सहकारी काण्ड: २८२ बचतकर्ताको रकम जोखिममा

852
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ अन्तर्गत न्यूरोडको पाको क्षेत्रमा सञ्चालनमा रहेको संकटा बचत तथा ऋण सहकारी संस्था मा बचतकर्ताको रकम हिनामिना गरिएको आरोपमा अध्यक्षसहित सात जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार संस्थाका अध्यक्ष उत्तमबहादुर सिंहलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। मुद्दामा अध्यक्ष सिंहसँगै प्रबन्ध सञ्चालक बिन्देश्वर श्रेष्ठ तथा सञ्चालन समितिका सदस्यहरू प्रविणमान सिंह, रीनादेवी श्रेष्ठ, विकास सुवाल महर्जन र लक्ष्मी महर्जनलाई प्रतिवादी बनाइएको छ।

उक्त प्रकरणमा २८२ जना बचतकर्ताको रकम प्रभावित भएको र करिब ३७ करोड ३ लाख ३१ हजार ३६ रुपैयाँ बराबरको बिगो कायम गरिएको जनाइएको छ।

अनुसन्धानका क्रममा सहकारीमा संकलित बचत रकम उच्च जोखिमयुक्त रूपमा घरजग्गा क्षेत्रमा लगानी गरिएको र सो लगानीबाट अपेक्षित प्रतिफल नआएपछि बचतकर्तालाई रकम फिर्ता गर्न नसकिएको आरोप छ। बचत फिर्ताको विषयमा पटक–पटक छलफल भए पनि ठोस समाधान ननिस्केपछि पीडित पक्षले उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित निकायले सहकारी क्षेत्रभित्र वित्तीय अनुशासन कायम राख्न र बचतकर्ताको हित संरक्षण गर्न कानुनी कारबाहीलाई निरन्तरता दिइने स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा सहकारी क्षेत्रसँग सम्बन्धित अनियमितता र ठगीका घटनाहरू सार्वजनिक भइरहेका बेला यो प्रकरणले थप चासो उत्पन्न गरेको छ।

civil hospital
Hams Hospitals