सामुदायिक विद्यालयको जग्गा गैरसुकुम्बासीलाई दिएको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा
वि.सं.२०८२ पुस १६ बुधवार
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित सामुदायिक अमरज्योति आधारभूत विद्यालयको सार्वजनिक जग्गा गैरसुकुम्बासी व्यक्तिको नाममा दर्ता गराई अनियमितता गरेको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
पोखरा महानगरपालिका–२६ स्थित विद्यालय परिसरको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना क्षेत्रफलको सार्वजनिक जग्गा तत्कालीन राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गराई पदको दुरुपयोग गरेको ठहर अख्तियारले गरेको हो ।
अख्तियारका अनुसार गैरसुकुम्बासी भिमबहादुर वि.क.लाई झुट्टा विवरणका आधारमा सुकुम्बासी देखाई भूमि उपलब्ध गराइएको पाइएको छ । निज तथा निजको परिवारको नाममा पहिल्यै जग्गा रहेको जानकारी हुँदाहुँदै असम्बन्धित मालपोत कार्यालयबाट विवरण मगाई बदनियतपूर्वक प्रक्रिया अघि बढाइएको आयोगको निष्कर्ष छ ।
अनुसन्धानमा साबिक सुकुम्बासी समस्या समाधान आयोगले २०५२ सालमै अधुरो रूपमा निर्णय गरेको भन्दै झुट्टा ब्यहोरा उल्लेख गरी २०८० सालमा मालपोत कार्यालय कास्कीबाट जग्गाधनी प्रमाणपूर्जा जारी गराइएको पाइएको छ । यस क्रममा सरकारी तथा सार्वजनिक जग्गालाई निजीकरण गरी गैरकानूनी लाभ लिएको अख्तियारको ठहर छ ।
उक्त प्रकरणमा अख्तियारले १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी देहायका प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरेको छः
-
राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल
-
तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी
-
तत्कालीन सदस्य आशबहादुर गुरुङ
-
तत्कालीन सदस्यहरू उमा कुमारी थापा र सोमबहादुर नेपाली
-
गैरकानूनी लाभ लिने मतियारका रूपमा भिमबहादुर वि.क.
आयोगले मुख्य कसूरदारहरूलाई कैद र बिगो बराबर जरिवाना तथा बिगो असुल उपरको सजाय माग गरेको छ भने मतियार भिमबहादुर वि.क.लाई पनि मुख्य कसूरदार सरह सजाय मागदाबी गरिएको छ ।

































