागि निर्माणाधीन २०० शैयाको जनरल तथा क्यान्सर अस्पताल स्थापनाका लागि थप पूँजी आवश्यक पर्ने भएकाले कम्पनी सार्वजनिक निष्काशनमा जान लागेको अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो।
अस्पतालले हाल स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नर्सिङ, फार्मेसी लगायतका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ।
चिकित्सा सेवा तथा शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना वि.सं. २०६२ साल मंसिर १९ गते भएको हो। हाल कम्पनीको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको र २०० भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ।
आज सम्पन्न सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको तर्फबाट अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो।



























