ललितपुर–२ मा रास्वपा उम्मेदवार जगदीश खरेल र मतदाताबीच चर्काचर्की, पारदर्शितामाथि प्रश्न
फाउन्डेसनसँगको सम्बन्धबारे स्पष्ट जवाफ नदिँदा चुनावी प्रचारमै विवाद
वि.सं.२०८२ फागुन ८ शुक्रवार
shares
ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा निर्वाचन प्रचारप्रसारका क्रममा जगदीश खरेल र स्थानीय मतदाताबीच तीव्र वादविवाद भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खरेलसँग स्थानीयले बारम्बार “तपाईं उक्त फाउन्डेसनको सञ्चालक सदस्य हो कि होइन?” भन्ने सीधा प्रश्न उठाएका थिए। तर खरेलले स्पष्ट जवाफ दिन नचाहेको र विषयलाई घुमाएर टार्ने प्रयास गरेको आरोप स्थानीयको छ।
प्रत्यक्षदर्शीका अनुसार मतदाताले उनको पूर्व सम्बन्ध र भूमिकाबारे प्रस्ट पार्न आग्रह गर्दै प्रश्न दोहोर्याइरहे पनि खरेलले ठोस उत्तर दिन सकेनन्। बरु उनले प्रतिप्रश्न र कडा प्रतिक्रिया जनाएपछि माहोल केहीबेर तनावपूर्ण बनेको थियो।
घटनापछि सामाजिक सञ्जालमा खरेलको व्यवहारको व्यापक आलोचना भइरहेको छ। मतदाताले सार्वजनिक पदका आकांक्षी उम्मेदवार पारदर्शी र उत्तरदायी हुनुपर्ने माग गरेका छन्।स्थानीय एक मतदाताले भने, “जसले जनताको मत माग्छ, उसले आफ्नो विगत र सम्बन्धबारे स्पष्ट बोल्नुपर्छ। प्रश्न सोध्दा रिसाउने प्रवृत्ति स्वीकार्य हुँदैन।”
चुनावी मैदान तातेको अवस्थामा उम्मेदवार र मतदाताबीचको यस्तो टकरावले राजनीतिक संस्कृतिमाथि नै प्रश्न उठाएको छ। अहिले यो विषय ललितपुर–२ मा चर्चाको केन्द्र बनेको छ।
































