एमालेको झण्डा दहनपछि राजनीतिक तनाव चुलियो, रास्वपाका कार्यक्रम स्थगित
वि.सं.२०८२ फागुन ८ शुक्रवार
shares
काठमाडौं । दाङमा आयोजित चुनावी सभाका क्रममा नेकपा एमालेको झण्डा जलाइएको घटनापछि राजनीतिक वातावरण तनावपूर्ण बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह सहभागी कार्यक्रममा झण्डा दहन गरिएको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आयोजित सभामा झण्डा जलाइएको घटनाप्रति एमालेले कडा आपत्ति जनाएको छ। दाङको तुलसीपुरमा बिहीबार राति भएको उक्त घटनापछि एमाले दाङले शुक्रबार प्रदर्शन गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ।
घटनापछि उत्पन्न तनावका कारण रास्वपाले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा तय गरिएका चुनावी सभा स्थगित गरेको जनाएको छ। पार्टीले सुरक्षा र शान्तिपूर्ण वातावरणलाई ध्यानमा राख्दै कार्यक्रम स्थगन गरिएको बताएको छ।
सामाजिक सञ्जालमा भाइरल बनेका भिडियो तथा तस्बिरहरूमा रास्वपाको प्रचार गर्दै एमाले र केपी ओलीविरुद्ध नाराबाजीका बीच झण्डा जलाइएको देखिन्छ। उक्त घटना एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुरमै भएको भन्दै एमाले नेताहरूले आक्रोश व्यक्त गरेका छन्।
एमालेनिकट राष्ट्रिय युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै रास्वपालाई सार्वजनिक रूपमा माफी माग्न र यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्। साथै, झण्डा दहनमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिएको छ।
यता, रास्वपा दाङका सभापति विनय घिमिरेले घटनामा घुसपैठ भएको दाबी गर्दै पार्टीको तर्फबाट यस्तो गतिविधि नभएको स्पष्ट पारेका छन्। लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीले कुनै दलको झण्डा जलाउने काम नगर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
निर्वाचन नजिकिँदै गर्दा यस्तो घटनाले दुई दलबीचको सम्बन्ध थप चिसिन सक्ने र शान्तिपूर्ण वातावरणमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। सुरक्षा निकायलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न राजनीतिक दलहरूले माग गरेका छन्।
































