कामना सेवा विकास बैंकको खुद नाफा २२.३४ प्रतिशतले वृद्धि
वि.सं.२०८२ माघ ५ सोमवार
shares
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २२.३४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको साउन–पुस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४६ करोड ९१ लाख रुपैयाँ थियो।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ। प्रतिशेयर आम्दानी (ईपीएस) १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ। यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ।
३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ २९ करोड ५७ लाख रुपैयाँ र जगेडाकोष १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ।




























