नगर प्रमुखसहित १३ जनाविरुद्ध ५८ करोडभन्दा बढी राजस्व चुहावटको मुद्दा
वि.सं.२०८२ फागुन १ शुक्रवार
shares
काठमाडौँ । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन गरी ५८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरेको आरोपमा तत्कालीन परियोजना प्रमुख र बागमती नगरपालिकाका नगर प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार बागमती नगरपालिका वडा नं. ४ र १२ मा पर्ने मूर्तिया वन व्यवस्थापन शाखा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी ब्लक नं. ६, ८, ११ र १२ मा बहुउद्देश्यीय माछा पोखरी निर्माणको नाममा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको अवैध उत्खनन गरिएको थियो।
उक्त उत्खननबाट ७ करोड ३८ लाख ९३ हजार ५०८ क्यू फिट वन पैदावार निकालिएको र सोबाट उठ्नुपर्ने ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ ९९ पैसा बराबरको रोयल्टी नउठाई राजस्व हिनामिना गरिएको आयोगको आरोप छ।
अनुसन्धानबाट सागरनाथ वन विकास परियोजना तथा मातहतका अधिकारी र बागमती नगरपालिकाका पदाधिकारीबीच मिलेमतो देखिएको आयोगले जनाएको छ। आरोपपत्रमा सम्बन्धित जिम्मेवार अधिकारीहरूले कानुनी कारबाही अघि नबढाई मौन सहमति दिएको उल्लेख छ। वन ऐन र नियमावलीअनुसार राजस्व असुल गर्न तथा कसुरमा अनुसन्धान अगाडि बढाउनुपर्ने कर्तव्य पूरा नगरेको निष्कर्ष आयोगको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घिमिरेसँगै तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलाल प्रसाद कलवार, तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्र प्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोला यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
त्यस्तै, नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेललाई समेत प्रतिवादी बनाइएको छ।
आरोपपत्रमा प्रचलित वन ऐन, वन नियमावली तथा अन्य सम्बन्धित कानुनविपरीत राष्ट्रिय वन क्षेत्रमा उत्खनन गरी राजस्व चुहावट गरिएको उल्लेख छ। साथै, यस्तो कार्यका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरेको दाबी गरिएको छ।
प्रवक्ता न्यौपानेका अनुसार राष्ट्रिय वन क्षेत्रभित्र निषेधित ढुंगा, गिट्टी, बालुवा र मिस्कटको उत्खनन, संकलन तथा बिक्री वितरण गरी बिगो बराबरको रकम असुल उपर गर्न मागदाबी लिइएको छ।
उल्लेखनीय छ, बागमती नगरपालिकाका मेयर थापा यसअघि नै अर्को भ्रष्टाचार मुद्दामा निलम्बित अवस्थामा रहेका छन्।
विशेष अदालतमा दायर उक्त मुद्दाले राष्ट्रिय वन क्षेत्रमा हुने अवैध उत्खनन र राजस्व चुहावटविरुद्ध कडाइ हुने संकेत दिएको छ।
































